Friday, December 16, 2011

पर्यटनका लागि हरेक बर्ष अभियान

२०११    पर्यटन वर्ष
२०१२    लुम्बिनी भ्रमण वर्ष
२०१३    भेरी कर्णाली अध्ययन भ्रमण बर्ष
२०१४     सेती महाकाली भ्रमण बर्ष
२०१५     आन्तरिक भ्रमण बर्ष
२०१६     नागरिक उड्ययन बर्ष
२०१७     माउन्टेन फ्लाइट बर्ष
२०१८     पोखरा भ्रमण बर्ष
२०१९     मिथिला विदेह भ्रमण बर्ष
२०२०     अन्तु, इलाम, ताप्लेजुङ भ्रमण बर्ष



काठमाडौं, २९ मंसिर

पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टले सन् २०२० सम्म निरन्तर रूपमा पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने तयारी भइरहेको बताएका छन् । पर्यटन विकासका लागि यसै साता तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका मन्त्री विष्टले पर्यटन नीतिलाई फराकिलो बनाएर अगाडि बढ्ने बताए ।
मन्त्री विष्टका अनुसार सरकारले सन् २०१३ लाई भेरी कर्णाली अध्ययन भ्रमण बर्ष, २०१४ लाई सेती महाकाली भ्रमण वर्ष, २०१५ लाई आन्तरिक भ्रमण वर्ष, २०१६ लाई नागरिक उड्ययन वर्ष, २०१७ लाई माउन्टेन फ्लाइट  वर्ष, २०१८ लाई पोखरा भ्रमण वर्ष, २०१९ लाई मिथिला विदेह भ्रमण वर्ष र २०२० लाई अन्तु, इलाम, ताप्लेजुङ भ्रमण वर्षको रूपमा मनाउनेछ । २०१२ लाई भने सरकारले लुम्बिनी भ्रमण वर्षको रूपमा घोषणा गरिसकेको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा नै पर्यटन वर्ष २०११ लाई अभियानका रूपमा आगामी १० वर्षसम्म निरन्तरता दिने उल्लेख छ । पर्यटनमन्त्री विष्टले प्रचार–प्रसारमा भएको ढिलाइ, नेपाल वायु सेवा निगमका लागि नया विमान आउन नसक्नु, पर्यटन विकासका लागि पर्याप्त लगानी र तालिम कार्यक्रम हुन नसक्नुजस्ता कारणले पर्यटन वर्ष अपेक्षाकृत रूपमा सफल हुन नसकेको बताए ।
पर्यटनमन्त्री विष्टले जहाज खरिद प्रक्रियामा कमिसनको कुनै खेल नहुने दाबी गर्दै जहाज खरिदको सम्झौता सार्वजनिक र पारदर्शी रूपमा राजनीतिक दलका शिर्ष नेता र सबै सरोकारवालालाई राखेर गर्ने बताए । जहाज खरिदका लागि आफूले राजनीतिक सहमति गरेर बाटो खोल्ने हिसाबमा सैद्धान्तिक सहमति मात्र दिएको उनले बताए । ‘अर्थ मन्त्रालय र प्रधानमन्त्रीसग पनि सहमति लिएर सम्झौता गरेको हु । कुनै पनि प्रक्रिया मिचेको छैन,’ विष्टले भने । आफ्नो कार्यकालभित्रै नौ वटासम्म जहाज ल्याउने दाबी गर्दै उनले यसमा कसैले रोक्न नसक्ने बताए । प्राविधिक टोलीले चिनिया जहाज उपयुक्त भएको प्रतिवेदन दिएका कारण सो जहाज उपयुक्त छैन भन्नु मुर्खता भएको उनले बताए । न्यारो र वाइड बडी जहाज ल्याउनुपरे एयरबस कम्पनीकै जहाज ल्याउनुपर्ने उनको तर्क छ । ‘पुरानो हिसाब–किताब पनि भएकाले एयरबस नै ल्याउनुपर्छ,’ उनले भने ।
निगममा आफूले करारमा कार्यकर्ता नियुक्त नगरेको स्पष्ट पार्दै यस विषयमा अध्यक्ष मनरूप शाहीसग स्पष्टीकरण लिइसकेको उनले जानकारी दिए । जहाज खरिदसगै नया विमानस्थलको निर्माण र चालू हालतमा रहेका विमानस्थल सुधारका काम पनि अगाडि बढ्ने उनले बताए । चालू आर्थिक बर्षभित्रै पहाडी जिल्लाका ९ विमानस्थलको कालोपत्रे गर्ने र पोखरामा नया विमानस्थल निर्माण सम्पन्न गर्नुका साथै बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरुवात गर्ने योजना रहेको उनले सुनाए ।
पर्यटनसचिव गाणेशराज जोशीले हालसम्म स्थल र हवाई मार्गबाट गरी ८ लाख पर्यटक आएको जानकारी दिदै यस अवधिमा चिनिया पर्यटक ७५ प्रतिशत, भारतीय ४१ प्रतिशत, इजरायली ५७ प्रतिशत र बेलायती ११ प्रतिशतले बढेको बताए । एसियाली मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा ३३ प्रतिशत र युरोपबाट आउने १३ प्रतिशतले बढेको उनले जानकारी दिए । विश्वमा पर्यटक वृद्धिदर १० प्रतिशतको हाराहारीमा रहेका वेला नेपालमा भने २२ प्रतिशतले वृद्धि हुनु सकारात्मक भएको उनले बताए । पर्यटन बर्षले पर्यटन विकासको आधार निर्माण गरेको दाबी गर्दै उनले यसलाई भिजन २०२० को रूपमा २०२० सम्म अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।

No comments:

Post a Comment