Monday, January 31, 2011

बैना फिर्ता माग्न मन्त्रीले मानेनन्

नयाँ पत्रिका

काठमाडौं, १६ माघ

पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एयरबसलाई नयाँ जहाज खरिदका लागि पठाएको लकअप मनी फिर्ता माग्न अस्वीकार गरेका छन् । नेपाल सरकारले औपचारिक आग्रह गरे लकअप मनी फिर्ता गर्नेबारेमा सोच्न सकिने एयरबसले बताए पनि मन्त्री भण्डारीले भने त्यसमा असहमति जनाएका हुन् । लकअप मनी फिर्ता माग्ने काम निगमकै भएको उनको भनाइ छ ।

निगम अधिकारीहरू भने सरकारले नै यसको पहल गर्नुपर्ने बताउँछन् । 'एयरबस पैसा फिर्ता गर्न सकारात्मक हुँदाहुँदै पनि मन्त्रालयले असहयोग गर्‍यो,' निगमका एक अधिकारीले बताए । जहाज खरिदका लागि मन्त्रालय आफैँले पटकपटक लेखा समिति र अर्थ मन्त्रालयमा 'लविङ' गरेको भए पनि हाल आएर गैरजिम्मेवार भएको आरोप उनीहरूको छ ।

स्रोतका अनुसार गत महिना पर्यटनमन्त्री, सचिव र निगमका उच्च अधिकारीबीच जहाज आउन नसक्ने अवस्थामा मन्त्रीस्तरीय निर्णय गरेर एयरबससँग लकअप मनी फिर्ता माग्ने सहमति भएको थियो । निगमका निलम्बित एक अधिकारीले 'मन्त्रीले सहमति तोडेको र आफूहरूलाई मात्र फसाउन खोजेको' आरोप लगाए ।

निगमले एयरबससँग लकअप मनी फिर्ता माग्ने विषयमा पहल गरिदिन पर्यटन मन्त्रालयलाई केही समयअघि पत्र लेखेको थियो । सुरुमा मन्त्री सकारात्मक भए पनि पछि चासो नदेखाएको निगम अधिकारीले बताए । लकअप मनी मन्त्रीलाई सोधेर पठाएको हुँदा उनले पनि चासो देखाउनुपर्ने ती अधिकारी बताउँछन् । निगमका निलम्बित अधिकारीहरूले गत साता मन्त्री भण्डारीलाई भेटेर सो रकम फिर्ता माग्ने प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए ।

मन्त्रालयले सार्वजनिक लेखा समिति र अर्थ मन्त्रालयले जहाज खरिदका विषयमा दिएका निर्देशन अहिलेसम्म निगममा पठाएको छैन । जहाज खरिदमा प्रत्यक्ष संलग्न मन्त्रालय अहिले उदासीन देखिनु दुःखलाग्दो कुरा भएको निगमको भनाइ छ । जहाज नआउने पक्का भइसकेको अवस्थामा बैना रकम फिर्ता माग्न मन्त्रालय सकारात्मक हुनुपर्ने उनीहरूको भनाइ छ । सम्झौताअनुसार निगमले एयरबससँग किन्न खोजेको दुई ठूला जहाजमध्ये पहिलो डेलिभरी आउने महिना गत सेप्टेम्बर हो ।

लकअप मनी फिर्ता गरेर अर्को 'डिल' गर्न एयरबस तयार रहेको र मन्त्रीले न्यारोबडी खरिद गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइदिन्छु समेत भनेको निगमको दाबी छ । एयरबससँग निगमले गरेको सम्झौताको अवधि आगामी मार्चमा सकिँदैछ । सम्झौता अवधि थप्न निगमले अझसम्म पनि कुनै पहल गरेको छैन ।

पर्यटन मन्त्रालयका सचिव किशोर थापाले लकअप मनी फिर्ता माग्नेसम्बन्धमा छलफल भइरहेको बताए । एयरबसले मौखिक रूपमा सो रकम फिर्ता दिन सकिने आशय व्यक्त गरेको बताउँदै उनले कहिले र कसरी आग्रह गर्ने भन्ने टुंगो लागी नसकेको जानकारी दिए । 'मुलुक र निगमकोे हितमा हुने गरी मन्त्रालयले निर्णय गर्छ,' उनले भने ।

निगम र एयरबसबीच भएको सम्झौतामा भने जहाज खरिद प्रक्रिया रद्द गरे बैना फिर्ता नहुने उल्लेख छ । निगमले २०६६ कार्त्तिक १९ मा एयरबसँग दुई जहाज किन्ने सर्तसहित समझदारीपत्रमा हस्ताक्षर गरी बैनास्वरूप ७ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७३ लाख रुपैयाँ) पठाएको थियो ।

जहाज निर्माता कम्पनीको नियमअनुसार बैना नलिई उसले जहाजको मूल्य पठाउँदैन । एयरबससँग भएको समझदारीमै बैना प्राप्त हुनुपर्ने उल्लेख छ । निगमको आर्थिक विनियावलीमा सञ्चालक समितिले जहाज खरिद गर्ने निण्र्ाय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete