Friday, January 13, 2012

मोबाइल सेवा सुधार्न निर्देशन

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २८ पुस
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर कमजोर भएको भन्दै सेवा प्रदायक कम्पनीहरूलाई गुणस्तर सुधार्न निर्देशन दिएको छ । प्राधिकरणले सेवा सुधारका लागि ६ महिनाको समय दिएको हो ।
प्राधिकरणले गत जुलाई, अगस्ट र सेप्टेम्बरमा काठमाडौं उपत्यका तथा पोखरा, विराटनगर र नेपालगन्जमा गरेको सर्भेअनुसार मोबाइल सेवाको गुणस्तर कमजोर छ । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र युटिएलले प्रदान गरिरहेको मोबाइल सेवाको गुणस्तर मापन गरेको थियो । ‘बिजी आवर’ मा बढी समस्या रहेको गुनासो आएपछि सोही समयमा सर्भे गरिएको प्राधिकरणका उपनिर्देशक उदय राज रेग्मीले बताए । मोबाइल सेवाको गुणस्तर तुलनात्मक सुधार नभएको र अधिकांश स्थानमा सेवा नराम्रो रहेको सर्भेको निष्कर्ष छ । ‘उपभोक्ताको पक्षबाट हेर्दा त सेवा खराब नै छ,’ रेग्मीले भने ।
प्राधिकरण आफैंले नभई स्वतन्त्र परामर्शदातामार्फत सर्भे गरेको हो । ‘सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिस्टेसन’ (सेडा) मार्फत गुणस्तर सर्भे गरिएको प्राधिकरणका प्राविधिक निर्देशक आनन्दराज खनालले बताए । सेडाकै सहयोगमा प्राधिकरणले गुणस्तरसम्बन्धी कार्यविधिसमेत बनाएको छ । प्राधिकरणले पछिल्लोपटक ०६४ साल असारमा तयार गरेको मापदण्ड अहिले कायम छ ।
अनौपचारिक रूपमा पनि प्राधिकरणले बारम्बार गुणस्तर सुधार्न भनिरहेको र सेवा प्रदायकले सुधार्ने प्रतिबद्धता व्यक्त गर्ने गरेको निर्देशक खनालले बताए । ‘तर सेवा प्रदायकले आफ्नै प्रतिबद्धता पनि पूरा गरेका छैनन्,’ उनले भने । कम्पनीहरूले त्रैमासिक रूपमा गुणस्तरसम्बन्धी प्रतिवेदन प्राधिकरणलाई बुझाउनुपर्ने प्रावधान भए पनि कतिपयले नबुझाउने गरेको उनले बताए ।
पछिल्लो सर्भे नेटवर्कको क्षमता र उपभोक्ताको सन्तुष्टिलाई आधार बनाएर गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको मापदण्डअनुसार कल गुणस्तर ९० प्रतिशतभन्दा बढी र कल पूर्णता ४५ प्रतिशतभन्दा बढी हुनुपर्छ तर सर्भेअनुसार यो प्रतिशत कम छ । मोबाइलमा कुरा पूरा नभई काटिने समस्या उपभोक्ताले भोग्दै आइरहेका छन् ।
यसअघि ०६६ मंसिरमा पनि प्राधिकरणले गुणस्तर सर्भे गरी सुधारको निर्देशन दिएको थियो । प्राधिकरण ऐनको दफा १५ अनुसार गुणस्तर सुधारका लागि ६ महिनाको समय दिइन्छ ।प्राधिकरणले गुणस्तर कमजोर रहेको निष्कर्ष निकाले पनि सेवा प्रदायकले भने आफ्नो सेवा राम्रो भएको दाबी गरेका छन् । निजी क्षेत्रको कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले गुणस्तर मापन गरिनु राम्रो पक्ष भए पनि आफ्नो निष्कर्ष फरक रहेको बताए । ‘हामी पनि अन्तर्राष्ट्रियस्तरमा गुणस्तर मापन गरिरहेका छौ। प्राधिकरणको सर्भेसग एनसेल सहमत छैन,’ उनले भने । प्राधिकरणले तोकेको मापदण्ड कम्पनीले पूरा गरिरहेको दाबी उनले गरे ।
नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक भगतमान सिंह प्रधानले माग पूरा गर्न नै धौ–धौ परिरहेकाले गुणस्तर कमजोर भएको स्विकार्दै सुधारको प्रयास भइरहेको बताए । प्रविधि ‘अपडेटेड’ नहु“दा पनि गुणस्तर कमजोर भएको उनको भनाइ थियो । सरकारी प्रक्रियाका कारण उपकरण भिœयाउन समय लाग्ने भएकाले समस्या भइरहेको गुनासो उनले गरे ।
युटिएलका प्रतिनिधि केशव ज्ञवालीले इन्टरकनेक्सन सहज नहुदा पनि गुणस्तर कमजोर भएको बताए । ८ घन्टाको मात्र ब्याट्री ब्याकअप हुने भएकोले लोडसेडिङका कारण गुणस्तर कमजोर भएको उनले दाबी गरे । प्राधिकरण निर्देशक खनालले भने लोडसेडिङ नभएको वेला सर्भे गरिएकोले लोडसेडिङ बहाना मात्र भएको बताए ।
पछिल्ला केही वर्षमा सेवा प्रदायकले ग्राहक विस्तारमा जोड दिए पनि गुणस्तर कमजोर हुदै आएको छ । भ्यालु एडेड सर्भिसको बिलिङ तथा इन्टरनेटमा पनि गुणस्तर मापन गरिने प्राधिकरणले जनाएको छ ।
नेपालमा मोबाइल सेवा सुरु भएदेखि नै गुणस्तर कमजोर भएको गुनासो रहदै आएको छ । नेपाल टेलिकमले पहिलोपटक ०५६ सालमा जिएसएम प्रविधिमा आधारित मोबाइल सेवा सुरु गरेको थियो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर सबै कम्पनीका गरी १ करोड ३१ लाख मोबाइल प्रयोगकर्ता छन् ।

No comments:

Post a Comment