Tuesday, February 28, 2012

व्यवसायमा नयाँ प्रयोग


उद्यम त्यस्तो क्षेत्र हो, जसमा विभिन्न समूहका मान्छेसँग संगत गर्नुपर्छ । फरक फरक किसिमका मान्छेसँग ‘डिल’ गर्नुपर्छ । भनिन्छ, व्यापार गर्न सबै कुरा जान्नुपर्दैन । मात्र केही गर्छु भन्ने इच्छाशक्ति र आँट चाहिन्छ । मनभित्र एउटा ‘जुनुन’ चाहिन्छ । त्यही ‘जुनुन’ र इच्छाशक्तिले उसलाइ व्यापारको बाटोमा हिडाउँछ, दौडाउँछ, लडाउँछ र उठाउँछ पनि । 
यसैगरि लड्दै उठ्दै हिडेका उद्यमी हुन् श्यामसुन्दर लाल कक्षपति । सानेपा हाइटको ‘पाल्पाली छें’ उनको उद्यमको केन्द्र हो । नेवारीमा छेंको अर्थ घर हुन्छ । यही घरबाट उनले आफ्ना सबै बिजनेस सञ्चालन गरेका छन् नाङलो बेकरीका दर्जन बढि आउटलेट, कुरिनटारस्थित रिभरसाइड स्प्रिङस रिसोर्ट र अज्जवको आइसक्रिम । 
रोजगारीको खडेरी परेको मुलुकमा कक्षपतिले १ हजारभन्दा बढीलाइ रोजगारी दिएका छन् । नाङलो बेकरीले मात्र ३ सय २५ जनाको परिवार पालेको छ । आफ्नो लागि शुरु गरेको व्यापारबाट यति धेरैले रोजगारी पाउलान् भनेर उनी आफैंले पनि सोचेका थिएनन् । 
पुख्र्यौली थलो पाल्पामा श्यामका बुबा कपडा व्यापार गर्थे । तर, श्यामलाई भने त्योभन्दा फरक केही गरौं भन्ने लाग्यो । बुबाले सुरु गरेकोे कपडा पसलमा उनको मन अडिएन । पढ्न भनेर काठमाडौं आएका श्यामले १९ बर्षको उमेरमा आफ्नो छुट्टै व्यवसाय सुरु गरे । सुरुमा भाइबहिनी पाल्न ग्रोसरी खोले । अझ नयाँ र च्यालेन्जिङ केही गरौं भन्ने रहर लाग्यो । यही अभिलासाले उनी रेष्टुरेन्ट व्यवसायतिर हान्निए । यो व्यवसायमा रुची भएका कारण दिल्ली गएर कुक, काँटाचम्चा र कफी बनाउने मेसिन ल्याए । कुकिङ पनि सिके । 
सन् १९७३ मा रत्नपार्कमा ‘क्याफे द पार्क’ खोले । नयाँ काम चुनौतीपूर्ण हुन्छ नै । उनले पनि निकै चुनौती र हन्डरको सामना गर्नुप¥यो । रेष्टुरेन्ट कल्चर नै शुरु भएको थिएन काठमाडौंमा । फास्ट फुड त परको कुरा । रेष्टुरेन्ट जाने निकै थोरै थिए । रेष्टुरेन्टमा गएर खानुलाई राम्रो पनि मानिदैनथ्यो त्यतिखेर ।   
रत्नपार्कको क्याफे विस्तार गरेर सन् १९७६ मा अर्को रेष्टुरेन्ट खोले । सानो नाङलोमा खानेकुरा सजाएर बर्गर, स्यान्डविच सर्भिस हुन्थ्यो उनको रेष्टुरेन्टमा । नयाँ खानेकुरा र सेवामा नयाँपन भएकाले उनको रेष्टुरेन्टमा मानिस जान थाले । पछि त्यहि नाङलो क्याफेको नाम बन्यो र विस्तारै ‘ब्रान्डनेम’ बन्यो । 
सुरुमा विभिन्न किसिमका प्रतिक्रिया आए । पिज्जा, वर्गर र हट डग खाने मान्छे निकै थोरै थिए । अहिले जस्तो परिवारै गएर रेस्टुरेन्टमा खाने चलन थिएन । केही थाहा नभएको व्यवसाय सुरु गर्दा धेरैले असफल हुन्छ भने । तर उनको रेष्टुरेन्ट नयाँ भएकोले मान्छे त्यतातिर तानिए । उनको रेष्टुरेन्टले शहरियाहरुलाइ ह्याम्बर्गर, पिज्जा, हट डग, आइस क्रिम जस्ता पश्चिमी आइटम खान सिकायो । केही खर्च गर्ने वर्ग पनि तयार भइसकेको थियो । खाली खर्च गर्ने पर्याप्त ठाउँ थिएन । 
विस्तारै नाङलो बेकरी एउटा ब्रान्ड बन्यो । रेस्टुरेन्ट तथा फाष्टफुड चेनको रुपमा स्थापित नाङलोका हाल १३ आउटलेट छन् । सन् १९९८ तिर नयाँ सोच आयो, सुन्न नसक्नेलाई जागिर दिने । उनीहरु इमान्दार हुन्छन् भन्ने लाग्यो उनलाई । यस्ताले पनि रेष्टुरेन्टमा काम गर्न सक्छन् भनी धेरैले उनलाई उडाए पनि । तर कार्यक्रममा टिकट चेक गर्न कान सुन्न नसक्ने लाइ राख्दा प्रभावकारी भएको देखेका थिए उनले । त्यसैले राम्रै हुन्छ भन्ने थियो । सुरुमा १२ जनालाई तालिम दिए । तिनले राम्रो काम गरेपछि अरुलाई पनि लगाउँदै गए । अहिले नाङलोका ६ वटा आउटलेटमा ६० जना कान सुन्न नसक्नेले रोजगारी पाएका छन् । 
शुरुमा त उनी आफैंलाई पनि शंका थियो ग्राहकको कस्तो प्रतिक्रिया आउला भन्नेमा । तर अहिले वाहीवाही पाएका छन् । ग्राहकले पनि उनको आइडियालाई मन पराएका छन् । अहिले त उनको व्यापारलाई समाजसेवा पनि भन्दा रहेछन् कतिले । कान सुन्न नसक्नेसँगै होचा पुड्कालाई पनि रोजगारी दिन थालेका छन् । उनकै रेष्टुरेन्टको बच्चा खेल्ने ठाउँमा होचा पुड्काको काम प्रभावकारी भएको छ । 
हरेक बर्ष एउटा रेष्टुरेन्ट थप्ने उनको योजना भए पनि त्यसले मूर्तरुप भने पाउन सकेको छैन । श्रम समस्या, व्यावसायिक असुरक्षा आदिले आँट गर्न नसकिरहेको उनी बताउँछन् । ३९ वर्ष व्यापार गरिसकेको बताउने श्याम आफैं ३९ वर्षका जति देखिन्छन् । निकै लामो सलक्क परेको कपाल । जेल लगाएर पछाडि फर्काएको, हाइटी शरीर । उमेरभन्दा निकै जवान देखिन्छन् उनी । सकारात्मक सोचाइ, चिन्तामुक्त जीवन अनि थोरै व्यायाम उनको जवानीको राज हो रे । 
नाङलो ग्रुप अफ कम्पनिजका अध्यक्ष कक्षपती हालै होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को ४१ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । यसअघि उनी संघका महासचिव थिए । आफ्नो कार्यकालमा होटल व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सहकार्य गरेर अगाडी बढ्ने उनको योजना छ ।

No comments:

Post a Comment