Friday, January 28, 2011

नेवानि सञ्चालक समिति पुनर्गठनको तयारी

image

पर्यटन क्षेत्रसँग असम्बन्धित ३ सदस्य हटाएर ट्राभल, होटल तथा उद्योगी व्यवसायीका संगठन प्रमुखलाई ल्याइने

नयाँ पत्रिका

काठमाडौं, १३ माघ

पर्यटन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य पुनर्गठन गर्ने भएको छ । मन्त्रालयले निगम सञ्चालक समितिका नागेश्वर राय, सुखचन्द्र झा र सन्ध्या मानन्धरलाई हटाई पर्यटन तथा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार पर्यटनमन्त्री शरतसिंह भण्डारीले हटाउने तयारी गरेका निगम सञ्चालकमध्ये राय निगमकै पूर्वनिर्देशक हुन् । सुखचन्द्र झा राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् भने हाल फाइनान्स कम्पनी चलाएर बसेका छन् । त्यस्तै, सन्ध्या मानन्धर मधेसी जनअधिकार फोरम गच्छदार पक्षका महासचिव जितेन्द्र देवकी पत्नी हुन् । फोरमनिकट तीनैजनालाई मन्त्री भण्डारीले नै नियुक्त गरेका थिए ।

पर्यटन क्षेत्रसँग असम्बन्धित ३ सदस्य हटाएर ट्राभल, होटल तथा उद्योगी व्यवसायीका संगठन प्रमुखलाई ल्याउने तयारी भएको छ । नयाँ नियुक्त गरिने सञ्चालक समितिका सदस्यमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स नाटाका अध्यक्ष अर्जुनप्रसाद शर्मा, होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र नेपाल उद्योग वाणिज्य महासंघ एफएनसिसिआईका अध्यक्ष कुशकुमार जोशी रहेका छन् । नाटा ट्राभल तथा टुर व्यवसायीको छाता संगठन हो भने हान होटल व्यवसायीको संगठन हो । त्यस्तै, एफएनसिसिआई उद्योगी व्यवसायीको छाता संगठन हो । पर्यटन तथा अन्य व्यवसायीले जहाज खरिदका लागि दबाब दिँदै आएका छन् । दबाब अभियानमा नाटा, हान र महासंघ सहभागी छन् ।

सञ्चालक समितिमा सम्बन्धित क्षेत्रका सदस्य आउने भएपछि निगमको हितमा काम हुने विश्वास मन्त्रालयको छ । स्रोतका अनुसार निगमका कर्मचारी संगठनले पर्यटनसचिव किशोर थापालाई सञ्चालक समितिमा बस्न आग्रह गरेका छन् । तर, विवादमा मुछिएको निगममा जान सचिव थापा इच्छुक नभएको बताइएको छ । सञ्चालक समितिमा नयाँ सदस्य थपिएपछि थापा अध्यक्ष हुने स्रोतको दाबी छ । निगममा अध्यक्ष, महाप्रबन्धक, पर्यटन मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि र पर्यटनमन्त्रीबाट नियुक्त हुने ३ गरी ७ जनाको सञ्चालक समिति हुने गरेको छ ।

पर्यटन मन्त्रालयका सचिव किशोर थापाले सञ्चालक समिति परिवर्तर्न गर्ने गृहकार्य भइरहेको बताए । एक साताभित्र समिति पुनर्गठन हुने जानकारी दिँदै उनले समिति अध्यक्षमा आफू नियुक्त हुने सम्भावना रहेको जानकारी दिए । निगम सञ्चालक समिति अध्यक्षको नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्छ । सञ्चालक समितिमा व्यावसायिक व्यक्ति आएपछि संस्थाको हितमा काम हुने उनको विश्वास छ । 'प्रतिष्ठित र व्यावसायिक व्यक्ति सञ्चालक नियुक्त भए संस्थाप्रति इमानदार हुन्छन्,' थापाले भने ।

पर्यटन मन्त्रालयका कानुन महाशाखा प्रमुख रञ्जनकृष्ण अर्यालले सम्बन्धित क्षेत्रका अनुभवी व्यक्ति सञ्चालक समिति व्यावसायिक र जिम्मेवार हुने बताए । समितिमा नियुक्त गर्ने सदस्य सम्बन्धमा सबै अधिकार सरकारको भएको उनको भनाइ छ ।

निगम सञ्चालक समिति ०१९ अनुसार मन्त्रीस्तरीय निर्णयबाट निगमको अध्यक्ष र सञ्चालक समिति नियुक्त हुन्छन् । संस्थाको व्यक्ति तोकेर नियुक्त गरिने भएकाले संस्थागत प्रतिनिधित्व नहुने भन्दै उनले अर्को व्यक्ति अध्यक्ष भएपछि नियुक्ति स्वतः बदर हुने जानकारी दिए ।

नाटा अध्यक्ष अर्जुनप्रसाद शर्माले सरकारले आग्रह गरे निगम सञ्चालक समितिमा बस्न तयार रहे पनि औपचारिक तबरमा मन्त्रालयले कुनै जानकारी नदिएको बताए । 'ट्राभल व्यवसायीको निगमसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले बोर्डमा प्रतिनिधित्व गर्न पाउनु सकारात्मक हो,' शर्माले भने ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete