Monday, July 30, 2012

बिक्री भएनन् पुराना जहाज

सौर्य दैनिक

काठमाडौं, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउन्डेड अवस्थामा रहेका पुराना जहाज व्यवस्थापनले लिलामी गरे पनि बिक्री भएका छैनन् । गत आर्थिक वर्षभित्रै सबै पुराना जहाज बिक्री गरी बाँकी बक्यौता उठाउने योजना व्यवस्थापनले बनाएको थियो ।
विमानस्थल परिसरमा विभिन्न् कम्पनिका ग्राउन्डेड जहाज

विमानस्थल परिसरमा थन्किएका विभिन्न वायुसेवा कम्पनीका करिब दर्जन जहाज लिलामीका लागी सूचना सार्वजनिक गरिए पनि एउटा मात्र जहाज बिक्री भएको विमानस्थल व्यवस्थापनले जनाएको छ । लिलामीबाट यती एयरलाइन्सको एउटा वाई १२ जहाज बिक्री भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले जानकारी दिए ।
यतीका दुईवटा, कस्मिक एयरका पाँचवटा, नेपाल एयरवेजका दुईवटा र नेपाल वायुसेवा निगम तथा नेकोन एयरको एक/एक गरी ११ वटा साना ठूला ग्राउन्डेड जहाज अझै पनि विमानस्थल परिसरमा अलपत्र अवस्थामा छन् । विमानस्थल परिसरमा चारवटा डोर्नियर, दुईवटा वाई, १२ वटा फोकर जहाज र एउटा हेलिकोप्टर थन्किएका छन् । जहाजबाहेक विभिन्न कम्पनीले छोडेर गएका मिनीबस, हाइड्रोलिक ज्याक, भर्‍याङ, ब्यागेज ट्रलीलगायतका पुराना सामान तथा उपकरण समेत अव्यवस्थित रूपमा छरिएर रहेका छन्।
व्यवस्थापनका अनुसार कस्मिक एयरका नाइन एन एजिवाई, नाइन एन एइपी, नाइन एन एसिई र नाइन एन एसिजी जहाज लिलामीमा छन्। यसमध्ये एउटा जहाज कस्मिकको स्वामित्वमा छ भने जहाज निर्माता जर्मनी कम्पनी डोर्नियरकै स्वामित्वमा छन्। नेपाल एयरवेजको नाइन एन एडिजे एएस ३५० बी जहाज पनि हटाउनुपर्ने सूचीमा परेको छ । कस्मिक र नेपाल एयरवेज दुवै कम्पनी बन्द भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपाल एयरवेजको एयर अपरेसन एओसी नम्बर ००६/९६ हो । उसको एओसी रद्द भइसकेको छ । त्यस्तै कस्मिक एयरको एओसी नम्बर ०१८/३ हो । यसले २००३ मा एओसी पाएर केही वर्ष सेवा सञ्चालन गरेको थियो ।
पहिलो लिलामीबाट पुराना जहाज बिक्री नभएपछि व्यवस्थापनले लिलामीको अर्को सूचना निकालेको छ । दोश्रो लिलामीबाट सबै जहाज बिक्री हुने व्यवस्थापनको विश्वास छ । विमानस्थल महाप्रबन्धक सुमनले जहाज बिक्रीका लागि गत साता सार्वजनिक सूचना जारि गरिएको जानकारी दिंदै तीन साताभित्र इच्छुक खरिदकर्ताले दरखास्त दिइसक्नुपर्ने बताए । उनका अनुसार जहाजहरू काम नलाग्ने अवस्थामा रहेकाले बिक्रीबाट विमानस्थलको सबै बक्यौता चुक्ता हुने स्थिति छैन ।
कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाज कम्पनीका ग्राउन्डेड जहाज विगत एक दशकदेखि बेवारिसे अवस्थामा छन्। जहाज ग्राउन्डेड भएमध्ये यती एयरलाइन्स मात्र सञ्चालनमा छ । उसका तीनवटा जहाज ग्राउन्डेड भएर विमानस्थलमा थन्किएका छन्।
यसअघि विमानस्थल व्यवस्थापनले गत चैतमा नै अन्तिमपटक भन्दै पुराना जहाज हटाउन सम्बन्धित कम्पनीलाई १५ दिनको समय दिएको थियो । तिर्नुपर्ने सबै बक्यौतासमेत तिर्न व्यवस्थापनले सम्बन्धित कम्पनीलाई भनेको भए पनि कसैले रकम तिरेका छैनन् ।
‘कवाडी’ अवस्थामा पुगिसकेका जहाज विमानस्थल रनवेको पूर्वपट्टि आगो निभाउने मेसिन नजिक राखिएको छ । यसका कारण सुरक्षा बढेको जहाजस्थल प्रहरीले बताउँदै आएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थोत्रा जहाजले विमानस्थलको सुन्दरतामा असर पारेको भन्दै जहाज हटाउन निर्देशन दिएको छ ।
व्यवस्थापनका अनुसार कुनै पनि कम्पनीले जहाजको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क तिरेका छैनन् । सबै कम्पनीको गरी एक करोड ५० लाख रुपियाँ बक्यौता नाघिसकेको र यो रकम दिनदिनै बढिरेको व्यवस्थापनले जनाएको छ । जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिने गरिन्छ ।

No comments:

Post a Comment