Saturday, July 2, 2011

पर्यटक आगमन बढ्दो


image

पर्यटन वर्षको ६ महिना

काठमाडौं, १७ असार : पर्यटन वर्षका रूपमा घोषणा गरिएको सन् २०११ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा हवाईमार्गबाट आउने पर्यटक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढेका छन् ।

यो अवधिमा २ लाख ४५ हजार ३ सय ६३ विदेशी पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१० को पहिलो ६ महिनामा यो संख्या १ लाख ९६ हजार ३ सय १९ थियो । यो वर्षको संख्या गत वर्षको भन्दा करिब ५० हजारले बढी हो ।

पर्यटन वर्ष २०११ भरिमा सात लाख पर्यटक हवाईमार्गबाट भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिना बितिसक्दा करिब एक तिहाई पर्यटक मात्र नेपाल आएका छन् । लक्ष्य पूरा हुन अझै ४ लाख ५४ हजार ६ सय ३७ पर्यटक हवाईमार्गबाट नेपाल आउनुपर्नेछ ।

पर्यटन वर्षमा मुख्य बजार भारतबाट २ लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा ६ महिनाको अवधिमा ७५ हजार ३ सय ७३ पर्यटक आएका छन् । लक्ष्य पूरा हुन भारतबाट अझै १ लाख ७५ हजार पर्यटक आउनुपर्ने देखिन्छ । त्यस्तै चीनबाट ५४ हजार पर्यटक हवाईमार्गबाट भित्र्याउने लक्ष्य लिइएकोमा हालसम्म १७ हजार मात्र आएका छन् । यद्यपि चिनियाँ पर्यटकको संख्या महिनैपिच्छे बढ्दो क्रममा छ ।

६ महिनाको पर्यटक आगमनलाई सकारात्मक भन्दै व्यवसायीहरूले सिजन सुरु नभएकाले पर्यटन वर्षको लक्ष्यनजिक पुगिने बताएका छन् । नेपालको पर्यटकीय सिजन सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर हो । पर्यटन वर्षमा ७ लाख हवाईमार्गबाट र ३ लाख स्थलमार्गबाट पर्यटक भित्र्याउने सरकारी अभियानको लक्ष्य छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक भने हरेक महिना उपलब्ध हुँदैन । हरेक महिना तथ्यांक उपलब्ध गराउने प्रयास भइरहेको भए पनि भौगोलिक विकटता तथा स्रोतसाधनको अभावका कारण नसकिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

पर्यटन वर्ष सचिवालयले सरकारी प्रक्रियाका कारण पर्यटन वर्षका कार्यक्रम प्रभावित भएकाले पहिलो ६ महिनामा अपेक्षाकृत रूपमा काम हुन नसकेको बताएको छ । हालसम्मका उपलब्धिलाई 'सन्तोषजनक' भन्दै सचिवालयले सरकार-निजी क्षेत्र सहकार्य भए अभियान सफल हुने दाबी गरेको छ ।

पर्यटन वर्षको अवसरमा ६ महिनाको अवधिमा नेपालमा केही ठूला अन्तर्राष्ट्रियस्तरका कार्यक्रम भएका छन् । ब्रायन एडम्सको कन्सर्ट, अन्तर्राष्ट्रिय क्यानोनिङ प्रतियोगिता, कैलाश खेरको कन्सर्ट, तेन्जिङ हिलारी म्याराथन, अन्नपूर्ण म्याराथन आदि यो अवधिमा भएका केही महत्त्वपूर्ण कार्यक्रम हुन् ।

बजेट ६ महिना ढिलो आएको र खर्च गर्ने प्रक्रिया निर्धारण गर्न नै ढिलो भएका कारण अपेक्षाकृत रूपमा काम गर्न नसकिएको अधिकारीहरू बताउँछन् । पर्यटन वर्षका लागि चालू आर्थिक वर्षमा २३ करोड रुपैयाँ छुट्याइएकोमा १० करोड निकासा भएको र त्यसमध्ये ७ करोड खर्च भइसकेको सचिवालयले जनाएको छ । सरकारले अक्टोबर २००८ मा २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । यसको औपचारिक उद्घाटन भने १४ जनवरीमा राष्ट्रपति रामवरण यादवले गरेका हुन् ।

जुनमा ४० प्रतिशत बढे

यस वर्षको जनवरीदेखि नै बढिरहेको पर्यटक आगमन छैटौँ महिना जुनमा पनि जारी रहेको छ । अन्तर्राष्ट्रिय पर्यटक आगमन जुन महिनामा पनि उल्लेख्य बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जुन महिनामा ३७ हजार २ सय २६ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको जुन महिनाको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत वर्षको जुनमा २६ हजार ९ सय ९७ पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएका थिए ।

जुन महिनामा सबै क्षेत्रका पर्यटक बढेका छन् । दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक यो महिना ५२.४ प्रतिशतले बढेका छन् । मुख्य बजार भारतबाट आउने पर्यटक गत वर्षको जुन महिनाको तुलनामाा ५९.३ प्रतिशतले बढेका छन् । सो महिनामा १२ हजार ९ सय ८९ भारतीय पर्यटक हवाईमार्ग हँुदै नेपाल आएकोमा यस वर्षको जुन महिनामा यो संख्या २० हजार ६ सय ९७ पुगेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरिँदैन ।

अन्य दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक क्रमशः २३ र ४६.५ प्रतिशतले बढेका छन् । बंगलादेशबाट आउने पर्यटक भने गत वर्षको जुन महिनाको तुलनामा केही घटेका छन् ।

दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकको वृद्धिदर पनि सकारात्मक छ । समग्रमा एसियाली मुलुकबाट आउने पर्यटक जुन महिनामा ३२ प्रतिशतले बढेका छन् ।

चिनियाँ पर्यटक दोब्बर बढेका छन् । गत वर्षको जुन महिनामा ८ सय ४० चिनियाँ पर्यटक नेपाल आएकोमा यो वर्षको जुनमा यो संख्या १७ सय २५ पुगेको छ । त्यस्तै जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटक पनि जुन महिनामा बढेका छन् । यद्यपि सिंगापुरबाट आउने पर्यटक भने यो महिना केही घटेका छन् ।

युरोपियन बजारतर्फ समग्रमा ११ प्रतिशतको वृद्धि देखिएको छ । युरोपको मुख्य बजार बेलायत, प|mान्स, जर्मनी, इटली, स्विट्जरल्यान्ड र रसियाबाट आउने पर्यटक क्रमशः १२, ११, २८.६, ३५, १८, ३५ र ४७ प्रतिशतले बढेका छन् । नेदरल्यान्ड, स्पेन, स्विडेन र पोल्यान्डका पर्यटक भने केही घटेका छन् ।

अस्टे्रलिया र न्युजिल्यान्डबाट आउने पर्यटक क्रमशः ३९ र १७० प्रतिशतले बढेका छन् । त्यस्तै अमेरिकी पर्यटक २४.३ प्रतिशतले बढेका छन् । क्यानाडेली पर्यटक भने ४ प्रतिशतले घटेका छन् ।

जुन महिनामा ४४ हजार ६ सय ३५ विदेशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् भने ६७ हजार ९ सय ८ नेपाली स्वदेश भित्रिएका छन् । त्यस्तै ५० हजार ६ सय ७१ नेपाली विदेश गएका छन्

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete