Thursday, December 29, 2011

उपत्यका नजिक आन्तरिक विमानस्थल

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३ पुस

पर्यटन मन्त्रालयले आन्तरिक विमानस्थलका लागी उपत्यका वरपरका स्थानमा स्थान खोजी सुरु गरेको छ । त्रिभुवन विमानस्थलको चाप कम गर्न भन्दै मन्त्रालयले वैकल्पिक स्थान खोज्न थालेको हो ।
आन्तरिक विमानस्थलका लागी राजधानी आसपास क्षेत्रमा जग्गा खोजी गरिरहेका बेला काभ्रेको धुलिखेल क्षेत्रमा उपयुक्त स्थान भेटिएको छ । धुलिखेल चोकबाट ५ किलोमिटर दूरीमा रहेको ‘ठूलोचौर’ भन्ने स्थान उपयुक्त देखिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यसअघि काभ्रेकै नागीडँडा र पाचखालमध्ये नागीडाडा उपयुक्त भएको ठहर मन्त्रालयले गरेको थियो ।
प्रारम्भिक चरणमा सडक यातायात र भौगोलिक दृष्टिले ठूलो चौर नागीडाडाभन्दा सुगम तथा उत्तम देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको ठहर छ । प्राधिकरणका अनुसार जमिनको लम्बाइ र चौडाइ समेत विमानस्थल बनाउन योग्य छ । ठूलोचौरको आइतबार स्थलगत निरीक्षण गरेका पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले विमानस्थल निर्माण कार्य सम्बन्धी सम्पूर्ण सम्भाव्यता तत्काल अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री मगरले आफ्नो कार्यकाल ४\६ महिनाको मात्र भए पनि विमानस्थल निर्माण कार्य अगाडी बढाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हालै सार्वजनिक गरेको पर्यटन क्षेत्रका लागी अल्पकालीन तथा दिर्घकालिन योजनामा समेत वैकल्पिक आन्तरिक विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
विमानस्थल निर्माणका लागि ठूलोचौर बाहेक भक्तपुरको सागा र काभ्रेको सीमामा पर्ने सल्लेरीडाडाको समेत प्राधिकरण टोलीले निरिक्षण गरेको छ । हाल वनभोज तथा भ्रमण स्थानका रुपमा चिनिएको ठूलोचौरको प्रारम्भिक अध्ययनमा लम्बाइ १४ सय मिटर र चौडाई समेत पर्याप्त रहेको अध्ययन टोलीले बताएको छ । ‘प्रारम्भिक अध्ययन अनुसार स्थान उपयुक्त देखिएको छ, पूर्ण सम्भाव्यता अध्ययनका लागि कन्सल्ट्यान्टले स्याटेलाइटबाट समग्र ‘फिगर’ र तस्वीर ल्याउ“छ’ स्थलगत निरिक्षणमा संलग्न प्राधिकरणका एक अधिकारीले भने । स्याटेलाइट फिगर र तस्वीरका लागि जोशी एसोशियट्स कन्सल्ट्यान्सलाई जिम्मा दिइएको बताइएको छ ।
करिब १२\१५ घर परिवार मात्र बसोबास रहेको ठूलो चउर जग्गा उपलब्धका दृष्टिकोणले समेत सकारात्मक देखिएको प्राधिकरणको भनाइ छ । ‘अधिकांश जग्गा सरकारी देखिएको र ३ वटा मात्र आंशिक पक्कि घर भएकाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध हुन सहज देखिन्छ । प्रारम्भिक अध्ययनमा करिब ७० प्रतिशत जग्गा सरकारको भएको जानकारीमा आएको छ ।’ प्राधिकरण अधिकारीले भने ।
यसअघि गत मंसिर अन्तिम साता त्रिभुवन विमानस्थलको विमान चापलाई कम गर्न राजधानी नजिक काभ्रेको पाचखाल वा बनेपाको नागीडाडामा आन्तरिक विमानस्थलको खोजि गर्ने योजना मन्त्री विष्टले सार्वजनिक गरेका थिए । अध्ययनका लागी प्राधिकरणका उपमहानिर्देशक दिनेश श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति समेत गठन गरिएको छ । उड्डयन विज्ञहरुका अनुसार नया विमानस्थल बनाउन युद्धस्तरमा काम गर्ने हो भने पनि कम्तिमा ३\४ वर्ष लाग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमान चाप थेग्न नसकेपछि विकल्पका रुपमा राजधानी आसपास आन्तरिक विमानस्थल खोजिएको प्राधिकरणको भनाइ भए पनि त्यसका लागी थुप्रै्र चुनौती छन् । ‘आन्तरिक विमानस्थलमा सबैको आ आफ्नै चासो छ । लामो समयदेखि यो कुरा उठेपनि अपेक्षित रुपमा प्रगति हुन सकिरहेको छैन ।’ प्राधिरकण महानिर्देशक रामप्रसाद न्यौपानेले भने । अधिकांश स्थानमा जग्गाको मुआब्जामा समस्या हुने गरेको उनले बताए । दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागी प्रक्रिया अगाडी बढिरहेकाले उपत्यका नजिक आन्तरिक विमानस्थल निर्माण गर्नु नहुने भनाइ कतिपयको छ । बारामा अन्तराष्टिय विमानस्थल बनेपछि त्रिभुवन अन्तराष्टिय विमानस्थललाइ आन्तरिक बनाउनुपर्ने सम्भाव्यता अध्ययन गर्ने कम्पनिको सर्त छ ।

No comments:

Post a Comment