Tuesday, October 18, 2011

दूरसञ्चार क्षेत्रको राजस्व १४ अर्ब

लक्ष्मीप्रसाद खतिवडा
image
राजस्व रकम आव ०६६/६७ को तुलनामा करिब १३ अर्ब रुपैयाँभन्दा बढी हो

नयाँ पत्रिका
काठमाडौं, ३० असोज
सरकारले आर्थिक वर्ष ०६७/६८ मा दूरसञ्चार कम्पनीबाट करिब १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । दूरसञ्चार कम्पनीले तिर्ने विभिन्न करबापत सरकारले राजस्व संकलन गरेको हो । 
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवमा दूरसञ्चार कम्पनीले १३ अर्ब ८३ करोड २८ लाख ५३ हजार २ सय ६६ रुपैयाँ सरकारलाई बुझाएका छन् । 
राजस्व रकम आव ०६६/६७ को तुलनामा करिब १३ अर्ब रुपैयाँभन्दा बढी हो । सोही आवमा दूरसञ्चार कम्पनीबाट १ अर्ब ३७ करोड ४८ लाख २७ हजार ९ सय ८३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आवमा सबैभन्दा बढी राजस्व सरकारी स्वामित्वको नेपाल टेलिकमले बुझाएको छ । टेलिकमले गत आवमा ८ अर्ब १३ करोड ९८ लाख ९३ हजार ७ सय ४७ रुपैयाँ सरकारलाई बुझाएको छ । 
त्यसमध्ये सबैभन्दा बढी अगि्रम आयकर छ । अगि्रम आयकरबापत टेलिकमले सरकारलाई गत आवमा ४ अर्ब २७ करोड ७४ लाख १३ हजार ७ सय ५० रुपैयाँ बुझाएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर -भ्याट) बापत २ अर्ब १२ करोड ७५ लाख, भन्सार शुल्क २३ करोड १४ लाख र रोयल्टी १ अर्ब २३ लाख रुपैयाँ तिरेको छ । 
गत आवमा ग्रामीण दूरसञ्चार कोषमा ६६ करोड २९ लाख ३९ हजार ४ सय ५० रुपैयाँ जम्मा भएको प्राधिकरणको तथ्यांक छ । सोही आवमा टेलिकमले कोषमा ५० करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ । 
त्यस्तै, निजी क्षेत्रको सबैभन्दा ठूलो सेवाप्रदायक एनसेलले १५ करोड ७८ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । एसटिएम सञ्चारले ३३ लाख ११ हजार ३ सय १० रुपैयाँ र नेपाल स्याटलाइट टेलिकमले ६ लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि अनुदान पाएको स्मार्ट टेलिकमले भने लाइसेन्स सर्तमा उल्लेख नभएको भन्दै कोषमा रकम जम्मा गरेको छैन ।
दूरसञ्चार सेवा प्रयोगकर्ताको संख्या बढेसँगै कोषमा पनि रकम बढ्दै गएको प्राधिकरणले बताएको छ । आव सकिएको ६ महिनाभित्र दूरसञ्चार सेवाप्रदायक कम्पनीले कोषमा रकम जम्मा गरिसक्नुपर्छ । दूरसञ्चार 
प्राधिकरण्ाबाट अनुमति पाएका दूरसञ्चार र इन्टरनेट सेवाप्रदायकले वार्षर्िक कुल कारोबार रकमको २ प्रतिशत रकम कोषमा राख्नुपर्छ । हाल कोषमा ४ अर्ब २० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । 
गत आवमा दूरसञ्चार कम्पनीबाट सरकारलाई अगि्रम आयकरबापत ६ अर्ब ६४ करोड ३० लाख ८८ हजार ७ सय ५९ रुपैयाँ प्राप्त भएको छ । नेपाल स्याटेलाइट र स्मार्ट टेलिकमले भने त्यस्तो शुल्क बुझाएका छैनन् । 
त्यस्तै, भ्याटबापत ३ अर्ब ९० करोड ४४ लाख ५१ हजार १ सय ७१ रुपैयाँ र रोयल्टी १ अर्ब ३२ करोड ५८ लाख ७४ हजार ८ सय ९० रुपैयाँ उठेको छ । प्राधिकरणका अनुसार पि|mक्वेन्सी शुल्क नेपाल स्याटेलाइट र स्मार्ट टेलिकमले मात्र बुझाएका छन् । गत आवमा नेपाल स्याटेलाइटले ९२ लाख १० हजार र स्मार्ट टेलिकमले ११ लाख ३२ हजार रुपैयाँ पि|mक्वेन्सी शुल्क बुझाएका छन् । 
आव ०६६/६७ मा सेवाप्रदायकले स्वामित्व कर २६ लाख ८४ हजार र सम्पत्ति तथा सवारी-साधन कर २ लाख ७७ हजार रुपैयाँ सरकारलाई बुझाएका छन् । नेपाल टेलिकम, एनसेल र नेपाल स्याटलाइटले सवारी कर तिरेका छैनन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा युनाइटेड टेलिकम लिमिटेड -युटिएल) बाट प्राप्त राजस्व उल्लेख छैन । आव ०६६/६७ मा युटिएलले ४ करोड ८९ लाख ५३ हजार रुपैयाँ राजस्व सरकारलाई बुझाएको थियो । 
हाल मुलुकभर ६ वटा दूरसञ्चार कम्पनी सञ्चालनमा छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्यामध्ये ४७ प्रतिशतको टेलिफोन सेवामा पहुँच पुगेको छ । मोबाइल टेलिफोन प्रयोग गर्ने जनसंख्या करिब ४२ प्रतिशत छ । विकसित मुलुकहरूमा जनसंख्याभन्दा प्रयोग गर्ने टेलिफोन संख्या बढी भइसकेको छ । सार्क मुलुकमा भारत, पाकिस्तान र बंगलादेशभन्दा नेपाल पछाडि छ ।

Sunday, October 16, 2011

उडान संख्या थप्दै विदेशी विमान कम्पनी

नयाँ पत्रिका
काठमाडौं, २३ असोज
पर्यटकीय सिजनको सुरुवातसँगै नेपाल आउने विदेशी विमान कम्पनीहरूले उडान संख्या थपेका छन् । व्यावसायिक फाइदा हुने देखेपछि माग बढेको भन्दै विमान कम्पनीले उडान थप गरेका हुन् । 
थाई, कतार एयरवेज, गल्फ एयर, ड्रागन एयर, एयर चाइना, चाइना साउदर्न र फ्लाई दुबईले उडान संख्या थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् । हाल यी कम्पनीले अस्थायी अनुमतिका आधारमा अतिरिक्त उडान गरिरहेका छन् । अस्थायी उडान अनुमति सन् २०११ को अन्तिमसम्मका लागि मात्र हो । 
इसियाड एयरवेज र सिल्क एयरले पनि उडान संख्या थप्ने तयारी गरेका छन् । सरकारले गत वर्ष नै पर्यटन वर्षलाई मध्यनजर गरेर नेपालमा सेवा सञ्चालन गरिरहेका विमान कम्पनीलाई उडान संख्या थप्न औपचारिक आग्रह गरेको थियो । 
भुटानको राष्ट्रिय ध्वजाबाहक डुक एयरले सेप्टेम्बर २९ देखि काठमाडौं पारो साताको ६ वटा उडान थप गरेको छ । यसअघि उसले यो रुटमा दैनिक एउटा उडान गर्दै आएको थियो । प्राधिकरणले एयर चाइना र चाइना साउदर्न एयरलाइन्सलाई साताको क्रमशः तीन र चार उडान थप्ने स्वीकृति दिइसकेको छ । अब यी दुवै कम्पनीको साप्ताहिक उडान संख्या सात पुगेको छ । त्यस्तै, फ्लाई दुबईले साताको सात वटा अतिरिक्त उडान गर्ने अनुमति पाएको छ । हाल उसले दैनिक एउटा उडान गर्दै आएको छ । 
कतार एयरवेजले दोहा काठमाडौं रुटमा अक्टोबर १ देखि उडान संख्या थपेको छ । काठमाडौं दोहा रुटमा दैनिक चार उडान गरेर कतार एयरवेज नेपालमा सबैभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनी बनेको छ । एयर बस ए३२० जहाजबाट उडान गर्दै आएको कम्पनीले पिक सिजनमा ए३३० जहाजबाट उडान सुरु गर्ने बताएको छ । 
बहराइनको राष्ट्रिय ध्वजावाहक गल्फ एयरले नोभेम्बर १ देखि काठमाडौं उडान साताको १४ वटा पुर्‍याउने जानकारी दिएको छ । हाल कम्पनीले साताको १२ वटा उडान गर्दै आएको छ । गल्फ एयरले जहाजको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको बताएको छ । सुरुमा एयर बस ए३२० बाट सेवा प्रदान गरिरहेको गल्फले बढी माग हुने डिसेम्बर र जनवरीमा ए३३० जहाजबाट उडान गर्ने जनाएको छ । 
