Monday, April 11, 2011

यस्तो बन्दैछ दोश्रो अन्तराष्ट्रिय विमानस्थल


काठमाडौं, २७ चैत
बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने अनुमति पाएको कोरियाको ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्ल्यू) ले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।
कम्पनीले १५ महिनापछि अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको हो । सरकार र एलएमडब्ल्यूबीच विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतापत्रमा फागुन दोस्रो साता हस्ताक्षर भएको थियो ।
कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदनमा पहिलो चरणमा ६२ करोड डलर खर्च हुने उल्लेख छ । प्रतिवेदनअनुसार ३ हजार हेक्टरमा विमानस्थल बन्नेछ भने एक हजार हेक्टरमा एयरपोर्ट सिटी बन्नेछ । पहिलो चरणको काम सकिएपछि ५० लाख यात्रुको आवतजावत हुने कम्पनीले बताएको छ । टर्मिनल भवन दुईतले हुनेछ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भएपछि ६ करोड वार्षिक यात्रुको आवतजावत हुने प्रक्षेपण कम्पनीले गरेको छ ।
विमानस्थलमा ट्रान्सपोर्टेसन सेन्टर, आर्थिक सेन्टर, टुरिजम सेन्टर स्थापना गर्ने र यसलाई यस क्षेत्रकै हव बनाउने योजना कम्पनीको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक घोषणा गर्नुपर्ने सुझाब कम्पनीले दिएको छ । निजगढलाई एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा घोषणा गरी भिभिआइपी र भिआइपीबाहेक सबै व्यावसायिक उडान निजगढबाट गर्नुपर्ने उसको प्रस्ताव छ । सरकारले लगानीको वातावरण सिर्जना गर्न हवाईनीति परिमार्जन गर्नुपर्ने कम्पनीले बताएको छ ।
पहिलो चरणमा विमानको चाप ३४ सय र पूर्ण क्षमतामा आएपछि ४ लाख हुने कम्पनीको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कार्गो पहिलो चरणमा ५० हजार टन र पूर्ण क्षमतामा ६ लाख टन हुने कम्पनीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । पहिलो चरणमा विमानस्थल सिंगल रनवेयुक्त हुने र २४सै घन्टा सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार ३ हजार ६ सय मिटरमा दुई छुट्टाछुट्टै रनवे सञ्चालनमा आउनेछन् । अन्तर्राष्ट्रियका लागि १५ र आन्तरिकका लागि ४ वटा एप्रोन रहने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलमा ३४ चेकइन काउन्टर, ६ वटा सुरक्षा जा“चस्थल, ३५ अध्यागमन काउन्टर र ८ वटा भन्सार निरीक्षण केन्द्र हुनेछन् ।
‘विमानस्थलमा कार्गो कम्प्लेक्स, हवाई इन्धन भर्ने स्थान, एयरक्राफ्ट मर्मत केन्द्रजस्ता सुविधा हुनेछन्,’ प्रतिवेदनमा उल्लेख छ । विमानस्थलमा सिसिटिभी, एक्स–रेलगायतका आधुनिक सूचना प्रविधि जडान हुने कम्पनीले बताएको छ । प्यासेन्जर टर्मिनलअगाडि स्तरीय होटल तथा सुपरमार्केट हुनेछन् । प्रस्तावित विमानस्थल काठमाडौंबाट ८० किलोमिटर टाढा पर्छ ।
एलएमडब्ल्यूका वरिष्ठ सहायक अध्यक्ष सियुङ ह्युङ लीले आइतबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सम्भाव्यता अध्ययन समिति संयोजक रन्जनकृष्ण अर्याललाई सो प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदन ग्रहण गर्दै संयोजक अर्यालले प्रतिवेदन अध्ययन गरी बुट कमिटीमा पठाइने जानकारी दिए । प्रतिवेदन सम्झौताको सर्तअनुसार छ कि छैन हेरेर बुट कमिटीमा पठाउने पनि अर्यालले बताए ।
एलएमडब्ल्यूका लीले विमानस्थल कम्पनीका लागि महवाकांक्षी परियोजना भएको भन्दै नेपालमा लगानी गर्न इच्छुक भएर कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएको बताए । एलएमडब्ल्यू २००७ मा नेपाल आएको हो । यहा“ आएदेखि नै कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएको कम्पनीका नेपाल प्रतिनिधि विनय रावलले बताए । सम्भाव्यता अध्ययनपछि विमानस्थल निर्माणका लागि पनि एलएमडब्ल्यू इच्छुक देखिएको बताइएको छ ।
पर्यटन मन्त्रालयका सचिव किशोर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता उत्कर्षमा पुग्न लागिसकेकाले दोस्रो विमानस्थल अपरिहार्य भइसकेको बताए । टिआइए आइकाओको स्तरअनुसार नभएकोले दोस्रो विमानस्थलले यी कुरा पूरा गर्नुपर्नेमा उनले जोड दिए । दोस्रो विमानस्थल नेपालका लागि महŒवपूर्ण कोसेढुंगा भएको बताए ।
सन् २०११ भित्र अन्तिम सम्झौता भए २०१५ को अन्त्यसम्ममा पहिलो चरणको विमानस्थल सञ्चालन हुने कम्पनीले बताएको छ । विमानस्थल सञ्चालन हुनु ६ महिनाअघि निजगढदेखि काठमाडौंसम्म चार लेनको फास्ट ट्रयाक बनाइसक्नुपर्ने सर्त छ । सचिव थापाले एक घन्टा दूरीको हुने ट्रयाक निर्माण सरकारको प्राथमिकतामा रहेको जानकारी दि“दै विमानस्थल र फास्ट ट्रयाकले मुलुकमा आर्थिक क्रान्ति हुने विश्वास व्यक्त गरे । भौतिक योजना तथा निर्माण मन्त्रालयले फास्ट ट्रयाकको काम भइरहेकोले समयमै सकिने भन्दै एसियालीस्तरको चार लेनको ट्रयाक तयार हुने सार्वजनिक सूचना निकालेको छ । मन्त्रालयले ४ वर्षमा फास्ट ट्रयाकको काम सक्ने प्रतिबद्धता गरे पनि उसको कामबाट पर्यटन मन्त्रालय र एलएमडब्ल्यू भने सन्तुष्ट छैनन् । ‘फास्ट ट्रयाक ढिलो हुनासाथ योजना पनि पछि सर्छ,’ अर्यालले भने । फास्ट ट्रयाक निर्माण विमानस्थलका लागि पूर्वसर्त हो ।
सम्भाव्यता अध्ययनपछि निर्माण र सञ्चालनको जिम्मा कसलाई दिने भन्ने निर्णय बुट कमिटीको सिफारिसमा सरकारले गर्ने कानुनी प्रावधान छ । अध्ययनपछि निर्माणको जिम्मा कसलाई दिने भन्ने कुरामा कानुन खुला रहेको अर्यालले बताए । ‘जसले अध्ययन गरेको हो उसैलाई निर्माणको अनुमति दिने अन्तर्राष्ट्रिय अभ्यास भएकोले प्रस्ताव आह्वान नगरी सीधै एलएमडब्ल्यूलाई दिन सकिन्छ,’ उनले भने । एलएमडब्ल्यूले प्रत्यक्ष वार्ता गरेर आफूलाई दिनुपर्ने माग कम्पनीको छ । सम्झौताअनुसार जग्गा व्यवस्थापनको जिम्मा सरकारको हो । सो क्षेत्रमा रहेका १२ सय ८६ परिवार व्यवस्थित गर्न समिति गठन भएको अर्यालले जानकारी दिए ।

No comments:

Post a Comment