सौर्य समाचार
काठमाडौं, ९ असोज । नेपाल पर्यटन श्रमिक संघले ट्रेकिङ रुट सफाइ कार्यक्रमका नाममा भ्रष्टाचार भएको दाबी गरेको छ । ट्रेकिङ व्यवसायीको साझा संस्था टानले गत जुन ५ मा विश्व वातावरण दिवसको अवसरमा गरेको सफाइ कार्यक्रममा भ्रष्टाचार भएको दाबी संघले गरेको हो । टानले विश्व वातावरण दिवसका अवसरमा लाङटाङ क्षेत्रमा सरसफाइ गरेको थियो ।
सफाइ कार्यक्रममा करिब पाँच लाख रुपियाँ खर्च भएको प्रतिवेदन टानको साधारणसभाले हालै पारित गरेको छ । मजदुरले भने खर्च अपारदर्शी र आवश्यकभन्दा बढी भएको आरोप लगाएका छन् । सफाइ कार्यक्रममा पर्यटन श्रमिकको सेवासुविधा तथा सुरक्षाका लागि स्थापना गरिएको टिम्स कोषबाट खर्च भएकामा समेत मजदुर संगठनहरूले आपत्ति जनाएका छन् । ‘स्वयंसेवीका रूपमा आफैँ जिम्मेवार भएर गर्नुपर्ने यस्तो कार्यक्रममा टिम्स कोषको रकम खर्च गर्नु आपत्तिजनक छ,’ नेपाल पर्यटन श्रमिक संघका सचिव भागवतश्री न्यौपानेले भने ।तीन दिनको कार्यक्रम भनेर एक सातासम्म लम्ब्याइएकामा पनि उनको आपत्ति छ । सफाइ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा वातावरण विषय पढ्ने विद्यार्थी तथा टानअन्तर्गतको टिम्स हेर्ने कर्मचारी सहभागी थिए । टानका जिम्मेवार अधिकारी भने धुन्चेमा पत्रकार सम्मेलन गरी त्यहीँबाट फर्केका थिए ।
टानको साधारणसभाले पारित गरेको प्रतिवेदनमा सफाइ कार्यक्रममा ट्ेरड युनियनहरूको पनि उत्साहजनक सहभागिता रहेको उल्लेख भए पनि आधिकारिक रूपमा कुनै पनि युनियनलाई खबर नगरिएको सचिव न्यौपानेले बताए । कार्यक्रम टानले गरेको भए पनि रसुवा नुवाकोट पर्यटन विकास समितिले गरेको भनेर गलत प्रचार गरिएको उनको आरोप छ ।
टानले तयार गरेको खर्च विवरणअनुसार सफाइ कार्यक्रममा चार लाख ७९ हजार ६ सय रुपियाँ खर्च भएको छ । यसअनुसार सबैभन्दा बढी खर्च यातायातमा ९३ हजार रुपियाँ भएको छ । भ्रमण भत्ताबापत मात्र ६३ हजार रुपियाँ खर्च भएको देखाइएको छ । त्यस्तै टिसर्टमा ५३ हजार पाँच सय, स्याटेलाइट फोनमा १९ हजार सात सय, लजिङ फुडिङमा एक लाख ८५ हजार, खादामा १८ हजार तथा फोटोग्राफीमा १४ हजार रुपियाँ खर्च भएको छ । टानका पदाधिकारी चुनावबाट नभई राजनीतिक सहमतिबाट आएकाले जिम्मेवार नभएको मजदुर संगठनहरूको आरोप छ ।
टानले पर्यटकीय क्षेत्रमा फोहोर बढेको भन्दै जेठ तेस्रो साता ४० औँ विश्व वातावरण दिवसको अवसर पारेर लाङटाङ क्षेत्रमा सफाइ कार्यक्रम गरेको थियो । सांकेतिक कार्यक्रम भनिएको अभियानबाट कति फोहोर संकलन भयो भन्ने जानकारी कसैलाई गराइएकै छैन । अभियानको क्रममा रुटको दायाँबायाँ दुवैतिर ५ मिटर क्षेत्रको फोहोर संकलन गरिने बताइएको थियो । यस क्षेत्रमा रहेको नन डिस्पोजिबल (प्लास्टिकजन्य) फोहर संकलन गरी काठमाडौंस्थित फोहोरमैला व्यवस्थापन केन्द्रलाई बुझाइने भनिए पनि भनेअनुसार काम नभएको मजदुर संगठनले बताएका छन् ।
No comments:
Post a Comment