Wednesday, July 20, 2011

होटल खोल्ने भनेर क्यासिनो सञ्चालन


मलेसियन कम्पनी 'एसियन रिजोर्ट एन्ड क्यासिनोज प्रालि’ को सहायक कम्पनी एसियन रिसोर्ट एन्ड टुरिजम र होटल हायात व्यवस्थापनसँग क्यासिनो तारा सञ्चालन सम्झौता

नयाँ पत्रिका

काठमाडौं, ३ साउन

सरकारबाट होटल तथा रिसोर्ट सञ्चालन गर्ने अनुमति लिएको सिंगापुरको १ कम्पनीले पाँचतारे होटलसँग क्यासिनो सञ्चालनको सम्झौता गरेको छ । मलेसियन कम्पनी 'एसियन रिजोर्ट एन्ड क्यासिनोज प्रालि'को सहायक कम्पनीको रूपमा नेपालमा स्थापना भएको 'एसियन रिसोर्ट एन्ड टुरिजम'ले सरकारलाई कुनै जानकारी नदिई होटल हायात व्यवस्थापनसँग क्यासिनो तारा सञ्चालनको सम्झौता गरेको हो ।

एसियन रिसोर्ट एन्ड टुरिजमले रिसोर्ट होटल र रेस्टुरेन्ट सञ्चालनका लागि गत वर्षको भदौमा कम्पनी दर्ता र विदेशी लगानीको स्वीकृति पाएको थियो । स्रोतका अनुसार नयाँ सञ्चालकले होटलसँगको सम्झौतापछि १ जुलाईदेखि नै क्यासिनो सञ्चालन गरिरहेको छ । कम्पनीले अन्य क्यासिनो पनि सञ्चालन गर्न चासो देखाएको छ । होटल सोल्टीको क्यासिनो नेपाल र एभरेस्टको क्यासिनो एभरेस्टबाहेक सबै क्यासिनोमा नयाँ सञ्चालक आइसकेका छन् ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्योग जोरपाटी काठमाडौंमा रहने तथा कम्पनीको १ मात्र उद्देश्य रिजोर्ट, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने उल्लेख छ । अन्य क्यासिनो सञ्चालकले भने कम्पनी दर्ता गर्दा मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य उल्लेख गरेर क्यासिनो सञ्चालन गर्ने गरेका छन् । तर, एसियन रिसोर्ट एन्ड टुरिजम्ले रिसोर्ट होटल, रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति लिएर उद्देश्य विपरीत क्यासिनो सञ्चालनका लागि हायात होटल व्यवस्थापनसँग सम्झौता गरेको हो ।

कम्पनीले होटल व्यवस्थापनसँग क्यासिनो सञ्चालनको सम्झौता गरिसकेको भए पनि यसको जानकारी सरोकारवाला पर्यटन मन्त्रालयलाई भने हालसम्म दिएको छैन । मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव रञ्जनकृष्ण अर्यालले नयाँ सञ्चालकलाई क्यासिनो सञ्चालनको सम्झौता गरेमा होटल व्यवस्थापनले तत्काल मन्त्रालयलाई जानकारी गराउनुपर्ने व्यवस्था भए पनि हायातले हालसम्म कुनै जानकारी नगराएको बताए ।

कम्पनीले उद्योग विभागबाट वैदेशिक लगानीको समेत स्वीकृति लिएको छ । विभागले कम्पनीलाई दिएको वैदेशिक लगानीको स्वीकृतिपत्रमा सतप्रतिशत लगानी विदेशी हुने उल्लेख छ । सिंगापुरमा सन् २००९ मा दर्ता भएको एसियन रिसोर्ट एन्ड क्यासिनो प्रालीले नेपालका लागि नायला विष्टलाईर् कम्पनीको अख्तियार प्राप्त व्यक्ति तोकेको छ । उनी महासेनानी डा. यादव विष्टकी पत्नी हुन् । डा. यादव एसियन रिसोर्ट एन्ड टुरिजम कम्पनी नेपालमा दर्ता गर्दा श्रीमती नायलाको साक्षी बसेका छन् ।

कम्पनीले विभागमा प्रस्तुत गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा ५० कोठा तथा १ सय बेड क्षमताको होटल तथा २ सय सिट क्षमताको रेस्टुरेन्ट सञ्चालन गर्ने उल्लेख छ । उद्योग ३ सय ६५ दिन नै सञ्चालन हुने तथा १ सय ३६ जनाले रोजगारी पाउने दाबी कम्पनीले गरेको छ । तर, क्यासिनो सञ्चालनका विषयमा भने प्रतिवेदनमा केही उल्लेख छैन । होटल जोरपाटी गाविस- ७ मा स्थापना गरिने प्रतिवेदनमा उल्लेख छ । तर, कम्पनीले सञ्चालन गरेको क्यासिनो तारा काठमाडौं महानगर पालिका वडा नम्बर ६ मा पर्छ ।

कम्पनीले उद्देश्य विपरीत क्यासिनो सञ्चालनको सम्झौता गरेको भन्दै अधिवक्ता माधव गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । २३ असारमा दायर गरिएको रिटमा अधिवक्ता गौतमले कम्पनीका प्रबन्ध निर्देशक नायला विष्ट, डा. यादव विष्ट, हायात रिजेन्सी होटल, उद्योग मन्त्रालय, पर्यटन मन्त्रालय तथा कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाएका छन् । उद्योग विभागले कम्पनीलाई दिएको स्वीकृतिमा ३/३ महिनामा प्रगति विवरण पेस गर्नुपर्ने तथा १२ महिनाभित्र उद्योग स्थापना गरी सञ्चालन नगरेमा धरौटी जफत गरी स्वीकृतिपत्र खारेज हुने सर्त भए पनि कम्पनीले होटल स्थापनाका लागि कुनै भौतिक पूर्वाधारको थालनी नगरेको रिटमा छ ।

रिजोर्ट, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न इजाजत लिई कम्पनी स्थापना गरेको तर उद्देश्य अनुरूपको कुनै काम नगरेको दाबी रिटमा गरिएको छ । रिसोर्ट तथा होटल सञ्चालनको स्वीकृति लिएको कम्पनीले उद्देश्य र कार्यक्षेत्र बाहिर गई क्यासिनोसमेत सञ्चालन गर्न दिनु गैरकानुनी हुने जिकिर पनि रिटमा गरिएको छ । कम्पनीको कामलाई अवैध घोषणा गरी इजाजत विपरीत काम गर्ने गराउने सबैलाई कारबाही गर्न गराउन आदेशका लागि निवेदकले माग गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete