Thursday, July 19, 2012

बुद्ध एयरलाई हवाई सम्पर्क बढाउन ऋण

काठमाडौं, ४ साउन । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा हवाई यात्राको स्थिति सुधारका लागि बुद्ध एयरलाई ऋण प्रदान गरेको बताएको छ । आइएफसीको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बुद्ध एयरलाई प्रदान गरिएको ऋणले नेपालमा हवाई यातायातको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘आइएफसीको ऋणले कम्पनीलाई दोस्रो एटिआर ७२ जहाज खरिद गर्न र कम्पनी सञ्चालनमा सहयोग पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ । हवाई सेवाको सुधारसँगै पर्यटकका लागि बढी विकल्प प्राप्त हुने र नेपाली जनताका लागि हवाई सम्पर्क विस्तार हुने आइएफसीले दाबी गरेको छ । बुद्ध एयरले सुगम क्षेत्रका १० वटा गन्तव्यमा उाडन गरिरहेको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइएफसीको दोस्रो लगानीले कम्पनीलाई यस क्षेत्रमा आफ्नो सेवा एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालजस्तो पहाडी भूगोल भएको मुलुकका लागि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा राम्रो बनाउनु अत्यावश्यक रहेको उनको भनाइ छ । आइएफसीले हालै बुद्ध एयरलाई ६१ करोड ४१ लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ । थप नयाँ एटिआर ७२ जहाज खरिदका लागि बुद्ध एयर र आइएफसीबीच ऋण सम्झौता भइसकेको छ । आगामी महिना जहाज आइपुग्ने बुद्ध एयरले जनाएको छ । फ्रेन्च–इटालियन उत्पादनको एटिआर ७२–५०० मोडलको जहाज डबल इन्जिन टर्बोप्रोप हो । हाल बुद्ध एयरले सोही मोडलका दुईवटा एटिआर ७२ र तीनवटा एटिआर ४२–३२० तथा दुईवटा डी १९०० बिचक्राफ्ट मोडलका जहाज सञ्चालन गरिरहेको छ । यसअघि सन् २००८ मा आइएफसीले दुईवटा एटिआर ७२ जहाज किन्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द ढोका ह्यांगर निर्माण गर्न १० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । हाल कम्पनीका दुवै एटिआर सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितको ह्यांगरसमेत सञ्चालनमा आइसकेको छ ।
आइएफसीका पूर्वाधार र प्राकृतिक स्रोत साधनका लागि एसियाका निर्देशक अनिता जर्जले आइएफसीका लागि नेपालमा बढिरहेको पूर्वाधारको माग सम्बोधन गर्नु रणनीतिक प्राथमिकता रहेको बताएकी छिन् । ‘हामीले बुद्ध एयरमा गरिरहेको लगातारको लगानीले कम्पनीलाई हवाई यात्राका लागि बढी विकल्प दिन र नेपालीका लागि यात्राको समय घटाउन मद्दत पुग्नेछ,’ जर्जले भनेकी छन् । आइएफसी निजी क्षेत्रमा लगानी गर्ने विश्व बैंकअन्तर्गतको सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था हो ।
कम्पनीले चार दशमलव १५ देखि चार दशमलव २५ सम्म ब्याजदरमा आइएफसीसँग ऋणसम्झौता गरेको हो । गत बर्ष बुद्ध एयर, यती एयरलाइन्स अग्नि एयर, गुण एयर र सिम्रिक एयरको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि प्रक्रियाअगाडि बढ्दा आइएफसीले आफ्नो ऋण चुक्ता नगरी यसमा लगानी नगर्न सुझाब दिएपछि बुद्ध एयर यसबाट पछि हटेको थियो

No comments:

Post a Comment