Sunday, July 22, 2012

कमजोर बन्दै नेपाल टेलिकम

काठमाडौं : लामो समयसम्म दुरसञ्चार बजारमा अधिपत्य जमाएको सरकारी कम्पनि नेपाल टेलिकमको बजार हिस्सा क्रमशः घट्दो क्रममा छ । बजारमा प्रतिस्पर्धा बढेगै कम्पनिले आफ्नो पकड गुमाउन थालेको हो ।
सरकारीसग प्रतिस्पर्धामा उत्रिएको निजी कम्पनि एनसेलको तुलनामा टेलिकमको सेवा विस्तार निकै सुस्त छ । टेलिकम अधिकारीहरु भने सरकारी निती नियम र प्रक्रियागत झन्झटका कारण चाडो निर्णय गर्न नसक्दा सेवा विस्तार द्रुत रुपमा हुने नसकेको बताउछन् ।
नियामक निकाय दुरसञ्चार प्राधिकरणले हालै जारी गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा टेलिकमको ग्राहक संख्या ७६ लाख ३३ हजार छ भने एनसेलको ग्राहक संख्या ७८ लाख ८८ हजार छ । टेलिकमका ६ लाख २६ हजार साधारण टेलिफोन, एक लाख ४५ हजार ताररहित, ६० लाख जिएसएम मोबाइल, आठ लाख ५१ हजार सिडिएमए टेलिफोनका ग्राहक छन् । टेलिकमले आर्थिक बर्ष २०६९/७० मा २० लाख जिएसएम ग्राहक थप्ने लक्ष्य राखेको छ । एनसेलका सबै ग्राहक जिएसएम मोबाइलका हुन् ।
टेलिफोन सेवामा मात्र नभएर एनसेलले इन्टरनेट ग्राहक संख्यामा पनि टेलिकमलाई पछि पारेको छ । टेलिकमका १९ लाख ४० हजार इन्टरनेट प्रयोगकर्ता छन् भने एनसेलका २७ लाख ९३ हजार ग्राहकले इन्टरनेट प्रयोग गर्छन् ।
ग्राहक संख्याको आधारमा बजार हिस्सा टेलिकमको ४६ प्रतिशत छ एनसेलको ४७ प्रतिशत छ । इन्टरनेट प्रयोगकर्ताको बजार हिस्सा पनि क्रमश ४० र ५७ प्रतिशत छ । एनसेलले ३ महिना अघि नै टेलिकमलाई उछिनेको थियो । यस्तै अवस्था रहे ९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको ३६ बर्ष पुरानो टेलिकमलाई सात बर्षअघि मात्रै सञ्चालनमा आएको निजी कम्पनी एनसेलले जित्ने विज्ञहरु बताउछन् ।
निजि कम्पनि सबल भएपछि सरकारी कम्पनि कमजोर हुन थालेको थालेको जानकारहरुको भनाई छ । टेलिकममा महाप्रवन्धक भएर काम गरिसकेका सुगतरत्न कंसाकार निजी कम्पनि ठूलो लगानी र आक्रामक बजार विस्तारको रणनितिका साथ आएपछि टेलिकम कमजोर हुनु स्वभाविक भएको. बताउछन् । संसारमै नाम कमाएको मल्टिनेसनल कम्पनिसग सरकारी ढाचामा चलिरहेको सरकारी स्वामित्वको कम्पनिले प्रतिस्पर्धा गर्नु कम चुनौतिपूर्ण नहुने उनको भनाइ छ । ‘निर्णय प्रक्रिया ढिलो हु“दा टेलिकमको सेवा प्रभावकारी हुन सकेको छैन । एनसेलले एक घण्टामा गर्न सक्ने निर्णय गर्न टेलिकमलाइ कहिलेकाहि ६ महिना लाग्छ ।’ कंसाकार भन्छन् । 
टेलिकमले गत आर्थिक बर्ष २०६८/६९ मा ४.१७ प्रतिशतले आम्दानी बढाउने लक्ष्य राखेको थियो । उसको वित्तिय विवरण आइसकेको छैन । एनसेलको लगानीकर्ता कम्पनी टेलियासोनेराले भने युरो–एशियामा गरेको लगानीमध्ये नेपालमा सबैभन्दा बढी फलदायी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार एनसेलले सन् २०१२ को जनवरी देखि मार्च सम्मको तिन महिनाको अवधिमा ७ अर्ब ८८ करोड रुपैयाको कारोबार गरेको छ । टेलिकमको तिन महिनाको कारोबार भने आठ अर्ब ८९ करोड रुपैया छ ।
आर्थिक बर्ष २०६७/६८ मा टेलिकमले सरकारलाई १६ अर्ब २७ करोड रुपैया राजस्व बुझाएको थियो । गत आवको विवरण आइसकेको छैन । त्यस्तै टेलिकमले माथिल्लो तामाकोसी जलविद्युत् अयोजनालाई ६ अर्ब रुपैया“ ऋण दिएको छ । यही आयोजनामा ६० करोड रुपिया सेयर लगानी गरेको छ । टेलिकमले माथिल्लो त्रिशूली तेश्रो–बी मा नेपाल विद्युत् प्राधिकरण सरह आधा लगानी गरेर बनाउने सहमति गरेको छ ।
निजी क्षेत्रसग प्रतिस्पर्धा गर्नुपर्ने सेवा प्रदायक निकाय भएकाले सुधारका लागि खरिद ऐनमा संशोधन गरेर महगो भए पनि गुणस्तरीय सामान किन्न पाउने अधिकार दिनुपर्ने र रणनितिक साझेदार भित्र्याउने प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने सुझाव विज्ञहरुको छ ।

No comments:

Post a Comment