Thursday, December 8, 2011

फेरिएको कर्णाली

लक्ष्मीप्रसाद खतिवडा
khatiwadalp@gmail.com

देशको सबैभन्दा ठूलो अञ्चल कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल शे–फोक्सुन्डो, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला, सबैभन्दा लामो नदी कर्णाली । कर्णालीमा यस्ता धेरै चिज छन् जुन कर्णाली चिन्नका लागी पर्याप्त छन् तर कर्णाली भन्ने वित्तिकै सबैको दिमागमा भोकमरी, अशिक्षा, भौगोलिक विकटता जस्ता कुरा अगाडी आउछन् । लामो समयसम्म नेपाली मिडियाले पनि कर्णालीलाइ यहि रुपमा प्रस्तुत गरे । यो प्रवृत्ति अझै पनि हटेको छैन ।
भोकमरी र अविकासको प्रतिक कर्णाली पछिल्ला केहि बर्षमा फेरिइसकेको छ । सडक सञ्जालले कर्णालीलाइ रक्तसञ्चार गराएको छ । चर्को हेलिकप्टर भाडा तिरेर आवत जावत गर्न र दैनिक उपभोग्य वस्तुलगायतका सामान आयात गर्न बाध्य यहा“का बासिन्दाका लागि सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला खलंगा बजारमा पुग्ने २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग बरदान नै सावित भएको छ ।
लामो समयसम्म कर्णालीवासीको सपनाको रुपमा रहेको कर्णाली राजमार्ग खुलेपछि कर्णालीको कायाकल्प नै भएको छ । सडक पुगेपछि कालीकोट र जुम्ला सदरमुकामसहित त्यस आसपासका क्षेत्र सहरीकरण तर्फ उन्मुख छन् । केहि बर्ष अघि सम्म माटोको गारोले बनेका बढीमा दुई तले घर मात्र देखिने खलङगामा पाच करोड रुपैयासम्मका निजि घर बन्न थालेका छन् । कालिकोटमा पनि पक्की घर बन्ने क्रम तिब्र भएको छ । जुम्ला बजार आसपासको सबै खेतीयोग्य जमिन बसपार्क, घर, घडेरीका लागि खरिद बिक्रि भइसकेको छ । सडक पुगेपछि कालीकोट र जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरु घर, घडेरी खरिद गरि नया भवन निर्माण गर्दैछन् । यहाका मालपोत, महिला विकास, राष्ट्रिय अनुसन्धान विभाग लगायतका कार्यालयले पक्की घर बनाउन थालेका छन् । कर्णाली राजमार्गले छोएका सुर्खेत, दैलेख, कालीकोट र जुम्ला जिल्लाका राजमार्ग आसपास पिलरयुक्त पक्की घर बनाउने प्रतिस्पर्धा नै चलेको छ ।
सडक पुगेपछि बजारको स्वरुप नै फेरिएको छ । विक्री नभएर कुहिने स्याउले मुल्य पाएको छ । सडकको प्रभाव कालीकोट र जुम्लाका गाउगाउसम्म परेको छ । मुल राजमार्ग बनेलगत्तै जुम्ला र कालीकोटका गाउगाउसम्म पुग्ने सहायक सडकहरु पनि धमाधम निर्माण हुन थालेका छन् । जुम्लाका ३० वटै गाविसलाइ सडकले छोइसकेको छ ।
सडक सञ्जालले स्थानियको जिवनस्तर पनि बदलिएको छ । अवसर र रोजगारीका लागि जिल्ला छाडेका युवाहरु फर्किएका छन् । यहाका व्यापारी, कर्मचारी लगायतले दाउराको सट्टा ग्यासमा खाना पकाउछन् । राजमार्ग पुग्नुअघि सामान्य गुजारा र जीवनयापनमुखी काम गर्ने स्थानिय अहिले भविष्य सुधार गर्नका लागि काम गर्न थालेका छन् । सडक पुगेपछि निर्माण  सामग्री ढुवानी गर्न सहज भएकाले कालीकोट र जुम्लामा गरी एक दर्जनभन्दा बढी लघु तथा साना जलविद्युत् आयोजना निर्माण  सुरु भएका छन् । कर्णाली राजमार्ग बनेपछि नै भारतीय कम्पनीले तीन सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण सुरु गरेको छ ।
शान्ति प्रक्रिया शुरु भएपछि राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाका विभिन्न कार्यक्रम कर्णालीमा ओइरएपछि स्थानीय बासिन्दाको आयआर्जन गर्ने सम्भावनाको ढोका खुलेको छ । अहिले खलङगा बजारका हरेक जसो घरमा एनजिओका कार्यालय छन् । कर्णालीका आधाभन्दा बढी जनसंख्या जीविकोपार्जनका लागि भारततिर भासिने गरेकोमा अहिले अहिले ४० प्रतिशत युवा तथा प्रौढ जनसंख्याको पलायन रोकिएको छ ।
वास्तवमा कर्णाली गरिब छैन । यहाका जनता गरिव छैनन् । हामीले उनीहरुलाइ गरिव बनाएका हौं । यार्सागुम्वा, स्याउ, आलु, सिमी, पाचआले, भुल्त्या, सुगन्धवाल, कटुको, गुच्चीच्याउ जस्ता फलफूल, तरकारी र जडिबुटीको भण्डार हो कर्णाली क्षेत्र । तर तिनले उचित मुल्य पाएका थिएनन् । सडक पुगेपछि बहुमुल्य जडिवुटी खेर जाने अवस्थाको अन्त्य भएको छ । एक रुपैयामा चारवटा स्याउ बेच्ने यहाका किसानले अहिले राम्रो दाम पाएका छन् ।
सधैं पेटकै लागि संघर्ष गर्नुपर्ने बाध्यताबाट कालीकोट र जुम्लाबासीले छुटकारा पाउन थालेका छन् । विकास भनेकै सडक रहेछ भन्ने बुझेका छन् उनीहरुले । पैसा तिरेर पनि खाद्यान्न किन्न नपाउने अवस्थाको अन्त्य भएको छ । सडक नहुदासम्म सधैजसो खाद्य संस्थानको गोदाममा लाम बस्न जानैपर्ने बाध्यताबाट स्थानियवासी मुक्त भएका छन् । ढुवानी अनुदानको सरकारी चामल बिक्री नभएर खाद्य संस्थानको गोदाममा थन्किन थालेको छ । संधैजसो दशैं तिहारमा चामलका लागी मारामार हुन्थ्यो तर अहिले पसल पसलमा चामलका बोरा पाइन्छन् । खाद्य कार्यालय अहिले दिनभर सुनसान हुन्छ ।
जुम्ला र कालीकोट बाहेक हुम्ला, मुगु र डोल्पाका स्थानीयबासी पनि अचेल कर्णाली  राजमार्ग हुदै आवतजावत गर्न थालेका छन् । बजारमा विभिन्न कम्पनिका मोटरसाइल कुद्छन् । कालीकोट हुदै जुम्लातर्फ दैनिक करिव चार दर्जन जिप, ट्रयाक्टर, मिनी ट्रकलगायतका यातायातका साधन जाने गर्छन् । त्यस्तै नेपालगन्ज र सुर्खेतबाट दैनिक आठवटा बस कालीकोट–जुम्ला ओहोरदोहोर गर्छन् ।
सडक पुगेपछि यहाको जग्गाको मूल्य पनि आकासिएको छ । जुम्ला बजारमा प्रतिवर्गमिटर जग्गाको मूल्य चार सयबाट बढेर छ हजार रुपैया नाघेको छ । कर्णालीको मनोरम भौगोलिक बनावट, स्वच्छ र चिसो हावापानीमा सडक जोडिएपछि यहा जग्गा किन्न कर्णाली बाहिरका पनि लोभिएका छन् । बसाइसराइ गरेर जिल्ला छोडिसकेका पनि फर्किएर घर घडेरी खरिद गर्न थालेका छन् । खासगरी जुम्लाको खलंगा बजारमा घर घडेरी जोड्नेको संख्या बढी छ ।
०६० सालमा जुम्लामा भएको कर्णाली सम्मेलनले यस क्षेत्रको आर्थिक सामाजिक रुपान्तरण्का लागि कर्णाली राजमार्ग पहिलो आवश्यकता भएको ठहर गर्दै निर्माण्का लागि पहल गर्ने निणर्य गरेको थियो । त्यसैको परिणामस्वरुप चरम द्धन्द्धका बेला पनि कालिकोट जुम्ला खण्डमा राजमार्ग निर्माण्मा स्थानिय बासिन्दा जुटे । कालीकोट खण्डमा सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दियो । कर्णाली राजमार्गको निर्माण शिलान्यास ०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेपनि पर्याप्त बजेटको अभाव, फितलो कार्यान्वयन, राजनीतिक इच्छाशक्तिको कमी, सशस्त्र द्धन्द्ध जस्ता कारणले  कर्णालीमा सडक पुग्न डेढ दशक लाग्यो ।
स्वर्गीय राजा वीरेन्द्रले २०४० सालसम्ममा कर्णाली राजमार्गको निर्माण सम्पन्न गरिसक्न हुकुम दिएको अहिले पनि बुढापाकाहरु सम्झन्छन् । उनका पिता स्वर्गीय महेन्द्रले २०१९ सालमा नै यो राजमार्ग बनाउनुपर्ने कुरा उठाएका थिए । बूढापाकाहरुको स्मृतिबाट यी कुरा अझै मेटिएका छैनन् । एकादेशको कथा जस्तै बन्न पुगेको कर्णाली राजमार्गलाई लामो समयसम्म स्थानीय समुदायले आङ्खनो योजना ठान्न सकेका थिएनन् । प्राविधिकहरु औजार बोकेर धेरै पटक हिडे, तर समुदायसग आत्मीयता बढाउन सकेनन् । कर्णालीका खासगरी कालीकोट, जुम्ला र मुगुका जनताको आर्थिक, सामाजिक, राजनीतिक तथा सास्कृतिक परिवर्तनको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग यस क्षेत्र का बासिन्दाको पहिलो प्राथमिकता हो ।
२०६० सालदेखि राजमार्ग निर्माणमा जनसहभागिता जुट्न थालेपछि यसले केहि गति लियो । निर्माण कार्यको नेतृत्व र समन्वय सडकका विभिन्न खण्ड र त्यस वरपर बस्ने समुदायका आधारमा गठन गरिएका सामुदायिक संस्था र नागरिक मञ्च हरुले गरे । जुम्ला – कालीकोट खण्डमा जनसहभागिताबाट निर्माण भएको ३६ किलोमिटर सडकले विकासनिर्माणका काम र तिनबाट प्राप्त हुने प्रतिफलमा जनसहभागिता हुने हो भने समुदायले त्यसको कार्यान्वयनमा सहयोग पु¥याउछन् भन्ने उदाहरण प्रदर्शन गरेको छ । राजमार्ग निर्माणको सिलसिलामा स्थानीय जनसमुदायले यसअघि कँर्णालीमा अभ्यास भएको विकास निर्माणको प्रक्रियालालाइ नै उल्ट्याएर सहभागितामूलक बनाए । राजमार्गको दैलेख – कालीकोट खण्डको तुलनामा जुम्ला–कालीकोट खण्डको निर्माण पारदर्शी र सन्तोÈजनक हुनुको मूल कारण जनसहभागिता भएको स्थानिय अगुवाहरु बताउछन् ।
क्षेत्र मा सडकसगसंगै केहि विकृति पनि भित्रिएका छन् । गाडीसगै यहा गुण्डागर्दी, महिला बेचबिखन, ओसारपसार र एचआईभी एड्सलगायतका समस्या थपिएको स्थानिय वुद्धिजिविहरु बताउछन् । सडक पुगेको आसपासका क्षेत्र मा चुरोट तथा मदिराका होर्डिङ बोर्ड र पोष्टरको प्रयोग बढ्दो छ । दैनिक उपभोग्य वस्तु सस्तो भए पनि स्थानीय प्रशासन र उद्योग  वाण्ज्य संघको प्रभावकारी बजार अनुगमन नहुदा बेलाबेला व्यापारीले कृत्रिम अभाव सिर्जना गरि उपभोक्ता ठग्ने गरेका छन् ।
सडक मर्मत नहुनु र सवारी चालकको लापरबाहीका कारण कर्णाली  राजमार्ग चिहान मार्गका रुपमा समेत बद्नाम भएको छ । राजमार्ग सञ्चालनमा आएयता सुर्खेत जुम्ला खण्डमा मात्र सानाठूला गरी डेढ सय सडक दुर्घटना भइसकेका छन् जसमा करिव सय ७० जनाले ज्यान गुमाएको तथ्यांक छ । यातायात व्यवसायीको झगडाले बेलाबेलामा सडक भएर पनि यहाका बासिन्दाले पैदल हिड्नुपर्ने तथा चर्को भाडा तिर्नुपर्ने अवस्था छ । सडक सञ्जालले जुम्ला र कालिकोटको मुहार फेरिएपनि कर्णालीका बाकी तिन जिल्ला हुम्ला, डोल्पा र मुगुबासी यातायात सुविधाबाट बञ्चित नै छन् । यि तिन जिल्लामा पनि सडक पुगेपछि मात्र वास्तविक रुपमा कर्णालीको मुहार फेरिनेछ ।

No comments:

Post a Comment