Monday, December 10, 2012

मोबाइल आयातमा ‘टाइप एप्रुभल’ अनिवार्य

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २५ मंसिर । विदेशबाट मोबाइल सेट ल्याएर नेपालमा बिक्री गर्नेले अनिवार्य ‘टाइप एप्रुभल’ प्रमाणपत्र लिनुपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टाइप एप्रुभलको प्रावधानलाई कडाइका साथ लागू गर्न लागेको हो ।
कानुनमा उल्लेख भएबमोजिम नै प्रावधान लागू गर्न लागिएको प्राधिकरणले बताएको छ । दूरसञ्चार ऐन ०५३ अनुसार स्वीकृतिविनै मोबाइल सेट आयात गर्नेलाई ५० हजार रुपियाँसम्म कारबाही हुन्छ । बजार अनुगमन प्रभावकारी बनाई टाइप एप्रुभलविना मोबाइल सेट बेच्ने बिक्रेतालाई कारबाही गर्ने तयारीसमेत प्राधिकरणले गरेको छ ।
प्राधिकरणका अनुसार नेपालमा बिक्री हुने मोबाइल सेटमध्ये अहिलेसम्म सात सय ३८ मोडल मात्र टाइप एप्रुभल प्रमाणपत्र प्राप्त छन् । यीमध्ये अधिकांश मोडल नोकिया, सामसुङ, एलजी, स्पाइस, कलर्स, बर्डस, कार्बन तथा जिफाइभ ब्रान्डका हुन् । कतिपय कम्पनीले एउटा सेटको स्वीकृति लिएर अरू सेट पनि भित्र्याउँदै आएको बताइएको छ । प्राविधिक परीक्षण र अनुगमन गर्ने दक्ष प्राविधिक नहुँदा त्यस्ता सेट भित्रिँदै आएको प्राधिकरण अधिकारी बताउँछन् । ‘टाइप एप्रुभल’का लागि प्रतिमोडल एक हजार रुपियाँ शुल्क तिर्नुपर्छ  । मोबाइल सेटबाहेक राउटर तथा ब्लुटुथ डिभाइसलगायत सञ्चार उपकरण आयात गर्दा पनि टाइप एप्रुभल गर्नुपर्ने प्राधिकरणको व्यवस्था छ । टाइप एप्रुभलको व्यवस्था चार वर्ष अघिदेखि नै लागू गरिएको भए पनि प्रभावकारी अनुगमन र नियन्त्रणको अभावमा धेरै उत्पादक तथा वितरकले जथाभाबी मोबाइल बेचिरहेका छन् । जसले गर्दा सेवाको गुणस्तरमा कमजोरी दखिने गरेको छ ।
नेपालमा बिक्री हुने ४० प्रतिशत बढी मोबाइल सेट अवैध रहेको बताइन्छ । लोकप्रिय हुँदै गइरहेका एप्पल, ब्लाकबेरी, सोनी तथा एचटिसीसमेतले टाइप एप्रुभल प्रमाणपत्रका लागि प्राधिकरणमा पहल गरेका छैनन् । यी सबै ब्रान्डका नेपालमा वितरक र सोरुम छन् ।
प्राधिकरणले सम्बन्धित देशको दूरसञ्चार नियामक निकायले दिएको एप्रुभल प्रमाणपत्रका आधारमा यहाँ पनि प्रमाणपत्र दिँदै आएकामा अबदेखि भने आफ्नै सिस्टमको विकास गर्ने र मोबाइल सेटको ल्याब टेस्ट गर्ने योजना बनाएको छ । टाइप एप्रुभलको व्यवस्था कडाइका साथ लागू गर्ने हो भने गैरकानुनी रूपमा मोबाइल सेट आयात गर्ने क्रम पनि रोकिने विश्वास विक्रेताहरूको छ । नेपालको मोबाइल बजारमा ३० प्रतिशत ग्रे मार्केटले ओगटेको उनीहरू बताउँछन् । टाइप एप्रुभल अनिवार्य भएमा चोरी–पैठारी भने बढ्ने अनुमान छ । यसअघि गत भदौमा पनि यो व्यवस्था कडाइका साथ लागू गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा तातोपानी भन्सार नाकाबाट मोबाइल सेट भित्रिने क्रममा कमि आएको थियो ।

के हो टाइप एप्रुभल ?
प्राविधिक तथा सुरक्षासम्बन्धी निर्धारित मापदण्ड पूरा गरी उत्पादन गरिएका मोबाइल सेटलाई सम्बन्धित मुलुकले बिक्री खुला गर्नुअघि दिने स्वीकृति ‘टाइप एप्रुभल’ हो । नेपालमा दूरसञ्चार प्राधिकरणले यस्तो स्वीकृति दिन्छ । सरकारले ०६५ जेठ ९ मा सार्वजनिक सूचना जारी गरी अनिवार्य रूपमा ‘टाइप एप्रुभल’ लिएर मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको थियो ।
नेपालमा ‘टाइप एप्रुभल’ दिनुअघि सुरक्षा, रेडियो परीक्षण, इलेक्ट्रो म्याग्नेटिक कम्प्याटिबिलिटी, उत्पादित मुलुकको नियामक निकायको स्वीकृतिजस्ता विषय हेरिन्छ । मानव शरीरदेखि १० सेन्टिमिटर दूरीमा राखिने उपरकणले अनिवार्य रूपमा यस्तो स्वीकृति लिनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । अमेरिकी र युरोपेली तथा केही एसियाली मुलुकमा भने सुरक्षालाई सबैभन्दा बढी संवेदनशील मानिन्छ ।

No comments:

Post a Comment