व्यावसायिक फाइदा नभएको भन्दै गत जेठदेखि नेपाल उडान स्थगित गरेको बहराइन एयरले पनि गत सातादेखि पुुनः काठमाडौं उडान सुरु गरेको छ । बहराइन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट -जिएसए) जेनिथ ट्राभल्सका अनुसार कम्पनीले बहराइन काठमाडौं दैनिक एक उडान गर्नेछ । बहराइन एयरले सातामा ५ हजार ६ सय सिट क्षमता प्रयोग गर्न पाउने अनुमति प्राधिकरणबाट पाएको छ ।
विमान कम्पनीहरूले उडान संख्या थप गरे पनि आगामी पर्यटकीय मौसममा नेपाल आउने विदेशी पाहुनाले आफूले चाहने बित्तिकै टिकट पाउन सक्ने अवस्था भने छैन । 
विमान कम्पनीका नेपालस्थित एजेन्टका अनुसार अधिकांश विमान कम्पनीका अक्टोबरदेखि डिसेम्बरसम्मका लागि नेपाल आउने सिट अगि्रम बुकिङ भइसकेका छन् । सबैभन्दा बढी चाप बैंकक, दोहा, ओमन, आबुधावीलगायत गन्तव्यमा छ । विमान कम्पनीहरूले टिकट नभएको जानकारी दिएको ट्राभल एजेन्सी सञ्चालकहरूले बताएका छन् । 
थाई, कतार, गल्फ एयर तथा इतिहाद एयरवेजको बुकिङ करिब ९० प्रतिशत रहेको छ । तर, यो अगि्रम बुकिङ मात्र हो । ट्राभल एजेन्सीका अनुसार वास्तविक बुकिङ संख्या भने सिजन सुरु हुनु १५/२० दिनअघि मात्र निक्र्योल हुन्छ । वैदेशिक रोजगारमा गएका कामदार दसैं मनाउन आउने र मनाएर फर्किने भएका कारण पनि चाप बढेको हो । सबैभन्दा बढी नेपाली कामदार भएको मुलुक मलेसियाबाट दसैं मनाउन फर्किने नेपालीले हवाई टिकट नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । हाल नेपाल वायु सेवाले मात्र काठमाडौं क्वालालम्पुर उडान गर्दै आएको छ । 
धेरै विमान कम्पनीले उडान गर्ने नेपाल-भारत रुटमा समेत ७५ प्रतिशत टिकट बुकिङ भइसकेका छन् । नेपाल उडान गर्ने भारतीय विमान कम्पनीको संख्या आधा दर्जन नाघिसकेको छ । ट्राभल एजेन्सीका अनुसार जापान, ताइवान, हङकङ तथा अमेरिकीको बुकिङ बढी छ । कतार, गल्फ र ठूलो सञ्जाल भएको थाई एयरवेजले युरोपका विभिन्न सहरबाट काठमाडौंसम्म 'कनेक्टिङ' उडान गर्छन् ।
हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीको संख्या २७ पुगेको छ । केही नयाँ कम्पनीले नेपाल आउन चासो राखेको पर्यटन मन्त्रालयले जनाएको छ । दुई वर्ष अघिको तुलनामा हवाई सिट संख्या सतप्रतिशत बढेको मन्त्रालयले जानकारी दिएको छ । डेढ वर्षअघि नेपाल आउने विमानको सिट क्षमता १८ हजार रहेकोमा हाल ४२ हजार नाघेको छ ।

Thursday, October 13, 2011

आतिथ्य, संस्कृति र पर्यटन

लक्ष्मीप्रसाद खतिवडा

असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुप्मा नत्र कसरी खानु यसरी ?
भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ??

झन्डै एक सय ६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको वेला एउटा घरमा भुटेको मकै खान दिँदा माथिको श्लोक रचेका रहेछन् । कामविशेषले वा यत्तिकै घुम्न जाँदा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साँझमा आउने पाहुना देउतासरह मानिने भएकाले राम्रो स्वागत सत्कार गर्नुपर्छ भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिँदै आएको छ । 
विशेषगरी नेपालमा माओवादी द्वन्द्व सुरु हुनु अघिसम्म अधिकांश गाउँघरमा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउँथ्यो आतिथेय घरपरिवारकोे आत्मीय व्यवहार पाउँथ्यो । तर, माओवादी र राज्यबीच द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पर्‍यो । कसैका घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो । पाहुनालाई पनि शंकाको दृष्टिले हेर्नुपर्ने स्थिति उत्पन्न भयो । 
०६३ सालमा राज्य र द्वन्द्वरत पक्षबीच शान्ति-सम्झौतापछि भने मुलुकभर आवतजावत सहज भयो । द्वन्द्वका कारण बन्द भएका गाउँघरका दैला अतिथि र आतिथ्यका लागि पुनः खुल्न थाले । आफ्नो दैलोमा पाहुनाको स्वागत गर्न यतिखेरको पुस्ता जुर्मुराएको छ । स्थानीय युवा तथा महिलाको सक्रियतामा मुलुकभर होम स्टेको लहर सुरु भएको छ । तर, फरक के छ भने पाहुना अब पर्यटक भएका छन् । आन्तरिक पर्यटक । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम गर्न अबको पुस्ता लागिपरेको छ । केचनाका नेपालीले पनि पर्यटक बनेर कालापानीको भ्रमण गर्न थालेका छन् । महेन्द्रनगरका नेपाली इलाम पुग्न थालेका छन् । आफ्नै नागरिकलाई पराई ठान्नुपर्ने अवस्था अन्त्य भएपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न गाउँवासी आतुर छन् । पर्यटकका लागि गाउँगाउँमा पूर्वाधार बन्न थालेका छन् र त्यसमा स्थानीय जनताको सक्रियता बढेको छ । 
गाउँहरू पर्यटकमैत्री बन्न थालेका छन् र नयाँ-नयाँ पर्यटकीय गन्तव्यको पनि पहिचान हुन थालेको छ । पर्यटकलाई आफ्नो संस्कृति देखाउन युवाहरू ल्ाागिपरेका छन् । ग्रामीण भेगमा पुग्ने पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । 
त्यसो त १२ वर्षअघि सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षदेखि नै नेपालमा आन्तरिक पर्यटनको लहर सुरु भएको थियो । विदेशी पर्यटकका लागि गाइड तथा 'पोर्टर'भन्दा भिन्दै घुम्नकै लागि निस्कने नेपाली पनि बढेका थिए । विभिन्न ठाउँमा हुने महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । तर, द्वन्द्वको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल स्वात्तै घट्यो ।
पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ भन्ने मान्यता आन्तरिक पर्यटनको हो । कुनै व्यक्ति आफू बसेको ठाउँभन्दा आफ्नै देशभित्रको अर्को कुनै ठाउँमा गएर रात बिताउँछ र त्यहाँको संस्कृति, प्रकृति र रहनसहन अवलोकन गर्छ भने त्यो नै आन्तरिक पर्यटक हो । यो एउटा सांस्कृतिक आदानप्रदानको प्रक्रिया पनि हो । 
नेपालमा आन्तरिक पर्यटनको अवधारणा नआइसकेको भए पनि एक ठाउँका मानिस अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । उहिले हिमाली भेगका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि वेलामौकामा पहाड चढ्थे । यसले संस्कृति तथा भेषभूषा आदानप्रदान गर्ने र फरक-फरक संस्कृतिका मानिसलाई जोडेर राख्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको थियो । एक ठाउँको उत्पादन अर्को ठाउँको उत्पादनसँग साट्ने चलन ग्रामीण भेगमा अहिले पनि छँदै छ । 
पाहुना देवतासमान हुने भएकोले उनीहरूसँग पैसा लिनु हुँदैन भन्ने संस्कृति हामीकहाँ छ । तर, पर्यटनले यो कुरा मान्दैन । पर्यटनमा आतिथ्य निःशुल्क हुँदैन । पाहुनालाई पर्यटकका रूपमा स्वागत-सत्कार गरेबापत यथोचित शुल्क लिनु नै आन्तरिक पर्यटनको अवधारणा हो । यसका लागि हाम्रो संस्कृतिको पनि व्यवसायीकरण गर्नु आवश्यक भएको छ । तारेहोटलमा आतिथ्यका लागि दैनिक हजारौँ शुल्क तिर्न तयार पर्यटकले कुनै ग्रामीण घरमा पाएको आतिथ्यका लागि केही शुल्क तिर्न तयार हुनैपर्छ । यसका लागि हामीले पाहुनासँग पैसा लिनु हुँदैन, मान्यता पनि परिमार्जन गर्नुपर्छ । 
लामो समयदेखि दैनिक जीवनको अभिन्न अंगका रूपमा रहेको हाम्रो संस्कृतिलाई पर्यटनको एउटा तत्त्वका रूपमा प्रयोग गर्न सकिन्छ । संस्कृति र जीवनशैलीलाई पर्यटकीय उपजका रूपमा प्रयोग गर्न सकिने हो भने त्यसबाट आर्थिक उपार्जन गर्न सकिन्छ । वन्यजन्तु हेर्न हजारौँ खर्च गर्ने पर्यटकले सांस्कृतिक अवलोकनका लागि पनि अवश्यै केही खर्च गर्न सक्छ । यसबाट सांस्कृतिक आदानप्रदान पनि हुन्छ र आर्थिक उपार्जन पनि हुन्छ । 
सरकारले राष्ट्रिय प्राथमिकतासाथ सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ । यो घुमफिर वर्ष पनि हो । कुनै ठाउँमा पर्यटकका रूपमा घुम्नु मनोरञ्जन गर्नु मात्र होइन, त्यस ठाउँको रहनसहन र संस्कृतिसँग आबद्ध हुनु पनि हो । सांस्कृतिक आदानप्रदान गर्नु पनि हो । 
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व पर्यटन संगठन युएनडब्लुटिओ) ले सन् २०११ का लागि विश्व पर्यटन दिवसको नारा 'टुरिजम लिङकिङ कल्चर' तय गरेको छ । पर्यटनले विश्वका विविध संस्कृतिलाई एक-आपसमा जोड्छ भन्ने मान्यताका आधारमा संगठनले यो नारा तय गरेको हो । नेपालजस्तो सांस्कृतिक विविधतायुक्त मुलुकका लागि यो नारा सबैभन्दा उपयुक्त छ । नेपालकै आग्रहमा यस वर्ष 'टुरिजम लिङकिङ कल्चर' नारा तय गरिएको हो । विविध संस्कृतिलाई एक-आपसमा जोड्दै पर्यटनबाट आर्थिक उपार्जन गर्न सकिने सम्भावना नेपालमा प्रशस्त छ । 
आतिथ्य र सांस्कृतिक विविधता नेपालको विशेषता हो । यसैलाई मन पराएर विदेशी पर्यटक यहाँ आउँछन् । यहाँको प्रकृति, संस्कृति र रहनसहन अवलोकन गरेर जान्छन् । नेपाली संस्कृतिसितको सामीप्यपछि थुपै्र विदेशीले नेपाली संस्कृति नै अँगालेका पनि छन् । अनौपचारिक तथ्यांकअनुसार ७० प्रतिशतभन्दा बढी विदेशी पर्यटक नेपालको आतिथ्य र प्राकृतिक/सांस्कृतिक विविधता मन पराएर पुनः नेपाल घुम्न आउँछन् ।
सन् १९६० को दशकदेखि पर्यटन संस्कृतिसँग जोडिन थालेको हो । यसैबीच युनेस्कोले विश्वका विभिन्न प्राचीन स्मारक, मन्दिर तथा सांस्कृतिक सम्पदाको अध्ययन गरेर महत्त्वपूर्ण सम्पदाको सूचीकृत गर्‍यो । यसै क्रममा नेपालका १० वटा स्मारक विश्व सम्पदामा सूचीकृत भए । यीमध्ये आठवटा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा छन् भने दुइटा प्राकृतिक सम्पदा छन् । विश्वका कैयौँ पर्यटक युनेस्कोले सूचीकृत गरेका सांस्कृतिक सम्पदा हेर्न मात्रै पनि नेपाल आउँछन् । यी अनमोल सांस्कृतिक सम्पदा अवलोकन गरेबापत अवलोकनकर्ताले निश्चित शुल्क तिर्नैपर्छ । त्यसैले पनि संस्कृतिले पर्यटन प्रवर्द्धनलाई विशेष बढावा दिने विश्वास गरेरै संसारभर सांस्कृतिक पर्यटनको लहर चलाएको पाइन्छ । अवसरको सदुपयोग गर्न जाने नेपालले पनि त्यसबाट भरपूर फाइदा उठाउन सक्छ । 
khatiwadalp@gmail.com