Thursday, December 1, 2011

ताल्चा विमानस्थल बन्द गर्ने निर्णय

ताल्चा विमानस्थल निरिक्षण गर्दै पत्रकारको टोली ।
नयाँ पत्रिका
काठमाडौं, १४ मंसिर

नेपाल नागरिक उड्डयन प्राधिकरणले मुगुको ताल्चा विमानस्थल आगामी सातादेखि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । विमानस्थलको धावनमार्ग मर्मत तथा सुधार गर्नुपर्ने भएकाले केही समयका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।
मर्मत कार्य सगसगै उडान भर्दा जोखिमपूर्ण हुन सक्ने भएकोले विमानस्थल बन्द गर्न स्थानीयवासी, वायुसेवा कम्पनी र प्राधिकरण सहमत भएका हुन् । सरोकारवालाहरूबीच बुधबार विमानस्थल बन्द गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपाने, स्थानीय प्रतिनिधिका रूपमा मुगुका सभासद् नवराज धामी, वायुसेवा सञ्चालक संघका तर्फबाट सिम्रिक एयरका महाप्रबन्धक योगराज कडेल, वायुसेवा कम्पनीका तर्फबाट एयर काष्ठमण्डपकी महाप्रबन्धक मनश्री श्रेष्ठ र मकालु एयरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठबीच विमानस्थल बन्द गर्ने सहमति भएको हो ।
आर्थिक वर्ष ०६६\६७ देखि विमानस्थलको धावनमार्ग सम्याउने, चारवटा ट्विनअटर जहाज अट्ने पार्किङका लागि एप्रोन बनाउने तथा धावनमार्ग विस्तारको काम भइरहेको छ । विस्तारको काम भइरहेका कारण उडान भर्न समस्या पर्दै आएको थियो । ताल्चा विमानस्थल सुधार आयोजनाका इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल विस्तारको काम भइरहेकाले छिटो काम सक्न विमानस्थल बन्द गर्नुपरेको बताए । ‘विमानस्थल बन्द गर्न प्राधिकरणमा पत्र पठाएका थियौ, १ महिनाका लागि बन्द गरेर काम सक्ने सहमति भएको छ,’ अधिकारीले भने । अधिकारीका अनुसार एक महिनाभित्रमा धावनमार्ग सम्याई सक्नुपर्नेछ । विमान पार्किङका लागि एप्रोन र धावनमार्ग विस्तारका लागि भने थप समय लाग्नेछ । प्राधिकरणले बिहीबार विमानस्थल बन्दको सार्वजनिक सूचना जारी गर्नेछ । सरोकारवालाबीच १५\१५ दिनमा निर्माण कार्य–प्रगति विवरण बैठकमा प्रस्तुत गर्ने सहमति भएको छ । प्राधिकरणअन्तर्गतको सिभिल इन्जिनियरिङ विभागले धावनमार्ग निर्माणका लागि २१ दिनको समय माग गरे पनि वायु सेवा कम्पनीहरूले एक महिना बन्द गर्ने प्रस्ताव गरेका थिए । बारम्बार विमान दुर्घटना हुन थालेपछि केही समय बन्द गरी लामो समयसम्म ढुक्क हुन एक महिना बन्द गर्ने सहमति भएको वायु सेवा सञ्चालक संघका सदस्य योगराज कडेलले बताए ।
बुधबारको बैठकमा उपस्थित सरोकारवालाले केही समयलाई मुगु जिल्लाको हवाई सेवा टुट्ने भए पनि दीर्घकालीन सेवाका लागि धावनमार्ग पूर्णरूपमा बनाउनु नै उपयुक्त हुने धारणा राखेका थिए । हालसम्म स्थल यातायातको पहुच पुग्न नसकेको मुगु जिल्लामा ताल्चा एकमात्र विमानस्थल हो । दुर्गम क्षेत्रका विमानस्थलमध्ये ताल्चा सबैभन्दा जोखिमपूर्ण मानिन्छ । धावनमार्ग उकालो भएकाले अवतरण बढी जोखिमपूर्ण हुने ताल्चा विमानस्थल प्रमुख भीमदत्त पन्त बताउछन् । गत सातामात्र मकालु एयरको सिंगल इन्जिन जहाज अवतरणको क्रममा दुर्घटना भएको थियो । यसअघि गोमा एयर र एयर काष्ठमण्डप पनि ताल्चामा दुर्घटना भइसकेका छन् । हाल ५ सय १० मिटर धावनमार्गमा सञ्चालन भइरहेको ताल्चा विमानस्थलमा उडान तथा अवतरण एउटै किनाराबाट हुने गरेको छ । विस्तार कार्य सकिएपछि धावनमार्ग ५ सय ७० मिटर हुने बताइएको छ । ताल्चा विमानस्थल विस्तार, एप्रोन निर्माण तथा धावनमार्ग सम्याउन प्राधिकरणले १२ करोड रुपैया छुट्याएको छ । यसमध्ये हालसम्म ५ करोड रुपैया खर्च भइसकेको छ । आगामी चैत महिनाभित्र विमानस्थल विस्तारको काम सक्ने लक्ष्य प्राधिकरणको छ । यसअघि एसियाली विकास बैंकले पनि ताल्चा विमानस्थल सुधारमा चासो देखाए पनि पछि रद्द भएको थियो ।
हजार ९ सय फिट उचाइमा रहेको ताल्चा विमानस्थलमा वर्षको ९ महिनामात्र नियमित उडान हुन्छ । १२ बजेपछि हावा चल्ने भएकाले उडानमा समस्या हुने गरेको छ । विमान कम्पनीहरूले साझ ४ बजेसम्म पनि उडान गर्ने गरेका छन् । ताल्चामा एयर काष्ठमण्डप, मकालु एयर र गोमा एयरका सिंगल इन्जिन तथा तारा र नेपाल वायु सेवा निगमका ट्विनअटर जहाजले सुर्खेत र नेपालगन्जमा उडान गरिरहेका छन् । निर्माण थालिएको तीन दशकपछि ०६० वैशाखदेखि ताल्चा विमानस्थलमा उडान सुरु भएको थियो ।

No comments:

Post a Comment