Wednesday, December 21, 2011

सुधारिदै दुर्गम क्षेत्रका विमानस्थल

काठमाडौं, ४ पुस

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा दुर्गम क्षेत्रका विमानस्थल सुधारमा जोड दिने भएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा सुदृढ गर्ने पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरको नीतिअनुरूप प्राधिकरणले विमानस्थल सुधारमा जोड दिएको हो ।
चालू आवमा पहाडी क्षेत्रका ४ विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने योजना प्राधिकरणको छ । मनाङको मनाङ विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, सोलुखुम्बुको फाप्लु र ओखलढुंगाको रुम्जाटार विमानस्थलको धावनमार्ग चालू आवमा कालोपत्रे भइसक्ने प्राधिकरणको दाबी छ ।
मनाङ, फाप्लु र कोल्टी विमानस्थलसम्म यातायात पहुच पुगेको छैन । मनाङको एक मात्र विमानस्थल माथिल्लो मनाङको हुम्देमा छ, जुन सदरमुकाम चामेबाट करिब नौ कोस टाढा पर्छ । फाप्लु, कोल्टी र रुम्जाटार पनि जिल्ला सदरमुकामबाट निकै टाढा छन् ।
प्राधिकरणले आफ्नै बजेटबाट ४ विमानस्थलका धावनमार्ग कालोपत्रे गर्न लागेको हो । त्यसका लागि चालू आवमा १७ करोड रुपैया छुट्याइएको छ । मनाङ विमानस्थलका लागि ९ करोड, बाजुरा विमानस्थलका लागि १ करोड ४० लाख, फाप्लु विमानस्थलका लागि २ करोड र रुम्जाटार विमानस्थलका लागि ४ करोड रुपैया विनियोजन गरिएको प्राधिकरण सिभिल निर्माण महाशाखाले जनाएको छ ।
मुगुको ताल्चा विमानस्थल र डोल्पाको जुफाल विमानस्थल आगामी आर्थिक वर्षभित्रमा कालेपत्रे गरिसक्ने प्राधिकरणको योजना छ । ताल्चा विमानस्थल सुधारको काम अहिले पनि जारी छ । आव ०६६\६७ देखि विमानस्थलको धावनमार्ग सम्याउने, चारवटा ट्विनअटर जहाज अट्ने पार्किङका लागि एप्रोन बनाउने तथा धावनमार्ग विस्तारको काम भइरहेको छ । विस्तार कार्य सकिएपछि धावनमार्ग ५ सय ७० मिटर हुने बताइएको छ । आगामी चैतभित्र विमानस्थल विस्तारको काम सक्ने लक्ष्य प्राधिकरणको छ ।
नेपाल वायु सेवा निगमले मात्र नियमित उडान भर्ने दुर्गम क्षेत्रका थुप्रै विमानस्थलमा भौतिक पूर्वाधार तथा धावनमार्ग उपयुक्त नभएको भन्दै निजी वायुसेवा कम्पनीले आंशिक उडान मात्र गर्ने गरेका छन् । मुलुकभर ५४ विमानस्थल भए पनि हाल ३९ मात्र सञ्चालनमा छन् ।
बन्द अवस्थाका १५ विमानस्थल सञ्चालनका लागि स्थानीयदेखि सभासद्, मन्त्री र प्रधानमन्त्रीसम्मले दबाब दिने गरेको प्राधिकरणको भनाइ छ । सरकारी स्वामित्वमा सञ्चालित प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विमानस्थल निर्माण र सञ्चालन गर्दै आएको छ । सुगम क्षेत्रका दशबाहेक सबै विमानस्थल घाटामा सञ्चालन गरिरहेको प्राधिकरणले क्रमशः दुर्गम क्षेत्रका विमानस्थल पनि सुधार गर्दै लगिने बताएको छ ।

No comments:

Post a Comment