Tuesday, January 3, 2012

लक्ष्यभन्दा डेढ लाख कम पर्यटक

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १७ पुस

पर्यटन वर्ष २०११ मा सरकारले राखेको लक्ष्यभन्दा डेढ लाख कम पर्यटक नेपाल भित्रिएका छन् । सरकारले २०११ मा हवाइ मार्गबाट ७ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा ५ लाख ४४ हजार ९ सय ८५ पर्यटक भित्रिएका हुन् ।
यो संख्या गत बर्षभन्दा ९६ हजार २ सय १६ ले बढी हो । त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयलाइ उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार सन् २०११ को जनवरीदेखि डिसेम्बरसम्ममा गत बर्षको सोहि अवधिको तुलनामा हवाइ मार्गबाट २१.४ प्रतिशत बढि पर्यटक नेपाल आएका छन् । सन् २०१० मा हवाइ मार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक नेपाल आएका थिए ।
स्थलमार्गबाट भने नोभेम्बरसम्ममा १ लाख ७४ हजार ६ सय १२ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । तथ्यांकसहित नेपाल आउने पर्यटक संख्या ७ लाख १९ हजार ५ सय ४७ पुगेको बोर्डले जनाएको छ । त्यसमा डिसेम्बरमा स्थलमार्गबाट आएका पर्यटक तथ्यांक समावेश छैन । पर्यटन बर्षमा स्थल र हवाइ मार्गबाट १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो ।
२०११ मा भारतबाट २ लाख ६२ हजार ५ सय ८८ पर्यटक ल्याउने लक्ष्य राखिएकोमा १ लाख ४५ हजार ३ सय ३८ आएका छन् । त्यस्तै, चीनबाट ५४ हजार ६ सय ५१ को लक्ष्य राखिएकामा ४५ हजार ४ सय आएका छन् । श्रीलंकाबाट १० हजार ९ सय १४ को लक्ष्य  रहेकामा १९ सय २६ मात्र आएका छन् । 
२०११ मा दक्षिण एसियाली पर्यटक ३०.१ प्रतिशत बढेका छन् भने एसियाली पर्यटक ३२.२ प्रतिशतले बढेका छन् । यूरोपेली पर्यटक भने गत वर्षको तुलनामा ११.२ प्रतिशत बढी आएका छन् । २०११ को पर्यटक आगमन उत्सहजनक भन्दै सरकारी अधिकारी तथा पर्यटन व्यवसायीले पर्यटन बर्ष सफल भएको दाबी गरेका छन् । संख्यात्मक लक्ष्य पूर्णरुपमा हासिल हुन नसके पनि अभियानले नेपाली पर्यटन विकासका लागी महत्वपूर्ण भूमिका खेलेको भनाइ उनीहरुको छ । 
मुलुक    लक्ष्य    आगमन

भारत        २६२५८८    १४५३३८
चिन        ५४६५१       ४५४००
श्रीलंका    १०९१४        १९२६
वेलायत    ५५३४९     ३४५०२
अमेरिका    ४८०८८    ३७८३२
कोरिया    २०९६२    १७४९५
जापान   ३०१८३    २२००८
फ्रान्स    ३८०१८    २३४९५
जर्मनी    ३१४५८ २१९८०
इटली    १२४४७ १०२६७
स्पेन        १८१२७ १२४१६
अष्टेलिया    १९५९९ १६१०५
क्यानाडा ११०८९     १००६०

वर्षको अन्तिम महिना डिसेम्बरमा भने स्थलमार्गबाट ४३ हजार ७ सय २१ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको डिसेम्बरको तुलनामा २०.४ प्रतिशत बढी हो । गत वर्षको डिसेम्बरमा ३६ हजार ३ सय २३  पर्यटक आएका थिए ।
डिसेम्बरमा चिनिया“ १०७.७, जापानी ८.१ तथा दक्षिण कोरियाली पर्यटक १७.८ प्रतिशतले बढेको तथ्यांक छ । दक्षिण एसियाली मुलुकतर्फ भारतीय पर्यटक डिसेम्बरमा २६.१ प्रतिशत बढेका छन् । तर पाकिस्तानी, वंगलादेशी र श्रीलंकाली पर्यटक भने केहि घटेका छन् । समग्रमा दक्ष्णि एसियाली पर्यटक १३.३ प्रतिशत बढेको तथ्यांक छ ।

No comments:

Post a Comment