Wednesday, February 29, 2012

असुरक्षाको असर पर्यटनमा


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ फागुन


काठमाडौं, १६ फागुन । कमजोर शान्ति सुरक्षाको असर पर्यटन क्षेत्रमा पनि देखिएको छ । काठमाडौको मुटु सिंहदरवार नजिकै बम विष्फोट भएकै दिन वेलायतले आफ्ना नागरिकलाइ नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । मंगलवार वेलायतले डब्लुडब्लुडब्लु डट एफसिओ डट जिओभी डट युकेमा सूचना जारी गरेको हो । ‘सुरक्षालाइ मध्यनजर गरेर संशोधन सहित यो सूचना जारी गरिएको छ ।’ फरेन एण्ड कमनवेल्थ अफिसले जारी गरेको सूचनामा उल्लेख छ । विशेष गरि काठमाडौंमा यात्रा गर्दा आफ्ना नागरिकलाइ बढि चनाखो हुन वेलायतले आग्रह गरेको छ । 
नेपाल भ्रमण गर्ने नागरिकलाइ वेलायती दुतावास स्थित कन्सुलर सेक्सनमा दर्ता हुन र आफ्नो टाभल आइटिनरीका बारेमा आफ्ना परिवारलाइ जानकारी गराउन वेलायतले अनुरोध गरेको छ । 
नेपालको राजनितिक अवस्था अस्थिर भएको र बारम्बार बन्द हड्ताल, विरोध ¥याली तथा प्रदर्शन हुने गरेको भन्दै वेलायतले नेपाल भ्रमणमा बढि चनाखो हुन आफ्ना नागरिकलाइ सचेत गराएको छ । ‘सरकारी कार्यालय नजिकका स्थानमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरिन्छ ।’ सरकारी वेबसाइटमा उल्लेख छ । राजनितिक प्रदर्शनबाट टाढा रहन र आफ्नो टुर अपरेटरसँग नियमित सम्पर्कमा रहन उसले अनुरोध गरेको छ । यसअघि वेलायतले नेपाललाइ सुरक्षित गन्तव्यको रुपमा राख्दै आएको थियो । अप्रिल २०१० देखि मार्च २०११ सम्ममा २८ जना वेलायती नागरिकले नेपालस्थित कन्सुलर कार्यालयको सहयोग लिनुपरेको उसले जनाएको छ । 
वेलायती पर्यटक खर्च गर्ने पर्यटकको रुपमा चिनिन्छन् । सन् २०११ मा ३४ हजार ५ सय वेलायती पर्यटक नेपाल आएको तथ्यांक छ । २०१२ को पहिलो महिना जनवरीमा १ हजार ७ सय ६ वेलायती पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत बर्षको जनवरीको तुलानमा ५ प्रतिशतले बढि हो ।  
यसअघि २२ नोभेम्बर २०११ मा अष्ट्रेलिया सरकारले पनि ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणको क्रममा उच्च स्तरको सावधानी अपनाउन आफ्ना नागरिकलाइ आग्रह गरेको छ । संविधान निर्माणमा भइरहेको अन्यौल र बन्दको श्रंखला बढेको भन्दै अष्ट्रेलियाले नेपाल भ्रमणमा सचेत रहन आग्रह गरेको थियो । उसले अहिलेसम्म यो एडभाइजरी अपडेट गरेको छैन । 
विदेशी पर्यटक सुरक्षाको मामलामा बढि सम्वेदनशिल हुने भएकोले ट्राभल एडभाइजरीको असर पर्यटक आगमनमा देखिन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । एउटा मुलुकले जारी गरेको एडभाइजरीले अर्को मुलुकका पर्यटक समेत प्रभावित हुने अनुभव व्यवसायीहरुको छ । ‘असुरक्षाको स्थिति पर्यटन व्यवसायमा तत्काल पर्ने देखिएको छ । नेपाल आउने तयारी गरिरहेको पर्यटकले यसबारे पुनर्विचार गर्छ ।’ टुरिष्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेरराम बरालले भने । टुर अपरेटरहरुका अनुसार सोमबारको विष्फोटका कारण पर्यटकहरु उपत्यका वरपरको दृष्यावलोकन तथा सास्कृतिक प्रदर्शनीमा सहभागी हुन पाएनन् । इन्धन अभावका कारण सवारी साधन चल्न सक्ने स्थिति समेत नभएको वेला शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा व्यवसाय संकटमा परेको व्यवसायीहरुको भनाइ छ । ‘असुरक्षा भयो भने पर्यटकले बसाइ अवधि छोट्याउन सक्छन् ।’ बरालले भने । 
कडा ट्राभल एडभाइजरी जारी गर्दै आएको अमेरिकाले भने गत मंसिरमा आफ्ना नागरिकलाइ निश्चिन्त भएर नेपालको भ्रमण गर्न आग्रह गरेको छ । यसअघि पर्यटन बर्षको शुरुमा उसले नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको थियो । करिव १६ बर्षअघि माओवादीले सशस्त्र युद्ध थालेदेखि नै अमेरिकाले नेपाल भ्रमण खतरापूर्ण हुने बताउदै आएको छ ।

थाइल्याण्ड र कोरियामा नेपाल प्रवद्र्धन 

नेपाल पर्यटन बोर्ड सहित ३ वटा वटा टाभल तथा टुर कम्पनिले थाल्याण्डमा सम्पन्न थाइ इन्टरनेसनल टाभल फेयरमा नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । २३ देखि २६ फेब्रुअरीसम्म बैंककमा भएको फेयरमा नेपालका पर्यटकीय उत्पादनहरुको प्रवद्र्धन गरिएको बोर्डले जनाएको छ । थाइ टुर अपरेटरहरुले काठमाडौं, पोखरा, चितवन र लुम्बिनिका भ्रमण प्याकेज बेचिरहेका छन् । फेयरमा लुम्बिनि तथा अन्य सांस्कृतिक क्षेत्रको प्याकेजका बारेमा बढि जिज्ञासा आएको बोर्डको भनाइ छ । निजि क्षेत्रबाट सहभागी कम्पनिहरुले लुम्बिनि भ्रमण बर्ष २०१२ लाइ लक्षित गरेर प्याकेज बुक गराएका थिए । थाइ एयरवेजले बैंकक काठमाडौं दैनिक र नेपाल एयरलाइन्सले काठमाडौंबाट साताको दुइ उडान गर्दै आएका छन् । 
यसैविच दक्षिण कोरिया स्थित नेपाली दुतावासले ‘संस्कृित र  प्रकृतिको मुलुक नेपाल विषयक सेमिनारको आयोजना गरेको छ । कोरियामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ । कार्यक्रममा टाभल टुर अपरेटर, विमान कम्पनि तथा पर्यटन व्यवसायीहरु सहभागि थिए ।

No comments:

Post a Comment