Sunday, December 4, 2011

रंगिन रारा



२०२० साल चैत १० गते एक यात्रु पश्चिम नेपालका विशाल पहाडहरूको बीचमा अवस्थित एउटा ठूलो तालको किनारमा घोडा चढेर पुगे । त्यहाको एउटा ठूलो धुपीको रूखमुनि बसेर दृश्यावलोकन गर्दै वरपरको सौन्दर्यबाट प्रभावित भएर कविता लेखे ।


सुन्दरताको भण्डार सारा

के खनाया यसै रारामा

राराकी अप्सरा
  !

ती यात्रु थिए राजा महेन्द्र । महेन्द्र रारा पुग्दा बालकृष्ण रोका १० वर्षका मात्र थिए । उनले देखेको रारा तालवरिपरि त्यसवेला गाउ थिए, गाईभैंसी तालको किनारमा चरिरहेका हुन्थे । रारा किनारको मिलिचौरमा धुपीको बूढो रूख थियो । पाल हालेर औषधि वितरण हुन्थ्यो स्वास्थ्य केन्द्रमा । महेन्द्र सिकार खेल्न रारा पुगेका थिए । धुपीका हागा भाचेर सिकारका लागि माच बनाइएको थियो । बदेल सिकार गर्ने महेन्द्रको इच्छा असिना परेका कारण पूरा हुन पाएन ।

महेन्द्रले राराबारे कविता मात्रै लेखेनन्, राराको नाम नै आफ्नो नाममा समेत लेखाए र सरकारलाई राराको संरक्षण गर्न निर्देशन पनि दिए । पञ्चायतकाल, त्यो पनि महेन्द्रको शासन, रारा अतिक्रमण हुने भन्दै त्यहाका दुई गाउका करिब १५ सय घरधुरीलाई सरक्क उठाएर तराईतिर सारियो । बस्ती उजाड भयो । तर, ४८ वर्षपछि रारा किनारको मिलिचौरमा राजा महेन्द्र बसेकै धुपीमुनिको चौतारीमा बसेर हेर्दा लाग्छ, रारा त्यसवेला भन्दा अझ बढी प्राकृतिक सुन्दरताले भरिभराउ भएको छ । तालवरिपरि गाउ, मानिस र गाईवस्तुहरू देखिदैनन्, पानीको छेउसम्मै धुपी र सल्लाको घना जंगल छ । तालको मध्यभागको पानी मसीजस्तै नीलो देखिन्छ । फेवातालजस्तो किनारको पानीमा चाउचाउ, चकलेटका खोल देखिदैनन् । नेपालको सबैभन्दा सानो निकुञ्ज र सबैभन्दा गरिब जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो तालले आफ्नो कुमारित्व बचाउन सकेकै छ ।

महेन्द्रको पालामा जस्तो रारा पुग्न अहिले सुर्खेतबाट दुई हप्ता हिड्नुपर्दैन । जुम्लाबाट बढीमा दुई दिन हिडे रारा पुगिन्छ । यहा पुग्ने सबैभन्दा सजिलो बाटो मुगुको ताल्चा विमानस्थल हो । ताल्चा विमानस्थलमा नेपालगञ्जबाट तीनवटा विमान कम्पनीका सिंगल इन्जिन र दुईवटाका ट्विनअटर जहाजले उडान भर्छन् । यहाबाट रमणीय दृश्य हेर्दै दुई घन्टामा रारा पुगिन्छ । सुर्खेतबाट पनि ताल्चामा उडान हुन्छ ।

उता जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग कालिकोटको माग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरसम्म पुग्छ । यहाबाट एक दिन एक बिहानमा रारा पुगिन्छ । रारातालको पहिलो झल्को पाइने आशामा बढेका पाइला हत्तपत्त रोकिदैनन् । तर, लेक लाग्न सक्ने भएकोले होसियार भएर बिस्तारै हिड्नुपर्छ । बाटोमा होटल नभएकाले पानी र खानेकुरा बोकेर हिड्नु राम्रो हुन्छ ।

नेपालमा पाइने आठ सय ६७ प्रजातिका चराचुरुंगीमध्ये दुई सय ३६ प्रजातिका रारामै पाइन्छन् जसमध्ये धेरैजसो भारत र तिब्बत हुदै साइबेरिया ओहोरदोहोर गर्ने हासहरू छन् । रारामा पाइने तीन जातिका माछा संसारमा अन्त कतै पाइदैनन् । पानीमा माछाको चलखेल नांगो आखाले देखिन्छ ।

ताल्चा–नेपालगञ्ज उडान गर्ने जहाजले राराको फन्को लगाइदिएर रोमाञ्चक अनुभव गराउछन् । आकाशबाट हेर्दा रारा गाढा नीलो र पहाडहरूबीचको सुन्दर उपत्यकाजस्तो देखिन्छ । संसारमा सबैभन्दा नीलो पानी कहा छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ– रारामा । दश हजार फिटको उचाइमा दश वर्गकिलोमिटरमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिदैन । रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सम्भवतः सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो ।

भनिन्छ, यहा पुगेपछि ढुंगाको मन भएकालाई पनि कविता फुर्छ । राराको पानी सधै नीलो हुदैन, पानीले घरिघरि रंग फेरिरहन्छ । राराको कञ्चन पानीमा हास, जलेवा, क¥याङकुरुङजस्ता चरा जलक्रीडामा मग्न हुन्छन् । नेपाली सेनाको समरजित गुल्मका जवानहरूले त्यहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई केहीबेर डुंगा सयर गराइदिन्छन् । तालबाहेक निकुञ्ज क्षेत्र  पनि घुम्नका लागि आनन्ददायक छ ।

 
प्रवेशः ताल्चा विमानस्थल वा जुम्ला

बासः होटल, टेन्ट वा स्थानीय घर

अवधिः १ हप्ता

उपयुक्त मौसमः भदौ–असोज

खर्चः  करिब १५ हजार रुपैया



शब्द\तस्बिरः लक्ष्मीप्रसाद खतिवडा
khatiwadalp@gmail.com

No comments:

Post a Comment