Thursday, December 8, 2011

सरकारी रिसोर्टको स्थानीयद्वारा विरोध

लक्ष्मीप्रसाद खतिवडा
राराताल पारि रिसोर्ट निर्माण गर्ने भनिएको स्थान ।
मुगु (रारा), २० मंसिर

मुगुको रारा ताल क्षेत्रमा पर्यटक आवास (रिसोर्ट) खोल्ने सरकारी योजनाको स्थानीयवासीले विरोध गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रिसोर्ट खोल्दा ताल अतिक्रमण हुने भन्दै स्थानीयले विरोध गरेका हुन् । ‘ताल किनारमा होटल–रिसोर्ट खोल्दा वातावरण प्रदूषण हुने खतरा हुन्छ,’ स्थानीय बालकृष्ण रोकायाले भने । राराको फाइदा स्थानीयले नै लिन पाउनुपर्नेमा बाहिरका पाइरहेको उनको गुनासो छ ।
सरकारले आफ्नै लगानीमा रारामा रिसोर्ट निर्माण गर्ने योजना पास गरे पनि हालसम्म कुनै काम भने अगाडि बढेको छैन । पर्यटकका लागि बसोबासको आधारभूत आवश्यकता पूरा गर्न भन्दै गत भदौमा सरकारले रारामा रिसोर्ट खोल्ने घोषणा गरेको थियो । रिसोर्टका लागि पर्यटन मन्त्रालयले चालू आर्थिक बर्षमा ८० लाख रुपैया छुट्याएको छ । यसअघिका पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माको अवधारणाका आधारमा रारामा रिसोर्ट खोल्न बजेट छुट्याइएको हो । पर्यटन बर्षमा पश्चिम क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने भन्दै विश्वकर्माले रारालाई प्राथमिकतामा राखेका थिए ।
यस वर्ष रिसोर्टका लागि भवन बनाइसक्ने योजना मन्त्रालयको छ । भवन निर्माणपछि रिसोर्ट सञ्चालनका लागि निजी क्षेत्रसग सहकार्य गर्न सकिने मन्त्रालयले बताएको छ । त्यस्तै, रारालाई केन्द्रबिन्दु बनाएर दीर्घकालीन योजना बनाउन सरकारले चालू आवमा ६० लाख रुपैया विनियोजन गरेको छ । रारालाई पश्चिम नेपालको पर्यटन ‘हब’ बनाउने योजना पर्यटन मन्त्रालयको छ ।
हाल राराताल किनारमा बसोबासका लागि न्यूनतम सुविधाको डाफे होटल सञ्चालनमा छ । यसमा ६ कोठा र बढीमा १५ जनालाई बस्ने सुविधा उपलब्ध छ । ‘एकैपटक धेरै पर्यटक आए टेन्ट गाडेर बस्नुपर्ने अवस्था छ,’ होटल सञ्चालक पूर्णदेवी बमले भनिन् । निकुञ्जबाहिर भने सामान्य स्तरमा आधादर्जन जति होटल तथा लज सञ्चालनमा छन् । खानबस्न उचित व्यवस्था नहुदा स्वदेशी तथा विदेशी पर्यटक समस्यामा पर्ने गरेका छन् । बसोबासको उचित प्रबन्ध नहुदा पर्यटक दिनभर घुमफिर गरेर साझ सदरमुकाम गमगढी वा ताल्चा विमानस्थल फकिर्नुपर्ने अवस्था छ । यहा“बाट गमगढी पुग्न ३ घन्टा र ताल्चा विमानस्थल पुग्न डेढ घन्टा हिड्नुपर्छ ।

प्रभावै नभएको पर्यटन वर्ष

मुलुकले राष्ट्रिय महत्वका साथ सन् २०११ लाई पर्यटन वर्षको रूपमा मनाइरहे पनि पर्याप्त पर्यटकीय महत्व बोकेको रारामा यसको कुनै प्रभाव छैन । मुलुकमा १० लाख पर्यटक भिœयाउने र तीमध्ये ४० प्रतिशतलाई नया गन्तव्यमा पु¥याउने सरकारी योजना छ तर पर्यटन वर्ष सकिन एक महिनामात्र बाकी हुदा रारामा एक हजार पर्यटक पुग्न सकेका छैनन् ।
रारा क्षेत्रका बासिन्दासमेत पर्यटन वर्षबारे अनभिज्ञ छन् । मुगु सदरमुकाम गमगढीमा पर्यटन वर्षको औपचारिक उद्घाटन कार्यक्रमबाहेक जिल्लामा पर्यटनसम्बन्धी कुनै गतिविधि भएका छैनन् । गत वर्ष रारा महोत्सव आयोजना गरिएको भए पनि यस वर्ष यो कार्यक्रमले निरन्तरता पाउन सकेन । सडक यातायातको अभाव र हवाई यात्राका लागि भरपर्दो विमानस्थलको अभाव पर्यटक नआउनुको मुख्य कारण भएको मुगुवासीको ठहर छ । ‘आवागमन सहज हुने हो भने रारामा पर्यटक बढ्छन्,’ स्थानीय मध्यवर्ती सामुदायिक वन अधिकृत दिलप्रसाद घोडासैनीले भने ।
आवासको कमी तथा यातायातको सहज पहुच हुन नसक्दा टुर अपरेटरहरूको प्राथमिकतामा रारा परेको छैन । नियमित हवाई सेवा सञ्चालन गरी स्थल यातायातको समेत पहुच रारासम्म पुगे पर्यटक लैजान सजिलो हुने पर्यटन व्यवसायीको भनाइ छ । हाल रैका ट्राभल्सले ‘क्लिन रारा ग्रिन रारा’ नारासहित राराको प्रवद्र्धन गरिरहेको छ ।

११ जिल्लाबाट पदमार्ग

मध्य तथा सुदूरपश्चिम क्षेत्रका गन्तव्यको विकास गर्ने एकीकृत परियोजनाअनुसार पर्यटन मन्त्रालयले रारा क्षेत्रलाई केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने भएको छ । यसका लागि रारासम्म ११ जिल्लाबाट पदमार्ग पु¥याउने योजना मन्त्रालयको छ । यसअन्तर्गत सुदूरपश्चिमको डोटी जिल्लामा पर्ने खप्तड फाटदेखि अछामको रामारोसन हुदै कालिकोट जिल्लामा पर्ने पाचल झरनाबाट रारासम्म पदमार्ग निर्माण गर्ने लक्ष्य लिइएको छ ।
११ जिल्लाका प्रमुख पर्यटन गन्तव्यबाट सुरु हुने पदमार्ग निर्माण्का लागि प्रतिट्रेल करिब ४० लाख रुपैया खर्च हुने अनुमान छ । एकीकृत पर्यटन सेवा केन्द्र राराअन्तर्गत जिल्लाबाट रारा जोड्न ट्रेल निर्माण गर्न लागिएको हो । पूर्वमा डोल्पाको डोल्पाको शे–फोक्सुन्डो ताल र जाजरकोट जिल्लाबाट टेल जोड्ने लक्ष्य छ । त्यस्तै, पश्चिममा कैलालीको चिसापानी र उत्तरमा हुम्ला र चीनको सीमाक्षेत्रमा पर्ने कैलाश मानसरोवरसम्म टेल निर्माण गर्ने लक्ष्य छ । दक्षिणमा जुम्लाको सिंजा, दैलेख र सुर्खेतको काक्रेविहार छन् ।
चारै क्षेत्रको पर्यटन संगम स्थलका रूपमा रारालाई विकास गर्न लागिएको हो । पर्यटन क्षेत्रको एकीकृत विकास तथा प्रवद्र्धनका लागि देशभर १७ पर्यटक सेवा केन्द्र स्थापना गर्ने चालू आवको बजेटमा उल्लेख छ । मध्य तथा सुदूरपश्चिमाञ्चलको एकीकृत पर्यटकीय विकास गर्न शे–फोक्सुन्डो, राराताल, रामारोसन र बढिमालिकालगायत स्थानमा विकास कार्यक्रम थालनी गरिने बजेटमा उल्लेख छ । रारा, सिंजा, पुपाल, ढोरपाटन, जलजला क्षेत्रलाई जोड्ने गरी बहुआयामिक पर्यटकीय परिक्रमा मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने सरकारको योजना छ ।
देशका पर्यटकीय सम्भावना उजागर गर्न १७ पर्यटकीय क्षेत्रको अवधारण सरकारले अगाडि सारेको छ । खप्तड, मनास्लु, लुम्बिनी, रुरु रेसुंगा, काठमाडौं, लाङटाङ, सिम्रौनगढ, मिथिला, सलहेस, विराट राजाको दरबार, छिन्नमस्ता, गढिमाई, तिलौराकोट, बराहपोखरी, सगरमाथा तथा अरुण उपत्यकाजस्ता पर्यटकीय क्षेत्र रहने गरी ती क्षेत्रमा भौतिक पूर्वाधार र पर्यटन सेवाको विकास गर्न सरकारले बजेट छुट्याएको छ ।

No comments:

Post a Comment