Tuesday, September 6, 2011

मुसाले पनि हेप्यो राष्ट्रिय ध्वजाबाहकलाइ

नयाँ पत्रिका
काठमाडौं, १९ भदौ
सोमबार बिहान नेपाल वायुसेवा निगमको बोइङ ७५७९ एनएसी बी जहाज बैंकक उड्ने तयारीमा थियो, १ सय २३ जना यात्रुले बोर्डिङ पास लिइसकेका थिए । 
जहाजका सामान चेक गर्ने क्रममा चालक दलका सदस्यले अचानक जहाजभित्र मुसा देखे । विमान क्याप्टेनद्वय रवीन्द्रकुमार शेरचन र युवराज भट्टराईले उडाउन लागेका थिए । मुसा भेटिएपछि सम्पूर्ण कर्मचारी मुसा खोज्नतिर लागे । उडान रद्द गरियो । निगम व्यवस्थापनले आफ्ना यात्रुलाई थाइ एयरवेजको जहाजमा पठायो । अहिले निगमको एउटा मात्र बोइङ सञ्चालनमा छ । निगमको अर्को बोइङ सी चेकका लागि इजरायल पुगेको छ । जहाज आइपुग्न तीन साता लाग्ने बताइएको छ । 
निगम कर्मचारीहरू दिनभर मुसा खोज्न व्यस्त रहे । विमानलाई ह्यांङगरमा राखेर मुसा पक्रिन पासो थापिएको थियो । जहाजभित्र मुसा मार्ने विष प्रयोग गर्न भने पाइँदैन । तालिकाअनुसार यो जहाज बैंककबाट फर्किएर आजै साँझ मलेसिया जानुपर्ने थियो । बैंककका यात्रु पठाएपछि साँझ क्वलालम्पुरको उडान गरिने निगमका विमानस्थल म्यानेजर प्रदिप कार्कीले बताए । तर, मुसा नभेटिएमा क्वलालम्पुर उडानसमेत रद्द हुने भएको छ । राति साढे ११ बजे क्वलालम्पुरको तालिका छ । 
विमानभित्र चिया, कफी, पिनट आदिको ओसार्ने ट्रेमार्फत मुसा छिरेको हुन सक्ने कर्मचारीको अनुमान छ । 'ट्रली ढोकाकै लेभलसम्म पुग्ने भएकाले त्यतिवेलै छिरेको हुनुपर्छ,' कार्कीले भने । जहाजका चारवटा ढोका खुलै हुने भएकोले कुनै पनि ढोकाबाट भागेको पनि हुनसक्ने उनको अनुमान छ । 
चालक दलका अनुसार मुसा बाहिर निस्केको यकिन नभएसम्म जहाज उडाउन मिल्दैन । जहाजमा मुसाले काट्न सक्ने खुला तार नभए पनि खतरामुक्त नहुने प्राविधिकहरूको भनाइ छ । बिहान आठ बजे बैंकक उड्नुपर्ने जहाज मौसमका कारण डिले भएको थियो । 
निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले साँझसम्ममा मुसा फेला नपरेको बताए । मुसा फेला पार्न लनिे औषधि राखेर तीन/चार घन्टाका लागि जहाज बन्द गरिएको थियो । त्यो औषधि खाएपछि मुसा बेहोस हुन्छ । जहाजमा सानो खालको मुसा 
छिरेको हो । यसलाई 'डुहुरे' भनिन्छ । गत असार १३ गते भोजपुरबाट १९ यात्रु बोकेर काठमाडौं आइरहेको निगमकै टि्वनअटर जहाजमा पनि चरा ठोकिएको थियो । त्यस्तै दुई वर्षअघि पनि टि्वनअटर जहाजमा बनेपामाथि आइपुग्दा पखेटामा गिद्ध ठोक्किएको थियो । 
यसअघि जहाजमा मुसा भने पसेको थिएन । विमानस्थल वरपर फोहोर र झाडी बढेकोलेे मुसाको बिगबिगी बढेको भन्दै विमानस्थल प्रशासनले यसको रोकथाम गरिने बताएको छ । वरपरको जंगलका कारण विमानस्थल रनवेसम्म बाँदरसमेत पुग्ने गरेका छन् । 
जहाजभित्र मुसा छिरेको घटना नेपालमा मात्र होइन । अन्य मुलुकमा समेत यस्ता घटना हुने गरेका छन् । गत अगस्टमा स्विडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको जहाजमा मुसा देखिएपछि एसएएस एयरलाइन्सको विमान ३६ घन्टासम्म रोकिएको थियो । विमानमा यात्रु चढ्नुअघि मुसो कुदेको थियो । 
त्यस्तै, स्पेनमा मुसा छिर्दा तीन दिन उडान रोकिएको थियो भने न्युयोर्कमा आठ घन्टा लगाएर निकालिएको थियो । अस्ट्रेलियाको सिड्नीमा पनि उड्न लागेको एउटा जहाज मुसाले गर्दा रोकिनुपरेको थियो । सिड्नीबाट बि्रस्वेन उड्न लागेको जहाजको इमरजेन्सी मेडिकल इक्विपमेन्टमा चारवटा मुसा भेटिएका थिए ।

