Wednesday, February 22, 2012

ट्रली प्रयोगमा शुल्क लाग्ने


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ९ फागुन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निःशुल्क प्रयोगका लागी उपलब्ध गराइएका ट्रलीमा व्यवस्थापनले शुल्क लगाउने तयारी गरेको छ । ट्रली सेवामा यात्रुले सास्ती पाएको गुनासो गर्न थालेपछि सहज व्यवस्थापनका लागी शुल्क लगाउने तयारी भएको हो । 
आधुनिक प्रणालीको प्रयोग गरि सस्तो शुल्कमा सेवा दिने दावी व्यवस्थापनको छ । यसका लागी क्वाइन सिस्टम लागु हुने छ र निश्चित शुल्क तिरेपछि मात्र ट्रली निस्किन्छ । ट्रली प्रयोगका लागी २० रुपैया शुल्क लिने योजना व्यवस्थापनले बनाएको छ । यसबाट उठेको रकम ट्रली व्यवस्थापनकै लागी खर्च गरिने छ । व्यवस्थापनले ट्रली प्रयोगमा शुल्क लगाउन गैरआवासीय नेपाली संघ (एनआरएन) सँग छलफल गरिसकेको छ । विमानस्थलका ट्रली मध्ये अधिकांश एनआरएन ले सहयोग स्वरुप प्रदान गरेको हो । केहि ट्रली भने विमानस्थल आफै र विभिन्न संघ संस्थाबाट प्राप्त भएका हुन् ।
विमानस्थल प्रशासन र विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको प्रहरी युनिटले ध्यान नदिदा यात्रुले ट्रली सेवा सहजै पाउन सकिरहेका छैनन् । विमानस्थल क्षेत्रमा सक्रिय गिरोहले ट्रली प्रयोगका लागी ‘अवैध’ शुल्क समेत लिने गरेका छन् । खासगरि आन्तरिक विमानस्थलमा संचालित ट्रली धेरैका लागी ‘ठगि खाने भाडो’ बनेको व्यवस्थापनको भनाइ छ । विमानस्थल परिसर बाहिर सेवा दिने उद्देश्यले संचालित निःशुल्क ट्रली सेवा सहज बनाउन विगतदेखि प्रयास गरेको भएपनि असफल भएको स्वयम् विमानस्थल अधिकारीहरु स्वीकार्छन् । प्रहरी गुहार्दा पनि ट्रली गुण्डागर्दी रोक्न नसकिएको व्यवस्थापनको गुनासो छ । 
राजनीतिक पार्टीको संरक्षणमा विमानस्थलमा क्रियाशिल मजदुरहरुले नै ट्रली दलाली मार्फत रकम उठाउँदै आएका छन् । विमानस्थल परिसर बाहिर ट्रली कब्जामा लिई सामान इच्छा विपरित टर्मिनल भवनभित्र पु¥याउने र टर्मिनल भवनबाट ट्याक्सीसम्म सामान ओसारेर पैसा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ट्रली बाट शुल्क उठाउन त्रिभुवन अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बाहिर करिव ३० जनाको गिरोह सक्रिय रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । प्रहरीले बारम्बार त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरि गौशाला प्रहरी वृतलाई बुझाए पनि समस्या सुल्झिन सकेको छैन । 
विमानस्थल प्रशासनले आन्तरिक रुपमा ट्रली कलेक्टरको रुपमा ज्यालादारी मजदुर समेत राखेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा गरि करिव सय जना ट्रली कलेक्टर परिचालित छन् । तर यात्रुले भने ट्रली सहजै नपाउने र पाए पनि अनावश्यक शुल्क तिर्नुपर्ने बाध्यता छ । विमानस्थलमा करिव ४ सय ट्रली रहेपनि खोजेको समयमा पाउन नसकिने गुनासो यात्रुहरुको छ । कतिपय यात्रुले ट्रली प्रयोग गरेवापत टिप्सका रुपमा रकम दिने गरे पनि जबरजस्ती बढि रकम असुल्ने गरिएको छ । विदेशी पर्यटक यसबाट बढि हैरान हुने गरेका छन् । पर्यटकबाट २० डलरसम्म पैसा असुलिने गरेको ट्राभल एजेन्सी सञ्चालकहरुको गुनासो छ । 
विमानस्थलमा ट्वाइलेट, टेलिफोन, ट्याक्सी र ट्रली गरि ४ वटा ‘टी’ समस्याको रुपमा रहदै आएका छन् । ट्रली सेवालाइ सशुल्क गरि समस्या समाधान गर्ने प्रशासनको योजना छ । ट्वाइलेट र टेलिफोनको समस्या समाधान भइसकेको र आगामी वैशाखसम्ममा सबै पुराना ट्याक्सीलाइ नयाँले विस्थापन गर्ने प्रशासनको दावी छ ।

No comments:

Post a Comment