Tuesday, January 1, 2013

सैँतीस लाखद्वारा हवाई सेवा उपयोग

सौर्य समाचार
काठमाडौ, १७ पुस । सन् ०१२ को पहिलो १० महिनामा करिब ३७ लाखले हवाई सेवाको उपभोग गरेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी ३६ लाख ८७ हजारले हवाई सेवा उपभोग गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई यातायात प्रयोगकर्ताको गत वर्षका तुलनामा करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत दश महिनामा करिब २३ लाख ६८ हजार अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु र १३ लाख १९ हजार आन्तरिक उडानका हवाई यात्रु रहेको प्राधिकरणले जानकारी दिएको छ । सन् ०१२ मा ५.८ प्रतिशतले हवाई यात्रु वृद्धि हुने प्रक्षेपण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई ट्राफिक आवागमनको स्थिति आइकाओको प्रक्षेपणभन्दा बढी रहेको देखिएको छ । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ३६ पुगेको छ र यसबाट वार्षिक दुईतर्फी ५७ लाख ६ सय ५६ हवाई सिट उपलब्ध भएको छ । हाल सञ्चालनमा रहेका वायुसेवाले कुल उपलब्ध हवाई सिटको ४४.७ प्रतिशत सिट मात्र उपभोग गर्न सकेको अवस्था । यसमध्ये नेपाली वायु सेवा प्रदायक सस्थाले ६.३ प्रतिशत मात्र सिट उपभोग गरेका छन् । तीनवटा स्वदेशी र २६ वटा विदेशी विमान कम्पनीले १९ मुलुकका २४ वटा गन्तव्यमा सेवा सञ्चालन गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणको चौधौँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइएअनुसार हालसम्म ७२ वटा वायुसेवा कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरिएकामा ३३ वटाको रद्द भइसकेको छ । ३७ वटा वायुसेवा कम्पनी मात्र हाल सञ्चालनमा छन् । यसमध्ये १० वटा फिक्स्ड विङ, ५ वटा हेलिकोप्टर तथा १८ वटा एभिएसन स्पोर्टस छन् । प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार सोमबारदेखि नयाँ हवाई खेलकुद नियमवालीसमेत लागू भएको छ ।
प्राधिकरणले आर्थिक वर्ष ०६७/६८ मा ३ अर्ब १४ लाख रुपियाँ आम्दानी गरेको वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । यो गत वर्षभन्दा २२.९६ प्रतिशतले बढी हो । आव ०६९/७० का लागि ३ अर्ब २ लाख रुपियाँ आम्दानी प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले नेपालको हवाई क्षेत्रको विकास र विस्तारका लागि सरकारले दीर्घकालीन योजना अगाडि बढाएको बताए । हवाई क्षेत्रको विकास र विस्तारका लागि प्राधिकरणले खेलेको भूमिकाको प्रशंसा मन्त्री बोगटीले गरे । मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्यालले पुराना योजनाभन्दा पनि जनता र व्यवसाय केन्द्रित योजना बनाएर लाग्नुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment