Wednesday, January 4, 2012

पर्यटन बोर्ड सदस्यमा ५ नियुक्त

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ पुस
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रका ५ जना नियुक्त भएका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले मंगलबार मन्त्रिस्तरीय निर्णयबाट नया सदस्य नियुक्त गरेका हुन् ।
पर्यटन बोर्ड सदस्य नियुक्त हुनेहरूमा अमर बहादुर शाही, पम्फा धमला, फुर ग्याल्जेन शेर्पा, टीकाराम सापकोटा र श्यामसुन्दर कक्षपति छन् । रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक शाही सुदूरपश्चिमका पर्यटन व्यवसायी हुन् । डोटीका शाहीले ‘ग्रिन रारा क्लिन रारा’ नाराका साथ रारा र बर्दिया, कैलाली, खप्तडलगायत गन्तव्यको प्रवद्र्धन गरिरहेका छन् । त्यस्तै, यति एयरलाइन्ससगको सहकार्यमा ग्रिन फारवेस्ट नारासहित सुदूरपश्चिम क्षेत्रमा वृक्षारोपण गरिरहेका छन् । कम्पनीको एक वर्षमा १ लाख रूख रोप्ने लक्ष्य छ । रैका ट्राभल्स यति एयरलाइन्सको जिएसए हो ।
त्यस्तै, पम्फा धमला धादिङकी पर्यटन व्यवसायी हुन् । पर्वतारोहण क्षेत्रबाट नियुक्त भएका सोलुखुम्बुका शेर्पा ट्रेकिङ व्यवसायी हुन् । सापकोटा पोखरा पर्यटन परिषद्का अध्यक्ष हुन् भने होटल एसोसिएसनका महासचिव कक्षपति चेन रेस्टुरेन्ट नाङ्लो तथा कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टका सञ्चालक हुन् ।
सबै सदस्य ३ वर्षका लागि नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल संयोजक रहेको सिफारिस समितिले सोट्टो नेपालकी पूर्वअध्यक्ष श्वेता आचार्य, कास्कीका पर्यटन व्यवसायी डम्बरबहादुर केसी र मुगुका पर्यटन व्यवसायी राजु कार्कीसहित ८ व्यवसायीको नाम सिफारिस गरेको थियो । यसमध्ये मन्त्री विष्टले ५ जना नियुक्त गरेका हुन् । सबै क्षेत्र र तह मिलाएर समावेशी आधारमा सदस्य छनोट गरिएको समिति संयोजक अर्यालले बताए । उनीहरूले पेस गरेको योजना तथा पर्यटन क्षेत्रमा पु¥याएको योगदानका आधारमा सदस्य सिफारिस गरिएको उनले जानकारी दिए ।
सदस्य सिफारिसका लागि सहसचिव अर्यालको संयोजकत्वमा पुस पहिलो साता तीन सदस्यीय समिति गठन भएको थियो । समिति सदस्यहरूमा पर्यटन व्यवसायीहरू बोधराज भण्डारी र तिलक लामा छन् । समितिमा सरकारका एक प्रतिनिधि र २ पर्यटन विज्ञ रहने प्रावधान पर्यटन बोर्ड ऐनमा छ ।
पर्यटन बोर्डका तीनजना सञ्चालक समिति सदस्यहरू गणेश सिम्खडा, निमी शेर्पिनी र अग्नि क“डेलको पदावधि गत मंसिर १५ मा सकिएको थियो । उनीहरू तिनैजनाको शैक्षिक योग्यताबारे प्रश्न उठ्दै आएको थियो । पर्यटन बोर्ड सञ्चालक समितिमा ११ सदस्य रहन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहने समिति सदस्यमा अध्यागमन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहन्छन् । बाकी ५ सदस्य निजी क्षेत्रबाट नियुक्त हुन्छन् । सिइओ भने सञ्चालक समितिको सदस्यसचिव हुने प्रावधान छ ।
पर्यटनमन्त्री विष्टले कार्यकाल नसकिए पनि बोर्ड सदस्यहरू ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापालाई हटाएका छन् । उनीहरूको समयावधि २ बर्ष बाकी थियो । श्रेष्ठ र थापालाई माधवकुमार नेपाल सरकारका पर्यटनमन्त्री शरतसिंह भण्डारीले नियुक्त गरेका थिए ।
सञ्चालक समिति पूर्ण भएपछि लामो समयदेखि रिक्त बोर्ड कार्यकारी प्रमुख (सिइओ) छनोट प्रक्रिया पनि अघि बढ्ने भएको छ । कात्तिक दोस्रो सातादेखि रिक्त बोर्ड सिइओ छनोट प्रक्रिया तीन महिनाअघि नै सुरु भए पनि छनोट समितिकै संयोजक र सदस्यको म्याद सकिएपछि अन्योलमा परेको थियो । समितिलाई बोर्ड सञ्चालक समितिले १५ दिनभित्र तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको थियो । भदौ अन्तिम साता गठित समितिले असोज २ मा ३५ दिने सूचना जारी गरी दरखास्त मागेको थियो । १८ जनाको दरखास्त परेकामा पहिलो चरणमा १२ जना छानिएका छन् ।
मंसिर पहिलो साताभित्र नया सिइओ छनोट गर्ने समितिको दाबी थियो । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल प्रवद्र्धनका लागि रणनीति तथा कार्यक्रम बनाउने, नया पर्यटन गन्तव्य पहिचान र विकास गर्ने, सरकार र अन्य निकायसग समन्वय गर्ने, बार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नेलगायत जिम्मेवारी नया सिइओको हुनेछ ।
सिइओका लागि आवेदन दिनेमा बोर्डकै वरिष्ठ निर्देशकदेखि मन्त्रालयका सहसचिव, पर्यटन व्यवसायी तथा पर्यटन विद् छन् । बोर्ड सिइओका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरी पर्यटन क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । बोर्डको सिइओ पदाअवधि ४ बर्षको हुने र तलब तथा सुविधा वार्ताबाट तय गरिने पर्यटन बोर्ड नियमावलीमा उल्लेख छ ।

No comments:

Post a Comment