Friday, July 8, 2011

मसाजमा पनि आचारसंहिता


मसाज गर्ने व्यक्तिले सर्ट, पाइन्ट वा पाइजामा तथा बाहिर नीलो वा सेतो रङको एप्रोन अनिवार्य लगाउनुपर्ने

मसाज गर्ने कोठाको ढोका खुला र पारदर्शी हुनुपर्ने

मदिरा र धूमपान निषेध गर्नुपर्ने

पर्दा र बेडकभर सेतो हुनुपर्ने

सेवाग्राहीलाई उत्तेजित हुने काम गर्न नपाइने

बिहान १० देखि राति ८ बजेसम्म मात्र सेवा दिनुपर्ने


नयाँ पत्रिका

काठमाडौं, २३ असार

राजधानीको मुख्य पर्यटकीय बजार ठमेलमा कार्यरत मसाज व्यवसायीले मसाज व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आचारसंहिता लागू गरेका छन् । मसाज व्यवसायी, ठमेल पर्यटन विकास परिषद्, स्थानीय तहका पार्टी नेता, प्रहरी तथा अन्य सरोकारवालाको भेलाले आचारसंहिता पारित गरेको हो ।
'मसाज व्यवसाय मर्यादित बनाउने, दक्ष कामदार उत्पादन गर्ने तथा सबैलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आचारसंहिता लागू गर्न लागिएको हो,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले भने । आइतबार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि आचारसंहिता लागू हुने उनले जानकारी दिए । परिषद्ले गृहमन्त्री कृष्णबहादुर महरालाई आचारसंहिता हस्तान्तरण गर्ने बताइएको छ ।
आचारसंहिता लागू भएपछि मसाज सेन्टर दर्ता र नवीकरण खोलिने १६ नम्बर वडा कार्यालयका सचिव सुमन अधिकारीले जानकारी दिए । आचारसंहिता लागू गर्न पुसदेखि कार्यालयले मसाज सेन्टर दर्ता र नवीकरण रोकेको थियो । मसाज व्यवासायी संघका अध्यक्ष केबी लामाले सानाठूला सबै मसाज सेन्टरमा आचारसंहिता लागू हुने र पालन नगर्नेमाथि कारबाही गरिने बताए । 'मसाज र यौन व्यवसाय फरक हो । मसाजका नाममा यौन व्यवसाय रोक्ने संघको उद्देश्य हो,' लामाले भने ।
आचारसंहिता अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्देशक समिति र परिषद् अध्यक्षको संयोजकत्वमा १२ सदस्यीय अनुगमन समिति गठन गर्न सरोकारवाला सहमत भएका छन् । समितिले जुनसुकै समयमा मसाज सेन्टर अनुगमन गर्न सक्नेछ ।
परिषद्, प्रहरी, मसाज व्यवसायी संघ र महानगरपालिकाले चार महिना लगाएर तयार पारेको आचारसंहितामा सबै व्यवसायी सहमत भएको दाबी संघका अध्यक्ष लामाको छ । 'आचारसंहिता नमान्ने व्यवसाय गैरकानुनी रूपमा सञ्चालित छन्,' लामाले भने । ठमेलमा करिब २ सय मसाज सेन्टर सञ्चालनमा रहेको बताइए पनि ७५ मात्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा दर्ता छन् ।
प्रहरीको सक्रियताका कारण वेलावेलामा सिथिल हुने व्यवसाय हाल पुनः ठमेलमा विस्तारित भएको छ । नयाँ आउने प्रहरी अधिकृतले काम देखाउन छापा मारेजस्तो गरे पनि आफूहरूबाटै पैसा असुली चुप लाग्ने गरेको गुनासो व्यवसायीको गुनासो छ । तर, हालै सोहखुट्टे प्रहरी प्रभाग प्रमुख भई आएका प्रहरी निरीक्षक दानबहादुर लामा मसाज व्यवसायीबाट पैसा नअसुल्ने दाबी गर्छन् । 'पहिले सबैको विस्तृत जानकारी लिन्छु र मुख्य ठाउँमै प्रहार गर्छु । कानुनविपरीत विनादर्ता सञ्चालित सबै मसाज सेन्टर बन्द हुन्छन्,' लामाले भने । कुनै मसाज व्यवसायीसग 'बार्गेनिङ' नगर्ने र कसैले गरे तुरुन्त कारबाही गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । आचारसंहिता कार्यान्वयनमा प्रहरीले पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
'मसाज व्यवसायी र सो पेसामा आबद्ध पेसाकर्मीले पालना गर्नुपर्ने आचारसंहिता ०६८' नामक संहितामा मसाज गर्ने व्यक्तिले सर्ट, पाइन्ट वा पाइजामा तथा बाहिर नीलो वा सेतो रङको एप्रोन अनिवार्य लगाउनुपर्ने, मसाज गर्ने कोठाको ढोका खुला र पारदर्शी हुनुपर्ने, मदिरा र धूमपान निषेध गर्नुपर्ने, पर्दा र बेडकभर सेतो हुनुपर्ने, सेवाग्राहीलाई उत्तेजित हुने काम गर्न नपाइनेजस्ता प्रावधान छन् ।
त्यस्तै, मसाज गर्ने व्यक्ति १८ वर्ष उमेर पुगेको हुनुपर्ने, मूल्यसूची टाँस्नुपर्ने र बिहान १० देखि राति ८ बजेसम्म मात्र सेवा दिनुपर्ने आचारसंहितामा उल्लेख छ ।
आचारसंहिता लागू भएपछि त्यसको आडमा यौनधन्दा चलाइरहेका कतिपयले व्यवसाय शैलीमा परिवर्तन गर्न थालिसकेको बताइएको छ । धेरैले मसाज पार्लरलाई सम्पर्क थलोका रूपमा प्रयोग गरी वरिपरीका सुरक्षति होटेल, लज तथा गेस्टहाउसमा यौनकर्मीलाई ग्राहकसँग पठाउने गरेका थिए । 'ठमेलका धेरै कुरा व्यवस्थित छन् र धेरै कुरा अव्यवस्थित पनि । बाहिर एउटा बोर्ड राखेर भित्र अर्कै काम हुने प्रवृत्ति अव अन्त्य हुन्छ,' श्रेष्ठले भने । कतिपय व्यवसायी आचारसंहिता लागू भएपछि ग्राहक नआउने भएकाले कोठाभाडासमेत तिर्न नसक्ने गुनासो गरेका छन् ।
०४७ देखि ठमेलको विकासका लागि क्रियाशील परिषद्ले हाल ठमेलमा सिसिटिभी राख्ने, वाइफाई जडान गर्ने तथा फोहोर व्यवस्थापन कार्य गर्दै आएको छ । 'ठमेललाई नमुना पर्यटकीय स्थल बनाउने हाम्रो उद्देश्य हो,' उनले भने । नेपाल भित्रिने पर्यटकमध्ये करिब ८० प्रतिशत ठमेल आउने गरेको परिषद्ले जनाएको छ । तीमध्ये ६० प्रतिशत ठमेल क्षेत्रका गेस्टहाउस, लज र होटेलमा बस्ने गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete