Sunday, July 10, 2011

जागिरको प्रलोभनमा भारतीय इन्जिनियर ठगिए


काठमाडौं, २५ असार
नवराज मैनाली/नयाँ पत्रिका
आकर्षक तलबसहित नेपाल वायुसेवा निगममको इन्जिनियर पदमा जागिर पाउने प्रलोभनमा परेर दुई लाख भारु तिरेका भारतीय इन्जिनियरहरू ठगको फन्दामा परेका छन् । जागिर खान नियुक्तिपत्र बोकेर शुक्रबार त्रिभुवन विमानस्थल पुगेपछि आठजना भारतीय इन्जिनियर ठगिएको खुलेको हो ।
भारतीय इन्जिनियरहरू २२ हजार पाँच सय भारु र खाने, बस्ने सुविधासहितको नियुक्तिपत्र लिएर शुक्रबार विमानस्थल पुगेका थिए । तर, छानबिनका क्रममा नियुक्तिपत्र नक्कली भएको खुलेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणको क्रममा उनीहरू ठगिएको खुलेपछि प्रहरीले रिहा गरिदिएको छ । महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी निरीक्षक कवित कटवालका अनुसार राजु पहाडी र ओमप्रकाश यादव नामका दुई व्यक्तिले उनीहरूलाई ठगेका हुन् । दुवै ठग फरार छन् ।
ठगिनेमा भारतको उडिसाका आशितोष राउत तथा आन्द्र प्रदेशका सुरेश गोयनलगायत इन्जिनियर छन् । उनीहरूलाई एयरक्याफ्ट तथा मेन्टिनेन्स इन्जिनियरमा जागिरको नियुक्तिपत्र थमाएर नेपाल बोलाइएको थियो । उनीहरू भारतको जागिर छोडेर आकर्षक तलबको लोभमा नेपाल आएका थिए । तर, नेपाल आएपछि ठगहरू मोबाइल अफ गरेर बेपत्ता भएको उनीहरूले बताएका छन् । निगमका इन्जिनियर डाइरेक्टर अच्युत पहाडीको नाममा हस्ताक्षर गरिएको उनीहरूले लिएको नियुक्तिपत्रमा खाने, बस्नेसहितको सुविधा रहेको उल्लेख छ ।

ठगी गर्नेमध्ये पहाडीले आफूलाई निगमको निर्देशक भएको बताउँदै इन्जिनियरहरूलाई जागिर लगाइदिने प्रस्ताव गरेका थिए । यादवले उनीहरूसँग पैसा लिएका थिए । प्रत्येकबाट उनीहरूले दुई लाख भारुका दरले असुलेको प्रहरी अनुसन्धानमा खुलेको छ । नियुक्तिपत्रहरू लिएर प्रहरीले ठगहरूको खोजी सुरु गरेको छ । ठगहरूको कलडिटेलको आधारमा अनुसन्धान सुरु गरिएको जनसेवा प्रभागका प्रहरी निरीक्षक कटवालले बताए । नियुक्तिपत्रको ढाँचा पनि निगमको सक्कली नियुक्तिपत्र जस्तै रहेकाले ठगीमा निगमकै कर्मचारीको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । निगमका प्रवक्ता ओबी गुरुङले घटनाको विषयमा राम्रोसँग अनुसन्धान गरिने बताए ।
उनका अनुसार निगममा विदेशी इन्जिनियरहरूलाई नियुक्ति दिने प्रावधान छैन । जागिर खान नेपाल आएका भारतीय इन्जिनियरहरूलाई एयरपोर्टको प्रवेश पास नेपाल नागरिक उड््डयन प्राधिकरणबाट लिन भनिएको थियो । निगममा बुझ्दैनबुझी बाहिरी व्यक्तिको भरमा जागिरको प्रलोभनमा पैसा बुझाउनु भारतीय इन्जिनियरहरूको कमजोरी रहेको पनि प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment