Sunday, February 26, 2012

४० दिन हिड्दा जे देखियो

लक्ष्मीप्रसाद खतिवडा
सिन्धुपाल्चोक, १३ फागुन


पूर्वको ताप्लेजुङबाट ४० दिन हिडेर सिन्धुपाल्चोक आइपुगेका ‘ग्रेट हिमालयन टेल’ का पदयात्रीहरु सञ्चारकर्मीसँग अनुभव सेयर गर्न उत्सुक थिए । बोर्डरल्याण्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जलवायु परिवर्तनका असर र नयाँ पुराना पर्यटकीय गन्तव्यका बारेमा आफ्नो अनुभव सुनाए ।

किर्तिमानी सगरमाथा आरोहि आप्पा शेर्पाले सगरमाथा आरोहण भन्दा हिड्नु केहि सहज भएको बताए । पर्यटनले गाउँ गाउँमा सरसफाइको चेतना ल्याएको र सभ्यता पनि सिकाएको अनुभव उनले सुनाए । ‘पर्यटक पुग्ने ठाउँका मानिसको व्यवहार राम्रो छ । राम्रोसँग कुरा गर्छन् ।’ उनले भने । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा थुपै्र परिवर्तन देखिएको जानकारी दिदै शेर्पाले कतिपय ठाउँमा यसअघि हिडेको बाटो मेटिइसकेको बताए । कञ्चनजंघा क्षेत्रमा फोहोर बढेकोमा पर्यटकले गुनासो गरेको उनले सुनाए । प्रवद्र्धन कम भएका कारण दोलखाको रोल्वालिङ क्षेत्रमा पर्यटन व्यवसाय संकटमा पर्न थालेको उनको भनाइ छ ।
सञ्चारकर्मी सौरभ ढकालले आफूहरुले ७ वटा जिल्ला पार गरिसकेको र सबै जिल्लामा पर्यटनका फरकफरक सम्भावना देखिएको बताए । सोलार र ‘माइक्रो हाइड्रो’ ले गाउँमा उर्जा क्रान्ति नै ल्याएको अनुभव उनले सुनाए । पर्यटन व्यवसायी दावा स्टेभन शेर्पाले पहिले स्थापित भइसकेका ट्रेकिङ रुट द्धन्द्धकालमा बन्द भएकाले तिनलाइ पुन सुचारु गर्न सकिने सम्भावना देखिएको बताए । पर्यटनका लागी गाउँ गाउँ सम्म पनि पूर्वाधार विस्तार हुन थालेको जानकारी उनले दिए । मोबाइल तथा इन्टरनेटका कारण पनि पर्यटकका लागी ट्रेकिङ सहज भएको उनका भनाइ छ ।
‘क्लाइमेट स्मार्ट सेलिव्रेटी ट्रेक’ नाम दिइएको १ सय २० दिने पदयात्राको आयोजना नेपाल सरकार तथा विभिन्न दातृ निकायको आर्थिक सहयोगमा यात्रा हिमालयन क्लाइमेट इनिसियटिभ नामक संस्थाले गरेको हो । संस्थाका प्रमुख कार्यकारी प्रशान्त सिंहले पर्यटनको माध्यमबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने बताए । ‘यो पुरै नेपाल चिनाउन सक्ने ट्रेकिङ ट्रेल भएकाले विश्वभरिका पदयात्रीलाई यसतर्फ आकिर्षत गर्ने मुख्य उद्धेश्य हो ।’ उनले भने ।  यात्राबाट ट्रेलको विश्वव्यापि प्रचार हुने विश्वास आयोजकको छ । ‘यसबाट हिमालय क्षेत्रमा दिगो विकास र पर्यटकीय सम्भावनाको ढोका खुल्ने सम्भावना छ ।’ सिंहले भने ।
प्रधानमन्त्री अध्यक्ष रहने जलवायु परिवर्तन परिषद्ले पारित गरेको करिव १ करोड रुपैयाँको यो परियोजनालाइ वातावरण तथा पर्यटन मन्त्रालय, युकेएड, व्रिटिश काउन्सिल, एसएनभी, नेपाल पर्यटन बोर्ड, टान, एनएमए लगायतका संघसंथाको सहयोग गरेका छन् । त्यस्तै कर्पोरेट पार्टनरमा एसियन टेकिङ, नर्थफेस र डेल कम्प्युटर छन् ।
गत १ माघमा पूर्वको ताप्लेजुङबाट शुरु भएको पदयात्रा २०६९ वैशाख ३१ मा पश्चिमको दार्चुला पुगेर सकिने आयोजकले जनाएको छ । उनीहरुले २० वटा हिमाली जिल्ला पार गर्नेछन् । राजधानीबाट उनीहरुलाइ राष्ट्रपति रामवरण यादवले राष्टिय झन्डा दिएर बिदाइ गरेका थिए । शुरुका आठ दिन जर्मन राजदूत भेरेना ग्राफिन भोन रोडर्न पनि आठ दिन पदयात्री सँगै हिडेको आयोजकले जनाएको छ ।
यो टे«ल पर्यटन बर्षमा पहिचान भएको पर्यटकीय उत्पादन हो । पर्यटन बर्षको औपचारिक उद्घाटनसँगै गत पुसमा यसको उद्घाटन भएको थियो । ग्रेट हिमालयन टे«लले नेपाल बाहेक पाकिस्तान, चीनको तिब्बत, भारत, भुटान र म्यानमार समेत छुन्छ । यसको पुरा लम्बाइ हिमालय शृखंलाको ४ हजार ५ सय किलोमिटर हो । यसमध्ये १७ सय किलोमिटर नेपालभित्र पर्छ । यो रुट पुरा गर्नेले विश्वका ८ हजार मिटर अग्ला सबै हिमाल हेर्न पाउछन् । अहिले नेपालभित्रका लागि मात्र खुला गरिएको छ । सन् १९९० देखि अन्तराष्टिय ट्रेकिङ ट्रेलका रुपमा विकास गर्ने अवधारणा अनुसार सन् २००३ देखि यसको सम्भावना खोजी भएको थियो ।
सन् २००४ मा मा नै एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक संगठनले पर्यटन योजनामा ग्रेट हिमालयन ट्रेललाई महत्वपूर्ण स्थान दिएको थियो । पछि सन् २००६ मा नेदरल्यान्डको संस्था एसएनभी र इसिमोडले पनि यो योजनालाई सघाएका थिए ।
हाल टेकिङका लागी नेपाल आउने पर्यटक मध्ये करिव ९० प्रतिशत अन्नपूर्ण, लाङटाङ, सगरमाथा जस्ता स्थापित रुटमा जाने गरेको टेकिङ व्यवसायीहरु बताउछन् । गत भदौमा लोन्ली प्लानेट टाभल गाइडले सन् २०११ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट लामो दुरीका पदयात्रा मार्गको सूचीमा यो टेल पारेको थियो । यात्रा पूरा गर्न १ सय ६० दिन लाग्ने उसले उल्लेख गरेको थियो ।

No comments:

Post a Comment