Thursday, July 7, 2011

तिब्बत प्रवेश रोकले पर्यटक प्रभावित
















काठमाडौं, २२ असार

नयाँ पत्रिका

नेपालस्थित चिनियाँ दूतावासले तिब्बत प्रवेशमा रोक लगाएपछि कैलाश मानसरोवर तथा तिब्बत घुम्न जाने धार्मिक पर्यटक प्रभावित भएका छन् । जुलाई १ तारिखमा मनाइएको चिनियाँ कम्युनिस्ट पार्टीको ९०औँ वर्षगाँठ तथा तिब्बती धर्मगुरु दलाई लामाको ७६औँ जन्मदिनलाई मध्यनजर गरेर दूतावासले तिब्बत प्रवेशमा रोक लगाएको हो ।
तिब्बत प्रवेशमा लामो समय रोक लागेपछि नेपालको पर्यटनमा नै नराम्रो असर परेको पर्यटन व्यवसायीले बताएका छन् । दूतावासले 'परमिट' जारी नगरेपछि टुर अपरेटरहरू मानसरोवर प्याकेज स्थगित गर्न बाध्य भएका छन् । कतिपयले प्याकेज नै रद्द गरेका छन् । कैलाश तथा मानसरोवरको प्याकेज बेच्ने दुई दर्जनभन्दा बढी टुर अपरेटर नाट्टामा आबद्ध छन्् ।
परमिट रोकिएपछि कैलाश मानसरोवरका सयौँ प्याकेज प्रभावित भएको व्यवसायीले बताएका छन् । कैलाश मानसरोवरका लागि मेदेखि अगस्टसम्म मुख्य सिजन हो । नाट्टाका अनुसार सिजनमा ५ हजारभन्दा बढी पर्यटक यो क्षेत्रको भ्रमणमा जाने गरेका छन् । कैलाश मानसरोवर जाने सबैभन्दा बढी पर्यटक भारतीय हुन् । मुख्य सिजनमा विना कुनै पूर्वसूचना 'परमिट' रोक्दा ठूलो घाटा भएको टुर अपरेटरले बताएका छन् । दूतावासको कदमबाट व्यवसायीको व्यापार मात्र नभएर नेपाल भएर तिब्बत जाने पर्यटक घट्ने भएकोले पर्यटन वर्षसमेत प्रभावित हुने दाबी उनीहरूको छ ।
तिब्बत जान भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि नेपाल उपयुक्त प्रस्थानबिन्दु हो । उनीहरू तिब्बतमा कैलाश पर्वत र मानसरोवर तालको भ्रमणका लागि जाने गर्छन् । मनसुन सिजनमा तिब्बतको प्याकेज बेचेर राम्रो आम्दानी गर्ने टुर अपरेटरले स्तरअनुसार १५ सयदेखि २ हजार डलरसम्ममा प्याकेज बेच्छन् ।
चिनियाँ दूतावासले कम्युनिस्ट पार्टीको वर्षगाँठभन्दा १० दिनअघि जुन २० देखि नै 'परमिट' रोकेको हो । वाषिर्कोत्सव कार्यक्रममा पार्टीका उच्च नेता सहभागी हुने भएकाले सुरक्षा जोखिम बढी महसुस गरेर 'परमिट' रोकिएको बताइएको छ । दलाई लामाको जन्मोत्सवलाई मध्यनजर गरेर सरकारले यो रोकलाई जुलाईको अन्त्यसम्म जारी राख्ने बताइएको छ ।
दूतावासले विनापूर्वसूचना लामो समय तिब्बत परमिटमा रोक लगाएको यो पहिलोपटक हो । गत वर्ष चीन सरकारले यस्तो रोक लगाएको थिएन । तिब्बत रोकका कारण राजधानीका तारे होटलको अकुपेन्सीसमेत घटेको छ । तिब्बतको प्याकेज बेच्ने टुर अपरेटरले कुटनीतिक तवरबाट समस्याको समाधान गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट मन्त्रालयमा आग्रह गरेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्डले पनि पर्यटन र परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि आग्रह गरेको छ ।
पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयमा परमिट खुल्ला गरिदिन आग्रह गरिएको बताए । दूतावाससँग पनि अनौपचारिक रूपमा कुराकानी भइरहेको उनले जानकारी दिए ।
नेपाली विमान कम्पनीलाई पनि चीन सरकारले कैलाश मानसरोवर क्षेत्रमा उडान भर्न हालसम्म अनुमति दिएको छैन । पर्यटन मन्त्रालयका अधिकारी र चिनियाँ पर्यटन अधिकारीबीच उडान अनुमति दिन सकिने सहमति भए पनि चिनियाँ पक्षले चासो नदिएका कारण अनुमतिमा ढिलाइ भएको हो । मन्त्रालयले दुई महिनाअघि नै उडान अनुमतिका लागि अनुरोधपत्र पठाइसकेको भए पनि हालसम्म जवाफ आएको छैन ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete