Saturday, December 8, 2012

विमानस्थल निर्माणका लागि प्रस्तावको ओइरो

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २२ मंसिर । नेपाल नागरिक प्राधिकरणमा विभिन्न जिल्लाबाट विमानस्थल निर्माणका लागि प्रस्तावको ओइरो लागेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै प्रस्ताव प्राधिकरण पुगेका हुन् । प्राधिकरण मुलुकभर विमानस्थल निर्माण तथा सञ्चालन गर्ने निकाय हो ।
प्राधिकरणको सिभिल निर्माण महाशाखाका अनुसार २० भन्दा बढी जिल्लाबाट विमानस्थल निर्माणको माग आएको छ । जिविस तथा स्थानीय सरोकारवालाले निर्णय गरेपछि विमानस्थल निर्माणको प्रस्ताव प्राधिकरणसम्म आइपुग्छ । एउटा विमानस्थल भएर पनि सञ्चालनमा नरहेको जिल्लाबाट समेत अर्को विमानस्थल निर्माणको माग आएको छ ।
विमानस्थल निर्माणका लागि पूर्वी पहाडी जिल्लाबाट बढी माग आएको प्राधिकरणले जनाएको छ । पूर्वका धनकुटा, पाँचथर, सुनसरी, तेह्रथुम, इलामलगायत जिल्लाबाट प्रस्ताव आएको छ । तराईमा भने उदयपुर र सिरहाबाट माग आएको छ ।
विमानस्थल निर्माणका लागि प्रस्ताव दर्ता गर्ने अन्यमा अर्घाखाँची, गुल्मी, पाल्पा, गोरखा जिल्ला छन् । त्यस्तै हुम्ला, मुगु, रोल्पा, सल्यान, दैलेख र रुकुमबाट पनि माग आएको छ । जिल्लाबाट आएका अधिकांश प्रस्ताव पूर्वसभासद्को नेतृत्वमा सिफारिस भएर आएका छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखाबाट आएको प्रस्तावमा प्राधिकरणले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको छ । उत्तरी गोरखाको सामागाउँमा विमानस्थल निर्माणका लागि प्रधानमन्त्री कार्यालयबाट प्रस्ताव आएको थियो । सल्यानका लागि पूर्वसभासद् टेकबहादुर बस्नेत, दैलेखका लागि भरतकुमार रेग्मी, सिरहाका लागि पूर्वपर्यटन राज्यमन्त्री सत्रुघ्नप्रसाद सिंह कोइराला सिफारिस गरेका छन् । त्यस्तै गुल्मीमा विमानस्थल निर्माणका लागि नेकपा एमालेका केन्द्रीय सदस्य वामदेव क्षेत्री र अर्घाखाँचीका लागि एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझीले सिफारिस गरेको प्राधिकरणले बताएको छ ।
यसअघि पर्यटन मन्त्री हुने हरेकले आफ्नो गृह जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने गरेकामा हालका मन्त्री पोष्टबहादुर बोगटीको पालामा भने त्यस्तो भएको छैन । यसअघिका पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले देश दौडाहा गरी सञ्चालनमा नरहेका थुप्रै विमानस्थल पुन: सञ्चालन गरेका थिए ।
कार्यकाल सम्हालेको केही दिनमै पहिला देश अनि विदेश घुम्ने उद्घोष गरेका विष्ट कार्यकालभरि नै घुमेका थिए । मुलुकभर रहेका विमानस्थल पुन: सुचारु गर्ने भन्दै उनले परीक्षण उडान गराए पनि विमान सेवा सञ्चालन भने हुन सकेन । जहाज अभावमा नेपाल वायुसेवा निगमले ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न सकेको छैन भने निजी वायुसेवा कम्पनी नाफा नहुने सेक्टरमा जानै चाहँदैनन् ।
आफ्नो कार्यकालमा विष्टले बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको कमलबजार, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर, दाङको टारीगाउँ, बाग्लुङको बलेवा र पूर्वी नेपालको इलामसम्म विभिन्न विमानस्थलमा परीक्षण उडान गराएका थिए । विष्टको कार्यकालमा मात्र विभिन्न जिल्लाबाट ३१ वटा नयाँ विमानस्थल निर्माणको माग आएको मन्त्रालयले जानकारी दिएको छ ।
भएका विमानस्थल समेत सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ विमानस्थल निर्माण सम्भव नहुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अधिकारी व्यापारिक कोणबाट फाइदा हुने नदेखिएसम्म विमानस्थल निर्माण र पुन: सञ्चालन गर्न नसकिने बताउँछन् । मुलुकभर रहेका ५४ विमानस्थलमध्ये ३२ वटा मात्र सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । स्थल यातायातको पहुँच भएपछि पनि कतिपय विमानस्थल बन्द हुने गरेका छन् ।
बर्सेनि विमानस्थल निर्माणका लागि विभिन्न ठाउँबाट प्रस्ताव आउने गरे पनि धेरैजसो प्रस्ताव त्यतिकै थन्किन्छन् । सम्भाव्यता देखिएमा मात्र प्राधिकरणले अध्ययन प्रक्रिया अगाडि बढाउँछ । यसमा राजनिीतिक दबाबले पनि काम गर्छ । पहिलो चरणको अध्ययनका लागि न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपियाँसम्म खर्च हुने सिभिल महाशाखाको भनाइ छ । त्यस्तै दोस्रो चरणको अध्ययनमा पाँच लाख रुपियाँसम्म खर्च हुन्छ । गत वर्ष प्राधिकरणले हुम्लाको पुदुकोट र मदना क्षेत्र, धनकुटाको बेलाराडाडा, पाँचथरको रानीटार र धरानमा पहिलो चरणको सर्भे गरेको थियो ।

No comments:

Post a Comment