Saturday, May 21, 2011

होमस्टे शहरी क्षेत्रमा बढि


नयाँ पत्रिका

काठमाडौं, ५ जेठ

सरकारले ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउने उद्देश्यले होमस्टेको अवधारणा ल्याए पनि यसको आकर्षण सहरी क्षेत्रमा बढी देखिएको छ । होमस्टेको माध्यमबाट पर्यटनको प्रतिफल ग्रामीण समुदायमा पुर्‍याउने सरकारको लक्ष्य छ, तर ग्रामीण तहसम्म होमस्टेको उत्साह देखिएको छैन ।

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाबाट होमस्टे सञ्चालन अनुमति लिनेमा अधिकांश सञ्चालक राजधानी वरपरका रहेका छन् । महाशाखाका अनुसार राजधानी वरपर बुढानीलकण्ठ, लाजिम्पाट, कपन, नयाँबजार, स्वयम्भूलगायतका स्थानमा होमस्टे सञ्चालनको अनुमति दिइएको छ । लाजिम्पाट तथा कपनमा वषौर्ंदेखि होमस्टे सञ्चालनमा थियो । कपन होमस्टेले ६२ वटा घरमा होमस्टे सञ्चालन गरेको छ भने स्थानीय ज्ञानमाला महिला समूहले हालै २० वटा घरमा होमस्टे सुरु गरेको छ । कपनको होमस्टे काठमाडौं उपत्यकामा सञ्चालित सबैभन्दा ठूलो होमस्टे सञ्जाल हो । हाल कपनको २० किलोमिटर क्षेत्रमा होमस्टे सञ्चालन भएको र यो वर्षभित्र पूरै ग्ााविसमा फैलिने व्यवसायीको अनुमान छ ।

सरकारले गत भदौमा जारी गरेको होमस्टे सञ्चालन कार्यविधिमा होमस्टेबाट ग्रामीण समुदायको आयस्रोत वृद्धि गरी जीवनस्तर वृद्धि गर्ने, ग्रामीण तथा स्थानीय स्तरमा स्वरोजगार विकासको माध्यमको रूपमा उपयोग गर्ने, पर्यटकलाई ग्रामीण जनजीवन र संस्कृतिका बारेमा जानकारी दिने तथा पर्यटकलाई रीतिरिवाज, कला-संस्कृति र रहनसहनको अनुभव हासिल गर्ने उद्देश्य राखिएको छ । तर, सहरी क्षेत्रमा सञ्चालन हुने होमस्टेमा ग्रामीण जनजीवन र संस्कृति नझल्किने स्वयं पर्यटकहरूको अनुभव छ ।

पर्यटन नीति २०६५ मा ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने र ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेसी, आदिवासी तथा जनजातिको समेत संलग्नता रहनेगरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने उल्लेख छ ।

पर्यटन मन्त्रालयमा दर्ता भएका होमस्टेको संख्या वैशाख मसान्तसम्ममा ७६ पुगेको छ । यसमध्ये ९ वटा मात्र निजी होमस्टे छन् । दुई दर्जनभन्दा बढी दर्ताको प्रक्रियामा छन् । पर्यटन वर्ष सुरु भएपछि मात्र तीन दर्जन होमस्टेले महाशाखाबाट अनुमति लिएको होटल शाखाले जनाएको छ । मन्त्रालयको टोलीले निरीक्षण गरेपछि मात्र होमस्टे सञ्चालनको अनुमति दिइन्छ । होमस्टे दर्ता गर्न कुनै शुल्क लाग्दैन । कार्यविधिले होमस्टेलाई निजी र सामुदायिकमा वर्गीकरण गरेको छ भने होमस्टे सञ्चालकले स्थानीय सांस्कृतिक कार्यक्रम, परम्परागत खेल, जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको समेत व्यवस्था गर्नुपर्ने प्रावधान छ । तर, सहरी क्षेत्रमा सञ्चालित अधिकांश होमस्टेले यस्ता गतिविधिका समेटिएका प्याकेज बनाएका छैनन् । कार्यविधिले होमस्टे सञ्चालनका लागि २८ वटा आधारभूत मापदण्ड तोकेको छ ।

सरकारले नेपाल पर्यटन वर्षमा नेपाल आउने १० लाख पर्यटकमध्ये ४० प्रतिशतलाई ग्रामीण क्षेत्रमा पुर्‍याउनेे लक्ष्य राखेको छ । होमस्टेमा देखिएको उत्साहले सरकारी लक्ष्यलाई सघाउ पुर्‍याउने सरकारी अधिकारीको दाबी छ ।

ग्रामीण क्षेत्रबाट केही मात्रामा होमस्टे सञ्चालन भए पनि अधिकांश होमस्टेमा पर्यटक पुग्न सकेका छैनन् । उचित प्रचारप्रसारको अभावमा पर्यटक आकषिर्त गर्न नसकिएको होमस्टे सञ्चालकहरू बताउँछन् । पर्यटक नआएपछि उनीहरू सरकारलाई गुहार्न थालेका छन् । 'पर्यटक आउँछन् भनेर होमस्टे बनायौँ तर अहिलेसम्म एकजना पनि आएका छैनन्,' बुढानीलकण्ठ होमस्टेका एक सञ्चालकले भने ।

गत वर्ष तारागाउँ विकास समितिले नेपालमा होमस्टेको सम्भाव्यता अध्ययन गरेको थियो । सांस्कृतिक र जातिगत विविधता भएकोले नेपालमा होमस्टेको राम्रो सम्भावना रहेको प्रतिवेदन समितिले दिएको थियो । त्यस्तै मन्त्रालयको एउटा टोलीले मलेसिया र कोरियाको भ्रमण गरी त्यहाँ सञ्चालित होमस्टेको अध्ययन गरेको थियो । मलेसिया र कोरियाको अनुभवबाट नेपालमा होमस्टे प्रभावकारी हुने देखिएको मन्त्रालयको विश्वास छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete