Wednesday, March 14, 2012

सुरक्षित छैनन् महत्वपूर्ण सूचना

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ३० फागुन
मोबाइलको सिमकार्ड लिँदा होस् वा बैंकमा खाता खोल्दा, अथवा अन्य कुनै फाराम भर्दा हामी थुप्रै व्यक्तिगत सूचनाहरू भर्ने गर्छौँ । तर, हामीले उपलब्ध गराएका ती सूचना कतिको सुरक्षित राखिएका छन् हामी हेक्का राख्दैनौँ ।
सूचनाको सुरक्षा लेखाप्रणाली नहुँदा महत्वपूर्ण सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरू बताउँछन् । ‘नेपालमा हरेक वर्ष आर्थिक लेखापरीक्षण हुन्छ, तर कुनै पनि क्षेत्रको ‘डाटा’ कति सुरक्षित छ भनेर मूल्याङ्कन हुने गरेको छैन,’ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख राजनराज पन्तले भने । महत्वपूर्ण सूचनाको सुरक्षाका लागि लेखाप्रणाली आवश्यक रहेको र आन्तरिकमात्र नभएर स्वतन्त्र रूपमा पनि लेखापरीक्षण गराउनुपर्ने उनको भनाइ छ । सङ्घसंस्थाले प्रयोग गर्ने ‘एप्लिकेसन’ पनि कति भरपर्दो छ त्यसको मूल्याङ्कन हुनुपर्ने पन्तको भनाइ छ । ‘इलेक्ट्रोनिक डाटा बढी संवेदनशील हुन्छ र सुरक्षा गर्न पनि बढी गाह्रो हुन्छ, तर नेपालका कुनै पनि कम्पनीसँग डाटा नष्ट भए कसरी रिकभर गर्ने भन्ने योजना छैन,’ उनले भने । सूचनाको सुरक्षा लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय गाइडलाइन तोकिएको र विकसित मुलुकले अनिवार्य रूपमा यस्तो लेखापरीक्षण गराउने गरेको उनले बताए । नेपालमा करिब दर्जनजति सूचना सुरक्षा लेखापरीक्षक रहेको बताइएको छ ।
कुनै पनि कम्पनी तथा संस्थाका लागि सूचना महत्वपूर्ण सम्पत्ति हो । यो मेटिए आर्थिक नोक्सानीका साथै संस्थाको छवि पनि बिग्रिन सक्छ । तर, नेपालमा अहिलेसम्म सूचना राख्ने प्रणाली, सूचना रेकर्डको अवस्था, संस्थाको आइटी नीति, प्राविधिक कर्मचारीको अवस्था आदि बारे लेखापरीक्षण गर्ने प्रचलन सुरु भएकै छैन । विशेषगरी बैंकिङ क्षेत्रमा सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरूको टिप्पणी छ । ‘व्यक्तिको लाखाको सम्पत्तिबारे सूचना कति सुरक्षित छ भन्ने कुरा महत्वपूर्ण छ । तर, सूचना सुरक्षाको अवस्थाका बारेमा आन्तरिक तथा स्वतन्त्र लेखापरीक्षण गर्ने प्रचलन छैन’, पन्तले भने । सूचना प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा दिन थाले पनि यो पूर्ण रूपमा सुरक्षित नभएको विज्ञहरूको भनाइ छ । अनलाइनबाट लिइने सूचनाको दुरुपयोग हुनसक्ने सम्भावना बढी हुने भएकाले अनलाइन फाराम भर्दा व्यक्तिगत सूचना नदिन उनीहरूको सुझाव छ ।
गत पुसमा नक्कली एटिएम कार्डको प्रयोग गरी नबिल बैंकबाट ८० लाख रुपियाँ चोरी भएको थियो । यसमा बैंककै पूर्व कर्मचारीको सम्लग्नता देखिएपछि आन्तरिक रूपमा पनि सूचना सुरक्षाको अवस्था कमजोर रहेको देखिएको छ । ‘बाहिरबाट त खतरा छँदैछ, आन्तरिक रूपमा पनि खतरा छ,’ एक प्रविधि विज्ञले भने । बैंकहरूले अनावश्यक रूपमा व्यक्तिको सूचना लिने गरेको उनको दाबी छ । सूचना प्रविधिको विकाससँगै देखापरिरहेका नयाँनयाँ विषय सम्बोधन गर्न सरकारले कार्ययोजना बनाइरहेको विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशव भट्टराई बताउँछन् । विज्ञान र प्रविधिले सबै क्षेत्रलाई छुने भएकाले यसको विकासमा ध्यान दिनुपर्ने तर यसका लागि स्रोत स्–साधनको कमी रहेको उनको भनाइ छ । प्रविधि विकासका लागि मन्त्रालयअन्तर्गत आइटी विभाग स्थापना गर्ने काम अन्तिम चरणमा पुगको जानकारी उनले दिए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete