Monday, June 18, 2012

हवाई दुर्घटना घटाउन पूर्वसचेतना अपनाइने


सौर्य दैनिक 

काठमाडौं, ४  असार । हवाई दुर्घटना बढेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले विशेष सचेतना अपनाउने बताएको छ । नेपालमा विभिन्न समयमा हुने हवाई दुर्घटना न्यूनीकरणका लागि बेलैमा पूर्वसचेतना अपनाउन पनि वायुसेवा सञ्चालकहरूले प्रतिबद्धता जनाएका छन् ।

आइतबार राजधानीमा आयोन र मिडियाबीच नेपालको हवाई क्षेत्रको सूचना अदानप्रदान कार्यक्रममा कुनै पनि कारणले हुने हवाई दुर्घटनामा सचेतना अपनाउनु आवश्यक रहेकामा विज्ञहरूले जोड दिए ।
मौसम प्रतिकूलताका कारण हुने जहाजको उडान डाइभर्ट तथा कारणबस हुने अवतरणलाई पनि सनसनीपूर्ण रूपमा प्रचारबाजी गर्न नहुनेमा पनि उनीहरूको  आग्रह थियो ।
आयोनका अध्यक्ष रामेश्वर थापाले प्राविधिक कारणले हुने कुनै पनि हेलिकोप्टरको सुरक्षित उडान अवतरणलाई आकस्मिक भन्दै गरिने प्रचारबाजीले नकारात्मक सन्देश प्रवाह भएको बताए । उनका अनुसार उचाइ तथा उडान मापदण्डभित्र रहेर गरिने फोर्स ल्यान्डिङलाई समेत सफल अवतरण नै मानिन्छ । कुनै क्षतिविना सफल रूपमा भएको अवतरणलाई नकारात्मक प्रचार भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
प्रक्रियाअनुसार हेलिकोप्टर तथा जहाज अवतरण सामान्य अवस्थाको हुने भएकाले यसलाई मिडियाले अनावश्यक प्रचार गर्न  नहुने पनि आयोनको भनाइ छ । जहाजको कुनै पनि पाटपूर्जा जाँच गरेर उडान योग्य अवस्थामा मात्र उडान गर्न पाउने हुँदा २० करोडको जहाजलाई २० लाखको पाटपूर्जासँग सम्झौता नगरिने उनले बताए ।
नेपालमा मागका तुलनामा न्यून मात्रामा जहाजको पूर्ति भइरहेको आयोनले बताएको छ । दुर्गम क्षेत्रको यातायात हवाई मार्ग मात्र भएकाले निजी वायुसेवा सञ्चालकले बढीभन्दा बढी सेवा दुर्गम क्षेत्रमा नै दिने गरेको पनि आयोनको दाबी छ ।
निजी वायुसेवा सञ्चालकले हाल भएका जहाजमध्ये दुर्गम क्षेत्रको उडानमा ७० प्रतिशत प्रयोग गरिरहेको पनि आयोनका सचिव योगराज शर्मा कँडेलले बताए । निजी वायुसेवा सञ्चालकले नेपालको मौसमअनुसार जहाजको उडानमा ध्यान दिंदै आवश्यक तालिमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए । आयोन निजी क्षेत्रका हेलिकोप्टर तथा फिक्स्ड विङ जहाज सञ्चालकको छाता संगठन हो ।
दुर्गममा बढी
काठमाडौं : नेपालमा अधिकांश विमान दुर्घटना दुर्गम क्षेत्रमा हुने गरेका छन् । पछिल्लो दुई वर्षको हवाई दुर्घटना रेकर्डबाट पनि यो कुरा प्रस्ट हुन्छ । दुई वर्षको अवधिमा अग्नि एयर, तारा एयर, बुद्ध एयर, फिस्टेल एयरका विमान दुर्घटनामा परे । यीमध्ये बुद्धबाहेक सबै दुर्घटना दुर्गम क्षेत्रमा भएको देखिन्छ । बुद्ध एयरको बिचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा दुर्घटना भएको थियो भने अन्य सबै दुर्घटना दुर्गम क्षेत्रमा भएका थिए । अग्नि एयरको मकवानपुरस्थित शिखरपुरमा, तारा एयरको ओखलढुङ्गास्थित मानेडाँडामा, फिस्टेल एयरको आमादाब्लम हिमाली क्षेत्रमा र अग्नि एयरको अर्को डोर्नियर मुस्ताङको जोमसोममा दुर्घटना भएमा थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको सेफ्टी महाशाखाको तथ्यांकअनुसार करिब ८० प्रतिशत विमान दुर्घटना दुर्गम क्षेत्रमा भएका छन् । हालसम्म ६७ वटा विमान दुर्घटना भएकोमा यसमध्ये ५६ वटा दुर्घटना दुर्गममा भएको तथ्यांक छ । बढी दुर्घटना हुने स्थानमा विमानस्थलमा लुुक्ला, सिमिकोट, ताल्चा, जुम्ला, बाजुरा, जोमसोम, डोल्पा, खोटाङ आदि छन् ।
अहिलेसम्म सबैभन्दा बढी लुक्लामा पाँचवटा ठूला विमान दुर्घटना भएका छन्, जसमा १८ जनाले ज्यान गुमाएका छन् । कठिन भूगोलका बीच भौतिक उपकरण पर्याप्त नहँुदा दुर्गम क्षेत्रमा विमान दुर्घटना बढी हुने गरेको विज्ञ बताउँछन् । पहिलोपटक नेपालमा सन् १९५५ मा कालिङ्गा एयरको डकोटा विमान सिमरामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । त्यसयता विमान दुर्घटनामा परेर दुई सय बढीले ज्यान गुमाइसकेका छन् ।

No comments:

Post a Comment