Saturday, May 21, 2011

नेवानिका १० को-पाइलट 'ग्राउन्डेड’


काठमाडौं, ६ जेठ

नेपाल वायुसेवा निगम व्यवस्थापनले आन्तरिक उडानका १० कोपाइलटलाई एकैपटक कारबाही गरेको छ । व्यवस्थापनले उनीहरूलाई अनिश्चितकालका लागि 'ग्राउन्डेड' गर्दै फ्लाइटमा नराख्न अपरेसन विभागलाई निर्देशन दिएपछि १० पाइलट कारबाहीमा परेको पुष्टि भएको हो । अर्को सूचना नआएसम्म अब उनीहरू उडानमा जान पाउँदैनन् ।

निगमको हितविपरीत काम गरेको भन्दै व्यवस्थापनले उनीहरूलाई कारबाही गरेको बताएको छ । निगमका महाप्रबन्धक कुलबहादुर लिम्बूले आफ्ना नातेदारलाई प्रक्रिया नपुर्‍याई नियुक्त गरेको भन्दै कोपाइलटले त्यसको विरोध गरेका थिए । लिम्बूले दुई महिनाअघि एमबी तुम्बाहाम्फेलाई टि्वनअटरको जुनियर क्याप्टेनमा नियुक्त गरेका थिए । व्यवस्थापनले सम्बाहम्फेलाई ७ वर्षका लागि करारमा सम्झौता गरेको बताइएको छ । यती एयरलाइन्सको 'जेटस्टि्रम' जहाज उडाइरहेका उनी त्यहाँबाट निकालिएपछि निगममा आएका थिए ।

योग्यता नपुगेको व्यक्तिलाई प्रक्रियासमेत नपुर्‍याई क्याप्टेनमा नियुक्त गरिएको भनाइ कारबाहीमा परेका पाइलटहरूको छ । एउटा जहाज उडाइरहेको क्याप्टेनले अर्को जहाज उडाउन छुट्टै तालिम र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्ससमेत लिनुपर्छ । 'तालिम र लाइसेन्स दुवै नभएको व्यक्तिलाई नियुक्त गरिएकोमा हाम्रो विरोध हो,' कारबाहीमा परेका एक कोपाइलटले भने । नियुक्ति प्रक्रिया र योग्यता नपुगेको भन्दै उनीहरूले लिखित रूपमा विरोध जनाएका थिए ।

ग्राउन्डेड गरिएका कोपाइलटमा सजल कुइँकेल, रवीन्द्र बन्जारा, सुरेश केसी, सञ्जय पाण्डे, असीमकुमार खड्का, मुकेशकुमार गुप्ता, भोगेन्द्र कठायत, प्रशान्त श्रेष्ठ, अमूल्य शाक्य र रमन घिमिरे छन् । उनीहरू सबै टि्वनअटरका कोपाइलट हुन् ।

ग्राउन्डेड गरिएपछि आफ्नो करिअरमा गम्भीर असर परेको गुनासो उनीहरूको छ । 'निगममा आम्दानी कम छ, त्यसमाथि ग्राउन्डेड भएपछि हामीलाई ठूलो समस्या परेको छ,' ग्राउन्डेड गरिएका अर्का कोपाइलटले भने । सातामा कम्तीमा ८० घन्टा उड्नुपर्नेमा निगमका पाइलटले २० घन्टा मात्र उड्न पाइरहेका छन् । हाल निगममा आन्तरिक उडानतर्फ १७ जना कोपाइलट छन् ।

लिम्बूले पदको दुरुपयोग गरेर कारबाही गरेको आरोप उनीहरूको छ । कर्मचारी विनियमावलीमा कसुर ठहर भए स्पष्टीकरण सोध्नुपर्ने र चित्तबुझ्दो जवाफ नआए मात्र कारबाही गर्न पाउने उल्लेख भए पनि स्पष्टीकरण नै नसोधी कारबाही गरेको उनीहरूको भनाइ छ ।

निगम व्यवस्थापनले भने अनुशासनविपरीत काम गरेकाले सामान्य कारबाही गरिएको बताएको छ । कर्मचारी विनियमावलीअनुसार नै उनीहरूलाई कारबाही गरिएको दाबी व्यवस्थापनको छ । 'व्यवस्थापनले कर्मचारीलाई दण्ड दिनु र पुरस्कृत गर्नु सामान्य प्रक्रिया हो,' निगम महाप्रबन्धक लिम्बूले भने । कर्मचारीकै हकहितका लागि व्यवस्थापनले कदम चालेको उनको भनाइ छ । आइतबार नै सम्बन्धित विभागसँग छलफल गरेर समस्या समाधान गरिने उनी बताउँछन् ।

निगमका पाँचवटा टि्वनअटर उड्न सक्ने अवस्थामा रहेका र यसका लागि थप २० जना पाइलट आवश्यक भएको उनले बताए । अहिले दुईवटा टि्वनअटरले मात्र उडान भरिरहेका छन् । ल्यान्डिङ गियरमा समस्या देखिएपछि एउटा जहाज हालै ग्राउन्डेड भएको छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete