Wednesday, June 8, 2011

एयर एसियाको जिएसए विवादमा






नयाँ पत्रिका

काठमाडौं, २४ जेठ

जुन पहिलो सातादेखि नेपालमा उडान भर्ने घोषणा गरेको मलेसियाको बजेट एयरलाइन्स एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट -जिएसए) नियुक्ति विवादमा परेको छ । दुई कम्पनीले जिएसएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।

आफूले प्रयोग गर्दै आएको जिएसए अधिकार विनासूचना अर्को कम्पनीलाई दिइएको भन्दै मल्टिनेसनल बिज कम्पनी नेपालले पर्यटन मन्त्रालयमा उजुरी दिएपछि विवाद बाहिर आएको हो ।

यसअघि कम्पनीले अफ लाइन एयरलाइन्सका रूपमा एयर एसियाको टिकट बेच्दै आएको थियो । सन् २००६ देखि नै जिएसएका रूपमा काम गरिरहेको भन्दै कम्पनीले अधिकार आफूले नै पाउनुपर्ने माग मन्त्रालयसमक्ष राखेको छ । अर्को कम्पनीलाई जिएसए नियुक्त गरिए त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग कम्पनीको छ ।

मल्टिनेसनल बिजका प्रबन्ध निर्देशक डिआर सुवेदीले इन्सेन्टिभ ट्राभल्सले गलत प्रचार गरेको दाबी गर्दै एयर एसियाले कुनै कम्पनीलाई जिएसए नतोकेको जानकारी दिए । इन्सेन्टिभले गलत प्रचार गरेको दाबी गर्दै उनले एयर एसिया तत्काल नेपाल आउने सम्भावना नरहेको बताए । चार्टर्ड फ्लाइटका लागि पहल गरिरहेको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मल्टिनेसनल बिज कम्पनीको उजुरी प्राप्त भएकाले त्यसबारे मलेसियाको नागरिक उड्डयन विभागसँग जानकारी मागिने बताए । 'यथार्थ के हो, सम्बन्धित निकायसँग जानकारी माग्छौँ,' उनले भने । नयाँ नियुक्त गरिएको भनिएको कम्पनीसँग जिएसए अनुमतिपत्र मागिने उनले बताए । जिएसएका रूपमा काम गरिरहेको एजेन्सीलाई हटाएर नयाँ आउन चाहे नयाँले पुरानोको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

इन्सेन्टिभ ट्राभल्स एन्ड टुर्सले एयर एसियाले १ वर्षअघि नै जिएसए नियुक्त गरिसकेको दाबी गरेको छ । कम्पनीले यसअघि जुन पहिलो साता एयर एसियाका प्रतिनिधि नेपाल आउने र जिएसएको सम्झौता हुने बताएको थियो । इन्सेन्टिभ ट्राभल्सका प्रबन्ध निर्देशक विजय नेपालले आगामी साता एयर एसियासँग जिएसए सम्झौता हुने जानकारी दिए । एयर एसियाले सर्तसहितको सम्झौताको मस्यौदा पठाएको र कम्पनीले त्यसको अध्ययन गरिरहेको उनले बताए । 'जुनभरमा प्रक्रिया पूरा भई जुलाईदेखि उडान सुरु हुन्छ,' उनले भने । त्यसका लागि कम्पनीका कार्यकारी प्रमुख हरिमान लामा मलेसियामा रहेको जानकारी उनले दिए ।

कुनै पनि नेपाली ट्राभल एजेन्सीले विदेशी विमान कम्पनीको जिएसएका रूपमा काम गर्न परराष्ट्र मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा व्यापारिक योजना तथा सम्झौतासहित प्रस्ताव बुझाउनुपर्छ । तर, इन्सेन्टिभले हालसम्म त्यस्तो प्रस्ताव नबुझाएको प्राधिकरणले जनाएको छ । विदेशी एयरलाइन्सको जिएसए लिन चाहने एजेन्ट प्राधिकरणमा दर्ता भएको हुनुपर्ने प्रावधान छ ।

जिएसए विवादकै कारण जुन पहिलो सातादेखि हुने भनिएको एयर एसियाको नेपाल उडान पछि सर्दै आएको छ । एयर एसियाले जुन पहिलो सातादेखि उडान गर्ने घोषणा इन्सेन्टिभले गरेको थियो । सबै प्रक्रिया पूरा गरी जुलाई पहिलो सातादेखि उडान सुरु हुने महाप्रबन्धक नेपालले दाबी गरेका छन् ।

एयर एसियाले काठमाडांै-क्वालालम्पुर उडान १६ हजार रुपैयाँमा गर्ने बताएको छ । हाल नेपाल वायुसेवा निगमले सो सेक्टरमा १८ हजार रुपैयाँ भाडा लिँदै आएको छ । मलेसियाको यातायात व्यवस्था मन्त्रालय र नागरिक उड्डयन विभागले नेपालमा साताको चारपटक उडान गर्ने अनुमति दिइसकेको दाबी कम्पनीको छ । तत्कालका लागि सातामा दुई उडान भर्ने तयारी भइरहेको इन्सेन्टिभको भनाइ छ । मलेसियाबाट अनुमति लिइसके पनि कम्पनीले नेपाल सरकारको स्वीकृति लिएको छैन । विदेशी एयरलाइन्सको जिएसए विवाद मन्त्रालयसम्म पुगेको यो पहिलो घटना हो । यसअघि त्यस्तो विवाद मन्त्रालयसम्म आइपुगेको थिएन ।

यसैबीच नेपालका लागि मलेसियन राजदूत इलान कोभान कोलान्डाभेलुले एयर एसिया नेपालमा उडान गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री झलनाथ खनालसँगको बिदाई भेटमा उनले एयर एसियाको विशेष चासो लुम्बिनीमा रहेको जानकारी दिए । आगामी शनिबार आफ्नो कार्यकाल सकेर मलेसिया जाने तयारीमा रहेका कोलान्डाभेलुले एयर एसियालाई नेपाल भित्र्याउने प्रयास गरिरहेको बताएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete