Tuesday, March 27, 2012

अमेरिका भन्छ बढाऊ, चीन भन्छ घटाऊ

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल आफैले अहिलेसम्म नापेको छैन । फलस्वरूप पछिल्लो समय अमेरिका र चीनले सगरमाथाको उचाइबारे दुई फरक प्रस्ताव नेपालसामु अघि सारेका छन् ।
सन् १८५६ देखि नै सगरमाथाको उचाइ पत्ता लगाउने अभियान सुरु भए पनि आधिकारिक उचाइबारे विवाद हु“दै आएको छ । नेपालले मान्यता दिदै आएको ८ हजार ८ सय ४८ मिटर उचाइ भारतीय सर्वेक्षण टोलीले १९५५ मा गरेको नापका आधारमा कायम भएको हो ।
तर, अमेरिकाले सन् १९९९ मा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ५० मिटर निर्धारण गरेको थियो । केही विकसित मुलुक यही उचाइलाई मान्यता दिन्छन् । त्यस्तै, सन् १९९९ मा नेसनल जोग्राफीले गरेको मापनमा पनि ८ हजार ८ सय ५० मिटर नै देखिएको थियो ।
सगरमाथाको उचाइ विवादित भएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण संघले हालै एउटा प्राविधिक समिति गठन गरेको छ । समितिमा चीन र अमेरिकाले आ–आफ्नो प्रस्ताव पेस गरेका छन् । अमेरिकी प्रस्तावमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर हुनुपर्ने उल्लेख छ भने चीनले हालको भन्दा करिब चार मिटर उचाइ कम गर्न प्रस्ताव गरेको छ ।
चट्टानको उचाइलाई मात्रै आधिकारिक मान्नुपर्ने तर्क गर्दै चीनले हालको भन्दा ३.५६ मिटर घटाउनुपर्नेमा जोड दिएको हो । हिउको मात्रा बर्सेनि घटबढ हुने भएकाले सगरमाथाको आधिकारिक उचाइ नाप्दा हिउलाई समेट्न नहुने उसको अडान छ । यद्यपि, चट्टानी उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउसहितको उचाइ ८ हजार ८ सय ४८ मिटर भनेर दुईवटा मापदण्ड राख्न सकिने चिनिया प्रस्तावमा उल्लेख रहेको स्रोतले बतायो । अत्याधुनिक प्रविधि प्रयोग गरी वैज्ञानिक रूपमा आफूले उचाइ मापन गरेको चिनियाको दाबी छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार दुई वर्ष अघिदेखि नै चीनले आफ्नो मुलुकले नापेको उचाइलाई मान्यता दिन नेपाललाई दबाब दिइरहेको छ । त्यतिबेला चिनिया उपविदेशमन्त्री ली होङ काईले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई सगरमाथाको उचाइ कम गर्न प्रस्ताव गरेका थिए । ‘सरकारले चीनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिसकेको थियो । विवादित विषय भनेर हामीले विरोध गरेपछि रोकियो,’ शेर्पाले भने । शेर्पाका अनुसार आफ्नो प्रस्ताव स्वीकृत गराउन अहिले पनि चीनले कूटनीतिक दबाब दिइरहेको छ ।
हालसम्म विदेशीले नै सगरमाथाको उचाइ मापन गरिरहेकामा नेपाल आफैले गर्ने तयारी भइरहेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार मन्त्रालयले यसका लागि चालु आर्थिक वर्षमा ९४ लाख रुपिया बजेट छुट्याएको छ । यो आवमा उदयपुरको बासघारीदेखि नाम्चे तासिन्दोसम्मको समतल नापी गर्ने योजना छ । उचाइ मापनको जिम्मा नापी विभागलाई दिइए पनि हालसम्म कुनै काम हुन सकेको छैन ।
चीनले मापन गरेको उचाइ साविकभन्दा ३ दशमलव ५६ मिटर कम भएकाले अन्तर्राष्ट्रिय क्षेत्रले मान्यता दिएको छैन । तिब्बततर्फबाट सगरमाथा आरोहण गर्दा कम उचाइको प्रमाणपत्र पाइने भएकाले दोब्बर महगो भए पनि नेपालतर्फबाट सगरमाथा चढ्ने टोली धेरै हुन्छन् । आफूले कायम गरेको उचाइले अन्तर्राष्ट्रिय मान्यता पाए तिब्बततर्फबाट चढ्ने टोली ह्वात्तै बढ्ने चीनको आशा छ । त्यसो भएमा नेपालको पर्वतारोहण क्षेत्र नै धराशयी हुने पर्यटन व्यवसायी बताउछन् ।
समय–समयमा हुने सीमा बैठकमा पनि चीनले यो विषय उठाउने गरेको छ । सन् २००६ मा भएको नेपाल–चीन सीमा बैठकदेखि नै उसले सगरमाथाको उचाइ हालको भन्दा कम भएको दाबी गर्दै आएको थियो । बेलायतले भने सन् १९६५ देखि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई मान्यता दिइरहेको छ ।
विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय प्रचलन, मापदण्ड र प्राकृतिक सिद्धान्तका आधारमा विश्वका विभिन्न हिमचुलीको उचाइ हिउको माथिल्लो भागलाई नै आधार बनाएर लिने गरिन्छ । संसारका अग्ला शिखरको उचाइ हिउसहित र हिउबाहेक भनेर दुई प्रकारको मापन गर्ने प्रचलन कतै पनि छैन । नेपालमा पनि हिउले पुरिएको चुचुरोमा पुगी झन्डा गाडेपछि मात्र सगरमाथा विजय गरेको मानिन्छ । आरोहीका अनुसार उनीहरूले लैजाने अल्टिमिटरमा सगरमाथाको साविकको उचाइभन्दा कम देखिदैन ।
प्राकृतिक तथा परम्परागत सिद्धान्त एवं प्रचलित कानुनअनुसार सामान्यतया जुन वस्तु जुन देशमा छ, त्यसै देशको क्षेत्राधिकारभित्र पर्छ । सगरमाथाको चुचुरो नेपालको सीमाभित्र रहेकाले यसको वास्तविक उचाइ निर्धारण गर्ने हक नेपाललाई छ । तर, यो काम विश्वका वैज्ञानिक तथा अनुसन्धानद्वारा प्रतिपादित सिद्धान्त तथा मापदण्डअनुसार हुनुपर्ने विज्ञहरू बताउछन् । सगरमाथाको नाम राख्नेदेखि उचाइ नाप्नेसम्म सबै काम विदेशीले गरिदिए । सर जर्ज एभरेस्ट नामका बेलायतीको नाममा यो शिखरको नाम राखियो । भारत, चीन, बेलायत र अमेरिकाले यसको उचाइ नापे । नेपालले पछि मात्र सगरमाथा नाम राखेको हो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete