Monday, December 26, 2011

पर्यटक व्यवस्थापन इकाइ उपत्यकाबाहिर

काठमाडौं, १० पुस
नेपाल पर्यटन बोर्डले गत वर्ष राजधानीमा स्थापना गरेको पर्यटक संकट व्यवस्थापन इकाइ उपत्यकाबाहिर पनि विस्तार भएको छ । पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि बनाइएको सो संयन्त्र उपत्यकाबाहिर चितवन र भैरहवामा स्थापना भएको हो ।
स्थानीय सरोकारवालाको बैठकले चितवनमा क्षेत्रीय होटल संघ चितवनका अक्ष्यक्ष शंकर सैजुको संयोजकत्वमा पर्यटक संकट व्यवस्थापन इकाइ स्थापना गरेको छ । इकाइमा नेचर गाइड एसोसिएसनका अध्यक्ष, रेस्टुरेन्ट बार एसोसिएसनका अध्यक्ष, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख, नेपाली सेना सौराहा गुल्म प्रमुख, बछौली प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सदस्यका रूपमा रहने निर्णय भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । इकाइले पर्यटक तथा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि समन्वयात्मक रूपले काम गर्नेछ ।
चितवनमा भएको बैठकमा बोर्डका निर्देशक आदित्य बराल, हिमालय उद्धार संघका अध्यक्ष सन्तकुमार सुब्बा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की, क्षेत्रीय होटल संघ चितवनका अक्ष्यक्ष शंकर सैंजुलगायत सरोकारवालाले संकट व्यवस्थापन इकाइ गठन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीका प्रतिनिधिको उपस्थिति थियो ।
त्यस्तै, भैरहवामा सिद्धार्थनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्सका अध्यक्षको संयोजकत्वमा पर्यटक संकट व्यवस्थापन इकाइ स्थापना भएको छ । इकाइमा रूपन्देहीमा अवस्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधि सदस्यका रूपमा रहने निर्णय गरिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, पर्यटन कार्यालय र पर्यटक प्रहरीका प्रतिनिधि पनि सदस्य रहनेछन् । स्थानीय पर्यटन व्यवसायीले पर्यटकलाई पर्नसक्ने संकट समाधान गर्न एकीकृत रूपले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
भैरहवामा भएको बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौड्याल, स्थानीय विकास अधिकारी नारायण ज्ञवाली, बोर्ड निर्देशक बराल, हिमालयन उद्धार संघका अध्यक्ष सुब्बा, नम्बर २ ग्यारिजन गण प्रमुख सेनानी बालचन्द्र रानाभाट, सशस्त्र प्रहरी उपरीक्षक उत्तमराज बस्नेत, प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय भोजजंग शाह, सिद्धार्थनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्सका निवर्तमान अध्यक्ष सागर अधिकारी, सिद्धार्थनगर होटल एसोसिएसनका अध्यक्ष विष्णु गौतमलगायत सरोकारवाला उपस्थित थिए । बोर्डको संयोजनमा भएको बैठकमा पर्यटन व्यवसायीले उपत्यकाबाहिर पनि पर्यटकलाई पर्ने संकट समाधानका लागि प्रभावकारी संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
पर्यटन बोर्डको पहलमा गत वर्ष जुलाईमा पर्यटकलाई पर्नसक्ने विभिन्न समस्या समाधानका लागि पर्यटक संकट व्यवस्थापन इकाइ गठन भएको थियो । पर्यटकलाई कुनै समस्या परे तत्काल सम्पर्क गर्न इकाइले हटलाइन टेलिफोन र मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment