Monday, May 30, 2011

अवको प्राथमिकता धार्मिक पर्यटन









लक्ष्मीप्रसाद खतिवडा

पर्यटनको माध्यमबाट मुलुकको आर्थिक कायापलट गर्ने महत्वाकांक्षी लक्ष्यका साथ घोषणा भएको पर्यटन बर्ष २०११ शुरु भएको पनि ५ महिना वितिसकेको छ । दश लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ शुरु भएको पर्यटन बर्षको सफलता असफलतालाइ लिएर निकै बहस हरु भइरहेका छन् । मुलुकमा भएका पर्यटकीय सम्भावनाहरुको कुरा गर्ने हो भने घोषित दश लाख पर्यटकको लक्ष्य टाढा छैन । सम्भावनाहरु अथाह छन् खाँचो छ त पहिचान र प्रमोसनको । हिमाल आरोहण, पदयात्रा, राफ्टिङ, एडभेन्चर गतिविधि लगायतका लागी त नेपाल परिचित भइसकेको छ । यसबाहेक धार्मिक कृषि तथा खेलकुद पर्यटनको पनि उत्तिकै सम्भावना छ ।
धार्मिक पर्यटनमा नेपालको पर्याप्त सम्भावना छ । भारतिय पर्यटकको पहिलो प्राथमिकतामा पर्दै आएको पशुपतिनाथ क्षेत्रको व्यवस्थापन, सुधार र प्रवद्र्धनलाइ सरकारले प्राथमिकतामा राख्नु पर्छ । यसका लागी लामो भिजन चाहिन्छ । पशुपति मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको पशुपति क्षेत्र विकास कोषले पर्यटन बर्ष २०११ मा दश लाख विदेशी भक्तजनलाइ पशुपति भित्र्याउने घोषणा गरेको छ । यो उत्साहजनक कुरा हो । तर पशुपतिनाथ क्षेत्रमा दुरदर्शिताका साथ लगानी गर्ने हो भने वार्षिक कम्तिमा १ करोड विदेशी पर्यटकलाइ पशुपति क्षेत्रमा ल्याउन सकिन्छ ।
विश्वभर करिव एक अर्व हिन्दु छन् । भारतमा मात्र कुल जनसंख्याको करिव ८० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको अनुमान छ । यो संख्याको ५ प्रतिशतलाइ मात्र नेपाल ल्याउन सके पनि पर्याप्त हुन्छ । यसका लागी पशुपति क्षेत्रलाइ विश्वकै नमुना मन्दिरको रुपमा विकास गर्नुपर्छ । कोषले आफ्नै सम्पतिको प्रयोग गरेर पनि धेरै काम गर्न सक्छ । सरकारले पनि यसमा लगानी गर्नुपर्छ । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा पाच सय भन्दा बढी मठमन्दिर रहेको बताइन्छ । तिनको संरक्षण हुन सकेको छैन । भएका मठ मन्दिरको संरक्षण गर्नुका साथै अन्य संरचना थप्न सकिन्छ ।
पशुपति क्षेत्रमा १ करोड शिवलिंग स्थापना गरेर ति सबैको जल एकै ठाउबाट आउने व्यवस्था गर्न सक्ने हो भने करोडौं आम्दानी गर्न सकिन्छ । यो जल सिन्चन गर्न लाखौं हिन्दु आउछन् । जल वेचेर नै करोडौं आम्दानी गर्न सकिन्छ । भारतका मन्दिरहरुमा नियमित रुपमा धार्मिक सांस्कृतिक प्रदर्शनीहरु हुन्छन् । हजारौं मानिस टिकट काटेर यस्ता शो हेर्न जान्छन् । हामीकहा यस्ता कार्यक्रम भएको पाइदैन । धार्मिक पर्यटकका लागी राम्रा होटल छैनन् । धर्मशालाहरु स्तरिय छैनन् । यसले गर्दा स्तरिय पर्यटक आउन सकिरहेका छैनन् । तारे स्तरका धार्मिक गेष्टहाउस बनाएर स्तरिय धार्मिक पर्यटकको आकर्षण बढाउन सकिन्छ ।
पशुपतिनाथलाइ पञ्चधामका रूपमा मान्यता दिन भारत सरकारलाई पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । सरकारले पनि यसका लागी चासो देखाउनु पर्छ । हिन्दू धर्मका चारधाम यमुनोत्री, गंगोत्री, बद्रिनाथ र केदारनाथ सबै भारतमा छन् । पशुपति नाथ पाचौं धामको रुपमा स्थापित भएमा हिन्दुहरुको यहा ओइरो लाग्छ । बलिउड अभिनेता अमिताभ बच्चन तिरुपतिमा बार्षिक ५ करोड भन्दा बढि चढाउछन् । यस्ता थुप्रै दानी छन् जसलाइ पशुपतिनाथ ल्याउन सके नेपालले राम्रो आम्दानी गर्न सक्छ । यो आम्दानी परोपकारी काममा खर्च गर्ने हो अरु पनि उत्प्रेरित हुन्छन् । भारतले वागमती सफाई परियोजनामा पनि चासो देखाएको छ । लाखौं हिन्दुको सेन्टिमेन्ट जोडिएको वागमती लाइ सफा र स्वच्छ बनाउन सक्ने हो पर्यटकीय आकर्षण बढ्ने निश्चिित छ ।
पशुपतिनाथका साथै लुम्बिनि र जकनपुरको विकासमा पनि जोड दिन आवश्यक छ । यि दुवै ठाउका विमानस्थलको सुधार गर्नुपर्छ । भैरहवा विमानस्थललाइ क्षेत्रिय अन्तराष्टिय विमानस्थलको रुपमा विकास गर्न एडिविको सहयोगमा काम भइरहेको छ । यसलाइ तिव्रता दिनुपर्छ । जनकपुरलाइ पनि भारतका प्रमुख शहरहरुसम्म उडान गर्न सकिने गरि सुधार गर्नुपर्छ । यसो गदा त्रिभुवन अन्तरािष्टय विमानस्थलको चाप पनि घट्छ भने तराइमा पनि पर्यटनको विकास हुन्छ । बौद्धमार्गीको बाहुल्यता भएको श्रीलंकाका पर्यटकलाइ लुम्बिनिमा बढाउन सकिन्छ । लुम्बिनिलाइ बौद्धमार्गीले जिवनमा एकपटक पुग्नैपर्ने स्थानका रुपमा लिन्छन् । यो कुराको प्रचारप्रसार व्यापकरुपमा गर्नुपर्छ । सन् २०११ मा नै श्रीलंकाले पनि पर्यटन बर्ष मनाइरहेको छ । नेपालले सहकार्य गर्न सक्छ । धार्मिक पर्यटकको खर्च र बसाइ अवधि बढाउन आकर्षक धार्मिक प्याकेजको आवश्यकता छ ।
आसियान मुलुकहरुले वौद्ध दर्शन, धर्म र सांस्कृतिक आदानप्रदानका लागि भारतसग नजिकको सम्पर्क स्थापित गरेका छन् । वौद्ध धार्मिक पर्यटक र वौद्ध दर्शन तथा संस्कृतिको अध्ययन अनुसन्धान गर्ने अध्येताहरु भारतलाई तथ्यहरूको स्रोत मान्छन् । नेपालमा पनि बौद्ध धर्मसम्बन्धि अध्ययनका लागी थुपै्र विषयवस्तु र सामग्रीहरु छन् तर हामीले वौद्ध दर्शन, धर्म र संस्कृतिको केन्द्र नेपाल हुन सक्छ भत्रे सन्देश विश्व सामु पुयाउन सकिरहेका छैनौ । त्यसका लागि नेपालमा आन्तरिक अध्ययन अनुसन्धानको अभाव छ । वौद्ध पर्यटक र अनुसन्धानकर्तालाई भारत आउदा मात्रै पनि नेपाल भ्रमण र अनुसन्धानका लागि आकर्षण गर्न सकिन्छ ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा तिव्वतको मानसरोवरालाइ प्रमोसन गरिरहेका टाभल टुर कम्पनिहरुले मुलुककै मुक्तिनाथ, गोसाइँकुण्ड, पाथीभरा, हलेसी जस्ता गन्तव्यलाइ प्राथमिकता दिनुपर्छ । यसका लागी भारतिय पर्यटकलाइ लक्षित गरेर विशेष प्याकेज सञ्चालन गर्न सकिन्छ । सन् २०१० मा भारतीय धार्मिक पर्यटक करिब १५ प्रतिशत बढेको अनुमान छ । यो संख्यालाइ पर्यटन बर्षमा २५ प्रतिशत सम्म पुयाउन सकिन्छ ।
बुद्ध जन्मेको देश भएर पनि लुम्बिनी बुद्धमार्गीको गन्तव्य बन्न सकिरहेको छैन । हिन्दुको सबैभन्दा प्रमुख तिर्थस्थल पशुपतिनाथमा १ अर्ब भन्दा बढी हिन्दुहरु आकर्षित हुन सकेका छैनन् । बैष्णवको तीर्थस्थल मुक्तिनाथको उचित प्रमोसन भएको छैन । धार्मिक पर्यटनको विकासका लागी थुपै्र सम्भावना छन् जसको विकास गर्नु आवश्यक छ । पर्यटन बर्ष अभियान यसका लागी राम्रो अवसर पनि हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete