Tuesday, January 3, 2012

नेपालमा अन्तराष्ट्रिय स्तरको हवाइ सेवा उपलब्ध छ

रामप्रसाद न्यौपाने, महानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण


नेपालमा एयर टाफिकको अवस्था कस्तो छ ?

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले प्रकाशित गरेको हवाई ट्राफिक प्रक्षेपण अनुसार सन् २०११ मा हवाई यात्रु आवागमन विश्व व्यापी रुपमा  ५.३ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको थियो । एशिया–प्रशान्त क्षेत्रमा सन् २०११ मा ७.९ प्रतिशतले हवाई यात्रु बृद्धि हुने आइकाओ को प्रक्षेपण रहेको छ । नेपालमा बर्ष २०११ लाई पर्यटन बर्ष घोषणा गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल नभएता पनि सन् २०११ म नेपालको पर्यटन इतिहासमै सर्वाधिक पर्यटक आगमन भएको तथ्यांकहरुले पुष्टि गरिसकेका छन्, यसलाई हामी सबैले उत्साहप्रद नै मान्नुपर्दछ ।

समग्र हवाई यात्रु आवागमनको स्थिती हेर्दा नेपालमा सन् २००९ को तुलनामा सन् २०१० मा अन्तर्राष्ट्रिय हवाई सेवा तर्फ हवाई यात्रु आवागमन २०.२ प्रतिशतले बढेको पाइन्छ भने वायुयान आवागमन २३.७ प्रतिशतले बृद्धि भएको देखिन्छ । कार्गो ढुवानी तर्फ भने यस अवधिमा ८.६ प्रतिशत ह्रास भएको पाइएको छ । यस बर्ष सन् २०११ म हामीसँग उपलब्ध तथ्यांक विश्लेषण गर्दा सन् २०१० को पहिलो दश महिनाको तुलनामा सन् २०११ को यो दश महिनामा हवाई यात्रु तर्फ १०.२२ प्रतिशत बृद्धि भएको छ । यस अवधिमा वायुयान आवागमन तर्फ १४.७८ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कार्गो आवागमन तर्फ केही न्यूनता आएको देखिन्छ ।

आन्तरिक हवाइ यातायातको स्थिति चाहिं नी ?

आन्तरिक हवाई यातायात तर्फ त्रि.अ.वि.मा यस बर्षको पहिलो १० महिनामा सन् २०१० को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमन तर्फ ३.८० प्रतिशत र वायुयान आवागमन तर्फ १.३६ प्रतिशत बृद्धि भएको पाइन्छ । अर्थात सन् २०११ को  पहिलो १० महिना अर्थात अक्टोवर सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव २२ लाख अन्तराष्ट्रिय उडानका हवाई यात्रु र १३ लाख भन्दा बढी आन्तरिक उडानका हवाई यात्रु ओसार पसार भएको देखिन्छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई ट्राफिक आवागमन स्थिती अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विश्वव्यापी तथा एशिया प्रशान्त क्षेत्रको लागि प्रक्षेपण गरेको बृद्धिदर भन्दा नेपालको बृद्धिदर उल्लेखनीय रुपमा बढी छ ।

प्राधिकरणको आर्थिक अवस्था मजबुद नै छ  ?

प्राधिकरणको आ.व. २०६६/६७ सम्मको महालेखापरीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण कार्य सम्पन्न भइसकेको छ । महालेखापरीक्षकको कार्यालयबाट गत आ.व. २०६७/२०६८ को लेखापरिक्षण को कार्य जारी रहेको छ । प्राधिकरणको आय व्ययको विवरण तर्फ दृष्टि दिंदा आ.व. २०६६/६७ मा आम्दानी तर्फ शुरु अनुमान रु २ अर्ब ३१ करोड २३ लाख भएकोमा यथार्थमा रु २ अर्व ४२ करोड १९ लाख आम्दानी भई अनुमान भन्दा ४.७४ प्रतिशत बढी लक्ष्य हासिल भएको छ । त्यस्तै गत आ.व. २०६७/६८ मा आम्दानी रु ३ अर्ब १४ लाख अनुमान गरिएकोमा यथार्थमा ११ महिनाको वास्तविक र १ महिनाको अनुमानित लिंदा रु २ अर्ब ५४ करोड ४८ लाख रहेको छ जुन यथार्थ भन्दा १५.२२ प्रतिशतले न्यून रहेता पनि  अघिल्लो आर्थिक बर्षको तुलनामा ५.०७ प्रतिशतले बढेको देखिन्छ । प्राधिकरणले आ.व.२०६८/६९ का लागि रु ३ अर्ब २० करोड ४ लाख आम्दानी अनुमान गरेको छ । यो प्रक्षेपण आ.व. २०६८/६८ को यथार्थ आम्दानीको तुलनामा २५.७६ प्रतिशतले बढी रहेको छ । हवाई यातायात सेवा विस्तृत हुँदै गइरहेको तथा परिवर्तित यात्रु सेवा शुल्कको सन्दर्भमा लक्षित आय प्रक्षेपण पूर्ति हुने अनुमान गरिएको छ । 
प्राधिकरणको व्यय तर्फ आ.व. २०६६/६७ मा आन्तरिक श्रोत तर्फ रु ५ अर्ब २५ करोड ७३ लाख र नेपाल सरकारबाट विभिन्न विमानस्थल सुधारको लागि शेयर लगानी वापत रु १ अर्ब २५ करोड ८४ लाख गरी जम्मा रु ६ अर्ब ५१ करोड ५७ लाख संशोधित व्यय अनुमान गरिएकोमा संचालन खर्च र पुँजिगत खर्च गरी यथार्थमा रु ३ अर्ब ६२ करोड ४२ लाख खर्च भएको देखिन्छ । आ.व. २०६७/६८ मा प्राधिकरणको संशोधित व्यय अनुमान रु ४ अर्ब ८४ करोड ५ लाख रहेकोमा केन्द्रीय अभिलेख अनुसार रु २ अर्ब ९६ करोड ४० लाख बजेट निकासा भएको र २०६८ को प्रारम्भिक बैंक मौज्दातलाई दृष्टिगत गर्दा रु २ अर्ब ७५ करोडको हाराहारीमा खर्च हुने देखिन्छ । चालु आर्थिक बर्ष २०६८/६९ को लागि प्रस्तावित कुल व्यय रु ४ अर्ब ९५ करोड ९७ लाख मध्ये पूँजिगत तर्फ रु ३ अर्ब ६ करोड ३४ लाख र कार्य संचालन तर्फ १ अर्ब ९० करोड ६३ लाख प्रस्ताव गरिएको छ । यस आ.ब.मा प्राधिकरणले ऋणको सावां र व्याज समेत गरी ९० करोड ८० लाख नेपाल सरकारलाई भुक्तानी गर्न बजेट व्यवस्था गरिएको छ ।

उडान सुरक्षाको स्थिति राम्रो छैन भनिन्छ नी, ?

नागरिक उड्डयनलाई सुरक्षित, स्तरीय र भरपर्दो तुल्याई दिगो विकास तर्पm अग्रसर रहनु प्राधिकरणको मूलभूत उद्देश्य हो । नागरिक उड्डयन उच्च प्रविधियुक्त, गतिशिल, पूजीमूलक, वहुआयामिक र अन्तर्राष्ट्रिय चरित्र बोकेको क्षेत्र भएकोले हाम्रा क्रियाकलापहरु पनि अन्तर्राष्ट्रिय मूल्य मान्यता, स्तर र मापदण्डसंग तालमेल राखी संचालन गर्नु पर्ने कुरामा दुइमत हुन सक्दैन । आइकाओ को आफ्ना सदस्य राष्ट्रहरुको उडान सुरक्षा स्थितिको निगरानी गर्ने विश्वव्यापी कार्यक्रम अन्तर्गत मे २००९ मा नेपालको उडान सुरक्षा अडिट सम्पन्न भएको थियो । उक्त अडिटबाट उडान सुरक्षासँग सम्बन्धित विशेष गरी प्रचलित नागरिक उड्डयन सम्बन्धि कानून, प्राधिकरणको संगठन स्वरुप, जनशक्ति विकास, उडान सुरक्षा निगरानी, लाइसेन्सिंग, सर्टिफिकेशन तथा अपरेसन्स सम्बन्धमा औंल्याएका निकर्षहरु हरुको निराकरणका लागि सुधारात्मक कार्य योजना बनाई आइकाओ मा प्रस्तुत गरिएको र सोही अनुरुप अल्पकालिन सुधार काय अधिकांश सम्पन्न भइसकेका र दीर्घकालिन सुधार कार्यका लागि तदारुकताका साथ कार्य भइरहेको छ ।

मुलुकको हवाई सेवाको स्थिति सन्तोषजनक नभएको गुनासो छ, कारण के हो ?

नेपालले व्दिपक्षीय हवाई सेवा संझौता गरेका मुलुकहरुको संख्या अहिले ३६ पुगेको छ । जस बमोजिम बार्षिक दुई तर्फी गरी ५७ लाख ६ सय ५६ हवाई सिट उपलब्ध भएको छ । तर हाल बार्षिक रुपमा २२ लाख २ हजार ३ सय ४ सिट उपलब्ध भएको छ । हाल संचालनमा रहेका वायुसेवाहरुले कुल उपलब्ध हवाई सिटको ३९ प्रतिशत सिट मात्र उपभोग गर्न सकेको अवस्था छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वटा स्वदेशी तथा २६ वटा विदेशी वायुसेवाहरु गरी कुल २८ वटा अन्तर्राष्ट्रिय वायुसेवाहरुले १४ मुलुकका २४ गन्तव्यमा उडान संचालन गरिरहेका छन् । 
प्राधिकरणबाट हालसम्म ६० वटा वायुसेवा कम्पनीहरुलाई अनुमती प्रदान गरिएकोमा जम्मा २६ वटा मात्र संचालनमा रहेका छन् । जसमा १० वटा फिक्स्ड विङ , ५ वटा रोटर विङ , १३ वटा एभिएसन स्पोर्टस र एउठा फ्लाइङ स्कुल  संचालनमा रहेका छन् । दुर्गम क्षेत्रमा हवाई सेवाको पहुँच बढाउन सिङगल इन्जिन वायुयान तथा हेलिकप्टरबाट यात्रु तथा कार्गो चार्टर सेवा संचालन गर्न दिने नीति अनुरुप हेलिकप्टर तथा फिक्ड वींग सिंगल इन्जिन जहाजहरुबाट देशका विभिन्न दुर्गम पहाडी भेगहरुमा यात्रु तथा कार्गो चार्टर सेवा संचालन भैरहेको छ ।  अहिले सम्म नेपालमा रजिष्टर्ड वायुयानको सख्या ९१ रहेकोमा ती मध्ये ६४ वायुयान मात्र चालु अवस्थामा रहेका छन् ।

No comments:

Post a Comment