Thursday, December 22, 2011

पर्यटन बोर्ड सदस्य छनोट गर्न समिति गठन

काडमाडौं, ६ पुस

नेपाल पर्यटन बोर्डमा गत महिनादेखि खाली रहेको सञ्चालक समिति सदस्य छनोटका लागि समिति गठन भएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले मन्त्रिस्तरीय निर्णयबाट बुधबार समिति गठन गरेका हुन् । समिति संयोजकमा पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल छन् भने सदस्यमा कास्कीका बोधराज भण्डारी र काभ्रेका तिलक लामा छन् । भण्डारी सोसाइटी अफ ट्राभल एन्ड टुर्स (सोट्टो) का अध्यक्ष हुन् भने लामा नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष हुन् । दुवै पर्यटन व्यवसायी हुन् । समितिमा सरकारका एकजना प्रतिनिधि र दुईजना पर्यटन विज्ञ रहने प्रावधान पर्यटन बोर्ड ऐनमा छ ।
पर्यटन बोर्डका तीन सञ्चालक समिति सदस्य गणेश सिम्खडा, निमी शेर्पिनी र अग्नि कडेलको पदावधि गत मंसिर १५ मा सकिएको थियो । उनीहरूलाई पुष्पकमल दाहाल सरकारकी पर्यटनमन्त्री यमीले आफ्नो कार्यकालमा बोर्ड सञ्चालक सदस्य नियुक्त गरेकी थिइन् । उनीहरू तीनैको शैक्षिक योग्यताबारे प्रश्न उठ्दै आएको थियो ।
अर्याल संयोजक रहेको छनोट समितिले एक साताभित्र बोर्ड सदस्यका लागि ५ जनाको नाम सिफारिस गर्नेछ । तीमध्ये पर्यटनमन्त्रीले ३ जनालाई सदस्य नियुक्त गर्छन् । बोर्ड सदस्य नहुदा प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया पनि रोकिएको छ । बोर्डमा कात्तिक दोस्रो सातादेखि सिइओ पद खाली छ ।
सिइओ छनोट गर्न भदौ अन्तिम साता समिति गठन गरिएको थियो । छनोट समितिले २ असोजमा ३५ दिने सूचना जारी गरी दरखास्त मागेको थियो । १८ जनाको दरखास्त परेकामा पहिलो चरणमा १२ जना छानिएका थिए । तर, छनोटप्रक्रिया नसकिदै समितिका संयोजक र सदस्यको पदावधि सकिएको थियो । नया सदस्य नियुक्त भएपछि मात्र सिइओ छनोटको प्रक्रिया अगाडि बढ्नेछ । बोर्ड सञ्चालक समितिमा सक्षम र अनुभवी व्यक्ति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिदै आएका छन् ।
पर्यटन बोर्ड सञ्चालक समितिमा ११ जना रहन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहने समिति सदस्यमा अध्यागमन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहन्छन् । बाकी ५ सदस्य निजी क्षेत्रबाट नियुक्त हुन्छन् । सिइओ भने सञ्चालक समितिको सदस्यसचिव हुने प्रावधान छ ।
हाल सञ्चालक समितिमा अध्यक्ष र दुई सदस्य छन् । निजी क्षेत्रको तर्फबाट नियुक्त भएका पर्यटन व्यवसायी ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापाको समयअवधि २ बर्ष बाकी छ । निजी क्षेत्रका थप ३ प्रतिनिधि चयन गरेपछि मात्र सञ्चालक समिति पूर्ण हुन्छ ।

No comments:

Post a Comment