Friday, September 2, 2011

पर्यटक आगमनमा २६ प्रतिशत वृद्धि


नया पत्रिका
काठमाडौं, १५ भदौ
हवाई मार्ग हुदै नेपाल भित्रिने पर्यटकको संख्या अगस्टमा २६.४ प्रतिशतले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत अगस्टमा हवाई मार्गबाट ४३ हजार ४ सय ८७ पर्यटक नेपाल भित्रिएकामा यो संख्या सन् २०१० को अगस्टमा ३४ हजार ४ सय १५ थियो ।
अगस्टमा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक ३८.७ प्रतिशतले बढेको अध्यागमन कार्यालयको तथ्यांक छ । भारतीय पर्यटक ५० प्रतिशतले बढेका छन् । गत वर्ष अगस्टमा ९ हजार ६ सय ५१ भारतीय पर्यटक हवाई मार्ग हुदै नेपाल आएकोमा यो संख्या यस वर्षको अगस्टमा १४ हजार ४ सय ७४ पुगेको छ । तर, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट आउने पर्यटक भने केही घटेका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक ५७.२ प्रतिशतले बढेका छन् । जसमध्ये चिनिया पर्यटकको वृद्धिदर उल्लेख्य छ । गत वर्षको अगस्टमा १७ सय ३५ चिनिया पर्यटक हवाई मार्गबाट नेपाल आएकोमा यो वर्ष सो संख्या १ सय ५७.६ प्रतिशतले बढेर ४ हजार ४ सय ७० पुगेको छ । त्यस्तै, जापान, मलेसिया, सिंगापुर र थाइल्यान्डबाट आउने पर्यटक पनि बढेका छन् । यद्यपि दक्षिण कोरियाली पर्यटक भने केही घटेका छन् ।
युरोपियन बजारतर्फ अगस्टमा ९ प्रतिशतले पर्यटक बढेका छन् । बेल्जियम, डेनमार्क, जर्मनी, इटाली, स्विडेन र बेलायतबाट आउने पर्यटक गत वर्षको अगस्ट महिनाको तुलनामा बढेको तथ्यांक छ । फ्रान्स, नेदरल्यान्ड, रसिया र स्पेनबाट आउने पर्यटक भने केही घटेका छन् । अमेरिकी र क्यानाडेली पर्यटक क्रमशः १७ र ३३ प्रतिशतले बढेका छन् ।
यस वर्षको जनवरीदेखि नै पर्यटक आगमनको वृद्धिदर सकारात्मक रहेको पर्यटन बोर्डले जनाएको छ । समग्रमा वर्षको पहिलो आठ महिनाको पर्यटक आगमन वृद्धिदर २४.६ प्रतिशत छ । वर्षको पहिलो आठ महिनामा कुल ३ लाख २४ हजार ६२ पर्यटक हवाई मार्ग हदै नेपाल भित्रिएका छन् । यो संख्यालाई २०११ को अन्तसम्मका ७ लाख पु¥याउने सरकारको लक्ष्य छ ।

Saturday, August 27, 2011

क्यासिनो व्यवस्थापनमा समन्वयको खाँचो


नयाँ पत्रिका

काठमाडौं, ९ भदौ

व्यवस्थापिका संसद्को अर्थ र श्रम सम्बन्ध समितिले क्यासिनो मजदुर व्यवस्थापन, राजस्व संकलन र व्यवस्थापन सम्बन्धमा समन्वयात्मक ढंगले काम गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति सुशीला कन्दंवाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले क्यासिनो सञ्चालनका सम्बन्धमा अर्थ र श्रम मन्त्रालयसँग समन्वय गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले मजदुरका समस्या र राजस्व संकलन सम्बन्धमा भएका काम-कारबाहीको प्रतिवेदन १ महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि मन्त्रालयलाई आग्रह गरेको छ । त्यस्तै, समितिले क्यासिनो सञ्चालनका लागि एउटै कम्पनीलाई अनुमति दिने/नदिने भन्ने सम्बन्धमा मन्त्रालयले विगतमा भएका नीतिगत निर्णय तथा भावी नीतिबारे जानकारी गराउन पनि निर्देशन दिएको छ ।

क्यासिनोमा कार्यरत कर्मचारीले पाउनुपर्ने पारिश्रमिक सम्बन्धमा होटल व्यवस्थापन र श्रमिक प्रतिनिधिलाई एकै थलोमा तीनवटै मन्त्रालयको समन्वयमा समस्या समाधान गर्न बैठकले पर्यटनलाई निर्देशन दिएको छ । साथै, सञ्चालन भइरहेका क्यासिनोलाई कानुनसम्मत रूपमा अनुशासित, मर्यादित र व्यवस्थित सञ्चालनको व्यवस्था गरी नियमित अनुगमन र मूल्यांकनको संयन्त्र बनाउन पनि बैठकले निर्देश गरेको छ ।

बैठकमा श्रम मन्त्रालयका सचिव रामहरि अर्यालले मजदुरको तलबका लागि टे्रड युनियनहरूले मन्त्रालयमा दबाब दिइरहेको बताए । होटल अन्नपूर्ण र सोल्टीले क्यासिनोका कर्मचारी होटलका नभएकाले कुनै दायित्व नहुने भन्दै चिठी पठाएको उनले बताए । एनआरसीअन्तर्गत सञ्चालित क्यासिनोका मजदुरको मात्र ५० करोडभन्दा बढी तलब बाँकी रहेको बताइएको छ ।

पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले क्यासिनो व्यवस्थित गर्न नसकिएको स्वीकार गरे । 'बन्द गर्न र व्यवस्थित गर्न पनि सकिएको छैन,' उनले भने । क्यासिनो सञ्चालकले राज्यलाई चुनौती दिइरहेको बताउँदै उनले इजाजत खारेज भए पनि मजदुरको हित हेरी केही समय चलाउन दिइएको बताए । पर्यटन मन्त्रालय कानुन महाशाखा प्रमुख रञ्जनकृष्ण अर्यालले असार मसान्तमा नवीकरण हुनुपर्ने भए पनि नभएकाले हाल सबै क्यासिनो गैरकानुनी भएको बताए ।

अर्थ मन्त्रालयका सहसचिव शान्तराज सुवदीले राज्यको संयन्त्र कमजोर हुनु, ऐन कानुन स्पष्ट नहुनु तथा स्वामित्व स्पष्ट नहुनुजस्ता कारणले रोयल्टी उठ्न नसकेको बताए । यसपटकको आर्थिक ऐनले पर्यटन मन्त्रालयलाई बढी जिम्मेवार बनाएको उनको भनाइ थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले बक्यौता बाँकी भए पनि क्यासिनो सञ्चालन भइरहेको भन्दै सबै क्यासिनोको चलअचल सम्पत्ति रोक्का गरिएको जानकारी दिए । एनआरसीकोे नाममा रहेको घर तथा जग्गा लिलामी गरिए पनि बिक्री नभएको उनले बताए । विभागले असार दोस्रो साता एनआरसीको अचल सम्पत्ति लिलाम गरेको थियो । श्रम विभागले मजदुरको तलब बाँकी रहेको जानकारी गराएपछि मालपोत कार्यालयले घरजग्गा बिक्रीमा रोक लगाएको छ । क्यासिनो नेपाल सञ्चालन भइरहेको होटल सोल्टी क्राउन प्लाजाले एनआरसीको सम्पत्ति लिलामबाट नपुगे बाँकी तिर्ने प्रतिबद्धता जनाएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै क्यासिनो अन्नाले १७ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ । विभागले अन्नाको बैंक खाता रोक्का गरको भने यातायात व्यवस्था विभागले सवारी साधन विक्रीमा रोक लगाएको छ । त्यसैगरि एनआरसीका १६ वटा सवारी साधन रोक्का गरिएका छन् । अन्नपूर्ण इन्टरनेसनल र होटल सोल्टिलाइ पनि कारवाहिको दायरामा ल्याइएको श्रेष्ठले बताए । विभागले क्यासिनो अन्नाका सञ्चालक नरेन्द्रराज प्रधानको पनि चल अचल सम्पत्ति रोक्का गरेको छ । क्यासिनो नेपालले १४ करोड भन्दा बढि तिर्न बाँकी छ । जरिवाना र व्याजका कारण यो रकम बढ्दै जान्छ । ६ करोड १९ ला बक्यौता रहेको क्यासिनो फूलवारीले २०११ को अन्तिम सम्ममा तिर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

समितिले छलफलका लागि पर्यटनमन्त्री तथा सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका अधिकारी, राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा आन्तरिक राजस्व विभागका महानिर्देशकलाई बोलाएको थियो ।

सभासद्हरूले क्यासिनोका विषयमा सरकारी नीति स्पष्ट हुनुपर्ने भन्दै त्यस विषयलाई चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । कांग्रेसका रामशरण महतले क्यासिनो सञ्चालन जुन उद्देश्यका लागि दिइएको थियो पूरा नभएको भन्दै क्यासिनो सम्बन्धमा सरकारको स्पष्ट नीति हुनुपर्ने बताए । मन्त्री महत अर्थमन्त्री हँुुदा नै अधिकांश क्यासिनोको इजाजत दिइएको थियो । कम्पनीको लाइसेन्स खारेज भए पनि एनआरसीकै मान्छेले क्यासिनो चलाइराखेको भन्दै उनले आपत्ति प्रकट गरे ।

एमालेका विष्णु रिमालले राज्य ठग्नेमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । 'राज्य कमजोर भएकाले अराजकता बढेको हो,' उनले भने । मजदुरलाई मालिक को हो भन्ने जानकारी नभएकाले उनले मजदुरको तलब ग्यारेन्टीका लागि विकल्प खोजी गरिनुपर्ने बताए ।

कांग्रेसका जिपछिरिङ लामाले २ करोड रोयल्टीको आधार के हो भन्दै बक्यौता बाँकी हुँदाहँुदै लाइसेन्स नवीकरण गरिएकामा आपत्ति प्रकट गरे । एकीकृत माओवादीका हरि रोकाले क्यासिनो सम्बन्धमा सम्बन्धित मन्त्रालयबीच समन्वय नभएकाले समस्या देखिएको बताए ।

निगममा कर्मचारी पदपूर्ति नगर्न आदेश

काठमाडौं/ श्रम अदालतले नेपाल वायुसेवा निगम व्यवस्थापनलाई कुनै पनि किसिमको पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ । निगमद्वारा निष्कासित कर्मचारीले दायर गरेको मुद्दामा अदालतले त्यस्तो आदेश दिएको हो ।

'खाली भएका पद पदपूर्ति गर्न, नयाँ विज्ञापन वा कुनै पदपूर्ति तथा आउटसोर्सिङ गरी कामदार आपूर्ति गर्ने कार्य नगर्नु' आदेशमा उल्लेख छ ।

निष्कासित गरिएका कर्मचारी पदपूर्ति गर्न भन्दै निगमले विज्ञापन प्रकाशित गरेको थियो । निष्कासित कर्मचारीको मुद्दा नटुंगिञ्जेल कुनै पदपूर्ति नगर्न निगमलाई आदेश दिइएको छ । आदेशअनुसार अब निगमले विज्ञापन रद्द गर्नुपर्नेछ । निष्कासित ५ कर्मचारीले पुनः बहाली माग गर्दै बिहीबार श्रम अदालतमा मुद्दा दायर गरेका थिए । व्यवस्थापनले विनाकारण निकालेको भन्दै उनीहरू अदालत पुगेका हुन् ।

निष्कासित हुनेमा इन्जिनियरदेखि टिकट काट्ने कर्मचारी छन् । चौथो र ५ तहमा उनीहरूलाई लिम्बूले २ वर्षका लागि नियुक्त गरेका थिए । नियुक्तिपत्रको अवधिसम्म काम गर्न पाउनुपर्ने माग उनीहरूको छ । श्रम ऐनअनुसार जति अवधिका लागि नियुक्ति दिइएको हो त्यसभन्दा अघि हटाउन पाइँदैन । व्यवस्थापनले ३ महिनाको तलबसमेत नदिएको कर्मचारीको गुनासो छ ।

व्यवस्थापनले ११ कर्मचारीलाई निष्कासन गरेको बताइए पनि ५ जनालाई मात्र अवकाशपत्र दिएको छ । निर्देशक उमा भट्टको नाममा जारी गरिएको अवकाशपत्रमा निगमको लोगो तथा छापसमेत छैन । सञ्चालक समितिको निर्णयविना नियुक्त गरिएकाले अवकाश दिइएको पत्रमा उल्लेख छ । नयाँ व्यवस्थापन आएपछि पुराना करार कर्मचारी हटाई आप\mना मान्छे राख्ने प्रचलन निगममा रहँदै आएको छ